राष्ट्रिय धान दिवसको सार्थकताःइश्वरा भट्टराई

–ईश्वरा भट्टराई
नेपाल सरकारले १२ वर्ष अघि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालमा विभिन्न संघ, संस्थाको अगुवाईमा नेपालका कृषकहरुले देशैभरी धानको रोपाईं गरेर राष्ट्रिय धान दिवस मनाउन थालेको हो ।

धान दिवस नेपालका किसानको महत्वपूर्ण उत्सवको रुपमा स्थापित हुँदैछ । नेपालमा परापूर्वकालदेखि किसानहरुले असार १५ लाई महत्वपूर्ण उत्सवका रुपमा मनाउँदै आएका थिए । असार १५ मा नेपालका किसानहरुले दहिच्यूरा खाने चलन छ । असार १५ मा धान रोप्यो भने खाद्यान्नको संकट पर्दैन भन्ने नेपाली किसानहरूको धारणा छ ।

हिमाल, पहाड र तराईमा चैत्र देखि भदौसम्म धान रोपिन्छ । कृषिमा वैज्ञानिकीकरणले गर्दा नेपालमा वर्षे धान वाली मात्र होइन, हिउँदे धानवाली पनि पहाड र तराइमा गरिन्छ । धानबालीकालागि प्रशस्त पानीको आवश्इकता पर्दछ । धानबाली नेपालको प्रमुख बाली हो । नेपाल कृषि प्रधान देश हो तर खाद्यान्नमा आत्मनिर्भर छैन ।

प्रत्येक वर्ष २५ अर्बको खाद्यान्न भारत, चीन लगायत विश्वका अन्य राष्ट्रबाट गरिन्छ । यतिखेर ठूलो परिमाणमा भारतबाट नेपालमा धान र चामल भित्रिइरहेको छ । खेतीपातीको काम छोडेर वैदेशिक रोजगारीमा जानेको लर्को चलेको छ । कृषि क्षेत्रमा वैदेशिक रोजगारीको अवसरले अति प्रभावित पारेको छ ।

कृषिलाई उत्तम मानिन्थ्यो, अब वैकल्पिक मानिंदै छ । अप्रिल १७ विश्व किसान दिवस हो । ब्राजिलको एल्डोराडो डोस काराजसमा सन् १९९६ मा भूमिमाथिको किसानको अधिकार र सिमान्तकृत कृषकको मानव अधिकार रक्षा गर्न संघर्ष गरेको स्मरणमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका रुपमा मनाइन्छ ।
नेपालका कृषकहरू अझै असंगठित छन् । अधिकांश किसान सरकारको नीति र कार्यक्रमको फाइदाबाट ओझेलमा परेका छन् । किसान संगठनहरुमा गैर कृषकहरुको प्रतिनिधित्व हुने गरेको छ । गरिखाने किसान भन्दा ठगी खाने किसानको महत्व बढ्न थालेको छ । कतिपय ठाउँमा किसानले क्रान्ति ल्याएको छ । समग्र देशको कृषिमा भएको प्रत्येक वर्षको बजेट रकमको लगानी र कृषकहरुको अवस्था हेर्दा कृषि क्षेत्र निरासाजनक देखिन्छ । कृषिमा देखिएको लगानको प्रतिफल शून्यजस्तै छ । कृषक जागरण छ । नयाँ कृषि अभियान उत्साहजनक छैन । कृषि उत्पादनमा वृद्धि समयको माग हो ।

धान दिवस मनाएर, असार १५ मा औपचारिक रुपमा धानको रोपाईं गरेर मात्र कृषिमा उत्पादन वृद्धि र किसानको जीवनस्तर उठ्न सक्दैन । कृषि उन्नतिकालागि कृषि नीति, कार्यक्रम हुनुपर्दछ । सम्पूर्ण किसानले प्रतिफल पाउने वातावरण रहनु पर्दछ । “काम गर्ने कालु, मकै खाने भालु” जस्तो छ कृषि बजारको अवस्था । कृषक र उपभोक्ताको बीचमा रहेको बिचौलिया, (व्यापारी)ले ठूलो शोषण गरी मुनाफा कमाइरहेको छ । मुनाफामा न्यूनीकरण हुनै पर्दछ । कृषिमा परनिर्भरता होइन, आत्मनिर्भरताको अत्यन्त खाँचो छ ।

कृषि सहकारी वर्तमान खाँचो हो । समग्र विकासमा राज्यले अख्तियार गरेको नीति, सिद्धान्त, कार्यक्रमको भूमिका हुन्छ तर त्यो सँग कृषि प्रधान देश नेपालका आम किसानहरूको भूमिका र पहुँच कस्तो छ त्यसले नतिजा प्रस्तुत गर्दछ ।

नेपालमा महिलाहरूको कृषिमा ठूलो लगानी छ तर महिलामाथिको शोषण र भेदभावमा खासै कमि आएको छैन । कृषिको उत्पादकत्वमा जुटेका महिलाहरूको जीवनमा आशातीत सुधार आउन सकेको छैन  संयमता, धैर्य, सहन सक्ने क्षमता र समानुपातिक र कुशल व्यवहार नै नेपालको हिमाल, पहाड र तराईका महिला किसानका विशेषताहरू हुन् ।

पहिले पहिले धान रोपाइँ गर्ने काम महिलाको मात्र हुन्थ्यो । तर हिजोआज पुरुषले पनि धान रोप्न थालेका छन् । केही वर्ष पहिले पहाडी जिल्लामा बाजा बजाएर, हिलोसँग खेलेर असारे गीत गाएर, धान रोपिन्थ्यो । यसलाई वेठे हाल्ने भनिन्थ्यो । यो सांस्कृतिक चलन अब लोप हुँदै गएको छ, यसको स्थान धान दिवसले ओगट्नु खुशीकै कुरा हो ।

नेपालको कूल ग्रार्हस्थ उत्पादनको एक तिहाई भाग ओगटेको कृषिमा देशका ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको तथ्यलाई हेर्ने हो भने अर्थतन्त्रको प्रमूख आधार कृषिलाई मान्न सकिन्छ । नेपालको कृषिलाई महिला  किसानहरूले सम्हालेका छन् भन्दा हिजो अत्युुक्ति हुँदैन थियो तर आज छोरी बुहारीले पढ्न लेख्न थालेपछि कृषि प्रतिको महिला आकर्षण घट्न थालेको छ ।

पढेलेखेका नेपाली महिला किसानको छोरी बुहारीले कृषि पेशालाई हेला गर्न र दु:खको वेशा भन्न थालेका छन् । खेतबारीमा काम नगरेर हात बाँधेर बस्नु र खेतीपाती गर्न गाह्रो मानेर गाउँवस्ती, घर परिवार छाडेर विवाहित आधुनिक महिला सहरतिर प्रवेश गर्न उन्मूख भईरहेका छन् । पढेलेखेको छोरा वा छोरीले आधुनिक खेती प्रणालीबाट खेती गरी उत्पादनमा वृद्धि ल्याउन पर्ने बेलामा खेतीपातीबाट पलायन हुनु राष्ट्रिय दु:खको कुरा हो ।

खाने मुखहरू बढ्दै जानु, खानेकुरा घट्दै जाने वर्तमान अवस्थाले भोकमरी निम्त्याउँछ कि निम्त्याउँदैन ? कृषि क्षेत्रलाई दिगो रुपमा निरन्तरता दिने काममा समेत महिला किसानको ठूलो भूमिका रहँदै आएकोमा अहिले आएर शिक्षित महिलाहरूले कृषि क्षेत्रलाई उपेक्षित गर्न थालेपछि के कृषिमा संकट आउँदैन ? महिला किसानहरूको भूमिमाथिको स्वामित्व र उत्पादनको साधनमाथि पहुँच बढाउने बेला हो यो । खाद्यान्न उत्पादन गर्ने कृषकहरू दिनप्रतिदिन विस्थापित भइरहेकाले कृष्षि उत्पादनमा थप चुनौतिहरू देखा पर्दै आएको छ ।

हिजोआज एकातर्फ विश्व व्यापार संगठन अन्तर्गतको कृषि सम्बन्धी सम्झैतामार्फत साम्राज्यवादीहरूले मक्किसकेको पूँजीवाद वा साम्राज्यवादलाई पुनर्जीवन दिन प्रयास गर्दैछन् भने अर्कोतर्फ किसानहरूले खाद्य तथा कृषि जस्तो मानवजातिको प्राथमिक आवश्यकीय वस्तुहरूलाई व्यापारी एवं मुनाफाको सीमाभित्र कैद गर्न मिल्दैन भनि लडिरहेका छन् ।

प्राकृतिक विउ प्रजाति मासेर हाइब्रिड (वर्णशंकर) लाई प्राथमिकता दिइएको छ । हाइब्रिडले अति विकास अनि विनाश गर्दछ । उत्पादन नहुने राष्ट्रले अव कुनै फाइदा पाउँदैन । भूमिसुधार र भू–उपयोग नीति नेपालमा अनिवार्य छ । रासायनिक विषादी र रासायनिक मलको प्रयोगले माटोको उर्बराशक्तिमा ह्रास, नानाथरिका रोग, किरा फट्याङ्ग्राको प्रकोप कृषिजन्य उत्पादनहरू विषक्त भएका छन् । खाद्यान्न, तरकारी र फलफूलमा अत्यधिक मात्रा रासायनिक विषादीको प्रयोग, मानव पशुपंक्षीको स्वास्थ्यमा हानिकारक सावित भएको छ ।

नेपालमा सशक्त ढंगले किसान आन्दोलन हुन सकेको छैन । कृषिक आन्दोलन हुन जरुरी छ । कृषि आन्दोलनले कृषि क्षेत्रको विकासमा क्रान्ति ल्याउँछ । भोलिको लागि ठोस नीति, तर्जुमा गर्ने सरकारलाई बाध्य पार्दछ । खेतीयौग्य जमिन इलाष्टिक जस्तो तन्किंदैन । खेतीयोग्य जमिन निकै थोरै छ, त्यो पनि अन्य प्रयोजनका निम्ति प्रयोग गरिने वृहत्त प्रकृया अघि बढिरहेका छन् । खेतीयोग्य भूमि अतिक्रमण र दुरुपयोग अहिले समग्र कृषि क्षेत्रको भयावह चुनौती हो । देशमा बढ्दो सहरीकरण, औद्योगिकीकरण तथा निजीकरणका कारण कृषि जमिन अनुत्पादक बन्दै गएको छ ।

राष्ट्रिय धान दिवस मनाउनुको अर्थ विद्यमान चुनौतिको सामना गर्नु हो । किसानहरू विस्थापित हुन बाध्य भइरहेका छन्, कृषि उत्पादनमा ह्रास भइरहेको छ । यसतर्फ सबैको ध्यान आकर्षित हुन जरुरी छ । धनको रोपाईं हुने खेत उर्बर भूमि जथाभावीसँग प्लटिङ र हाउजिङमा बदलिंदै छ । विभिन्न माध्यमबाट किसानलाई भूमिबाट बेदखल गराउने कार्य भइरहेका छन् ।

अहिले विश्वभरका करिब १ करोड २५ लाख जनता भोकमरीको शिकार भएका छन् । वेसाहको खाद्यान्नले नेपालीहरूलाई भोकमरीबाट जोगाएको छ । धान दिवस मनाउनु भनेको कृषि उपजको निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्नु हो ।

नेकपा एमाले अन्तर्गतको अहिल नेपाल किसान महासंघले असार १५ लाई राष्ट्रिय किसान दिवसका रुपमा मनाएर किसानको हक हित संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नपर्ने माग गर्दै आएको छ ।

यसैबीच नवलपरासी जिल्लाको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले पनि असार १५ मा परेको आफ्नो स्थापना दिवसको उपलक्ष्यमा धान रोपाईं दिवस कार्यक्रमलाई “कृषि बचाऔं किसान बाँचौं” मा परिणत गर्ने उद्देश्यले भव्यताका साथ मनाउन लागेको छ ।

(भट्टराई सहकारीकर्मी हुन् ।)

२०७२ असार १५ गते मंगलवार

(जनसमीक्षाबाट)

SHARE THIS

Author:

Facebook Comment