इजरायलबाट सखीलाई चिठ्ठी

प्रिय सखी,

अटुट माया एवम् सम्झना !
म त यहाँ आरामै छु, तिमीलाई सञ्चै छ ? भनेर पनि कसरी सोधुँ ? अहिले तिमी र देशमाथि आइपरेको विपत्तिमा मैले खोक्रो सहानुभूति देखाउन बाहेक केहि गर्न त सकिनँ ।

अहिले म दुखि छु,  म यसकारण दु:खी छु कि यस्तो विपत्तिको समयमा तिमीहरू विपत्तिमा तिमीहरु सामु हुन सकिनँ, तिमीहरूले जस्तै मैले पनि यो दैवी प्रकोपको सामना गर्न सकिंन ।

हाम्रा पूर्खा र बुढापाकाले भन्ने गर्थे, “दैवको अगाडी कसैको केहि लाग्दैन ।” आज ती भनाई प्रमाणित भएको छ । आफ्नै अगाडी सबै तहस–नहस हुँदा राम राम भन्नु बाहेक केहि गर्न नसकिने रहेछ । मलाई यस्तो दु:खद परिस्थितिमा तिमीसँगै हुन मन थियो, तिमीसँगै रुन मन थियो, तिमीसँगै यो दैवी विपत्तिको सामना गर्न मन थियो । आफ्नो मातृभूमिमाथि चिरा–चिरा परेको मेरो प्यारो देशको भूमिमा रही सेवा गर्न मन थियो, तर आफूले चाहे जस्तो नहुने रहेछ सखी ।

हुन त म त्यहाँ भएको भए पनि के नै गर्न सक्थें होला र सखी ?  तर टाढा भएर होला मनमा अनेकथरि विचार आउँदो रहेछ, काश मपनि तिमीसँगै भएको भए प्रकृतिक विपत्तिमा परेकाहरूको सेवामा खट्ने थिएँ होला ¤ आर्थिक सहयोग गर्न नसकेपनि पनि श्रमदान अवश्य पनि गर्थें । तिमीले जस्तै तिमीहरूसँगै चौरमा रात काट्ने थिएँ होला, डर र त्रासको साथमा । हो सखी, यस्तै यस्तै कुराले मनलाई झन पिरलेको छ ।

देशभित्र रोजगारीको अवसर तथा काम गर्ने वातावरण नभएर अभाव नै अभावमा बाँच्नुपरेको अवस्थामा बाध्य भएर गरिबीलाई छिचोल्न जन्मभूमि गाउँ, देश र तिमीलाई छोडेको पनि धेरै वर्ष भइसक्यो ।

पराई देशबाट केहि धन कमाएर घरपरिवारसँगै रमाएर बसौंला, सुखसँग खाऔंला, भन्ने एउटा झिनो आशा र सपना बोकेर आएको थिएँ ।  तर मेरा ती सबै सपना चकनाचुर भएका छन् । मेरो पनि घर भत्कियो रे, गाउँ उजाड भयो रे भन्ने सुनेको छु । तर सखी, मेरो गाउँ र घरमा जेजति क्षति भएको छ, मैले जेजति पीडा भोगेको छु त्यो तिम्रो अगाडी केही होइन, किनभने मेरो परिवारका सबैजना सकुशल हुनुहुन्छ ।

तिमसँगैको त्यो अन्तिम पलमा बसेर दु:खका कुरा गरेको अस्ती जस्तै लाग्छ, मैले मेरो सपना र कल्पना तिमीलाई सुनाउँदै थिएँ, तिमी सुन्दै थियौ । हामीलाई केहि थाहा नहुने रहेछ भोलि के हुन्छ भनेर, भयो पनि त्यस्तै । हाम्रा हजारौं नेपालीको मृत्यु, भौतिक, राष्ट्रिय तथा विश्वसम्पदा  सम्पत्तिहरू क्षणभरमै अर्थात आँखा चिम्लिन नपाउँदै एकै समयमा सबै तहस–नहस भयो, बाँच्ने आधार नै सकिएझैं अनुभूति भयो । प्रकृतिको अगाडी हामी कसैको केही नचल्ने रहेछ सखी,  प्रकृतिले हामीमाथि ठूलै विपत्ति ल्याइदिएको छ ।

तर यस्तो भयो भन्दै हामीले हार मान्नु हुँदैन सखी, तिम्रो त झन मेरो भन्दा बढी पीडा छ, ममा भन्दा बढी साहस छ, र त आज तिमी एक्लैले एक्लैले हिम्मत जुटाएर समाना गरेकी छौ ।

सुन्छु तिम्रो घर पनि गयो रे, बुवा आमा, दाजु बहिनी, सबै जना एकै साथ भाग्न खोज्दा खोज्दै भग्नावशेषले थिचिएर उहाँहरूले एकै ठाउँमा मृत्युवरण गर्नुभयो अरे ¤ सखी, यस्तो पीडाको समयमा तिमीमाथि आइपरेको दैविक विपत्ति र दु:खमाथि केवल साहनुभूति मात्र देखाउन सक्छु । जेगरे पनि तिम्रो भागको दु:ख र पीडा म आफूले लिन र भोग्न सक्दिन, म त केवल सहानुभूति देखाउन मात्र सक्छु । तिमीले यतिखेर भोग्नु परिरहेको पीडा महसुश गर्न म स्वयम् त्यस्तै पीडादायी आगोमा जल्नुपर्छ जुन आगोमा तिमी अहिले जलिरहेकी छौ ।

मान्छेले आफुलाई परेको दु:ख र पीडा मात्रै महसुस गर्न सक्छ, जसलाई परेको छैन उसले देखाउने भनेको र दिने भनेको साहनुभूति मात्रै हो जस्तो लाग्छ मलाई ।

हो तिमीलाई असह्य पीडा भएको छ तर तिमी महान छौ । तिमी आफ्नो यो सब पीडा भुलाई दु:खीहरुकोलागि समर्पित भएकी छौ ।  वास्तविक मानव त्यो हो जो आफ्नो पीडालाई भन्दा अर्काको खुशीकोलागि समर्पित रहन सक्दछ । आफ्नो लागि जिउने यहाँ धेरै छन् सखी तर तिमी महान छौ जसले आफ्नो पीडालाई थाँती राखेर अरुको पीडा र घाउमा मल्हमपट्टी लगाउन अघि सरेकी छौ ।

प्रिय तिम्रो/मेरो सबैको सपना टुटेको छ अहिले । बुवा आमा, दाजु, भाई, बहिनी र तिम्रो प्यारो जन्म घर सबै गुमाएकी एउटी यस्तो साहशी छौ तिमी जसले आफूलाई सम्हालेर, आफैंले आफैंलाई सान्तवना दिएर दु:खेको देशलाई मल्हमपट्टी गर्दै छौ ।

तिमीले र मैले बिदाइको पलमा गरेको बाचाहरु अपुरो रह्यो । म विदेशबाट फर्केपछि तिमी र पूरा काठमाडौं घुम्ने, धरहराबाट काठमाडौं नियाल्ने, नेपालका रमाइलो ठाउँ गोर्खा, सिन्धुपलाञ्चोक आदि इत्यादि ठाउँहरूको भ्रमण गर्ने  सपना सबै एकै पलमा तहस–नहस भएको छ । देश नै तहस नहस भएको छ तिम्रो र मेरो सपना सँगसँगै ।

तर सखी, हामीले हिम्मत हार्नु हुँदैन हेर । प्रिय, हामी सबै नेपाली मिली शोकलाई शक्तिमा बद्लेर देशलाई पुनर्निर्माण गर्नु छ । हिजोभन्दा पनि राम्रा र हरियाली हराभरा गाउँ, शहर र सम्पदाले भरिपूर्ण देश बनाउनु छु । देशलाई पुन: नयाँ दुलहीझैं श्रृङ्गार्नु छ । सखी, हामीले हिम्मतका साथ अघि बढ्नु पर्छ । हामीले हरेश खानु हुँदैन, प्रकृतिले लुटे पनि हामी नेपालीको हिम्मत र विश्वास विश्वास अझै डगमगाएको छैन, हामी हिजो पनि एक जुट थियौं, आज पनि छौं र भोलि पनि रहिरहने छौं । हिमाल, पहाड र तराई हामी सबै मिली एक स्वच्छ र सुन्दर नेपालको पुनर्निर्माण गर्नेछौ ।

सखी, जीवनमा विपत्ति आइरहन्छ यो प्राकृतिक परिचक्र हो । यसलाई कसैले रोकेर रोकिन्न ।  हामी सुखमा मात्तिनु हुँदैन दु:खमा आत्तिनु हुँदैन । प्राय:जसो हरेक वर्ष भूकम्प लगायतका प्राकृतिक विपदाबाट हामीभन्दा पनि ठूलो क्षति व्योहोर्ने जापान र सुनामी लगायत बेहोर्ने देशहरू त पुन: उठेका छन् भने हामी पनि एकसाथ अघि सर्‍यौं भने हिजो भन्दा पनि राम्रो र सबल नेपाल र नेपालीको रुपमा विश्व समुदायमा उदाहरणीय बन्न सक्छौं ।
विदेशीभूमिबाट उही तिम्रो सखी
दीपिका भुषाल

प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment