राजधानीका अपार्टमेण्ट

–दिलिपा सापकोटा (सरु)

भूकम्पपछि गरिएको सरकारी अध्ययनका अनुसार भूकम्पबाट राजधानी काठमाण्डौका १५ बहुतलीय र ठूला अपार्टमेण्ट भवन (हाइ राइज अपार्टमेण्ट बिल्डिङ) मध्ये १० वटामा ठूलो क्षति पुगेको छ । ती मध्ये कतिपय बस्नै नमिल्ने अवस्थामा पुगेको छ ।

भूकम्पपछि सरकारको तर्फबाट सुरक्षित र बस्न असुरक्षित भनेर घर र अपार्टमेण्टमा स्टिकर टाँस्ने अभियान चलाएको छ । एक करोडदेखि डेढ करोड सम्ममा खरिद बिक्री हुँदै आएका अपार्टमेण्ट अहिले बस्नै नहुने, जोखिम अवस्थामा पुग्नाले खरबौंको लगानी क्षति हुन गएको छ ।

भूकम्पले क्षणभरमै अत्याधुनिक भवन (अपार्टमेण्ट) ध्वस्त बनाएको छ । जोखिमयुक्त राजधानीमा अबका दिनमा ठूला घर र अपार्टमेण्ट बनाउन उपयुक्त छैन भन्ने सन्देश भूकम्पले दिएको छ । प्राविधिक टोलीले भूकम्पका कारणले भन्दा पनि भवन संहिता र मापदण्ड पालना नगरी बनाइएका घर भत्किएको प्रतिवेदनले सबैलाई सधैं झस्काएको छ ।

अब उपरान्त ठूला घर र अपार्टमेण्ट बनिहाले पनि भूकम्परहित, महाभूकम्पलाई थाम्न सक्ने बन्ने छन् । क्षतिग्रस्त अपार्टमेण्ट भत्काउन र बस्नमा ठूलो समस्या देखा परेको छ । हाउजिङ कम्पनी, रियलस्टेट कम्पनी अर्थात शेयर बजारकालागि ठूलो चुनौति आएको छ । भूबनौटको ख्यालै नगरी जथाभावीसँग जग्गाको खरिद बिक्री र घर निर्माणले क्षति व्योहोर्न परेको हो ।

यो भूकम्पले भन्दा पनि मानिस जनित समस्या हो । भवनमा बस्दा थप दूर्घटना नहोस भनेर सरकारको तर्फबाट बस्न नमिल्ने, बस्न मिल्ने आधारमा गरिएको प्रारम्भिक अध्ययनले धेरैजनालाई विस्थापित हुन बाध्य गराएको छ । भूकम्प अघि अपार्टमेण्ट राजधानीको सौन्दर्य र आधुनिक विकासको प्रतिक बनेको थियो भने अहिले अभिषाप बनेको छ । सारा श्रीसम्पत्ति घरजग्गामा हाल्नेहरू, घर बनाएर मज्जासँग भाडा असुल्छ भन्नेहरू अहिले बढी पीडामा छन् । आफ्नो जीन्दगीभर आर्थिक रुपमा उठ्न नसक्ने गरि थला परेका छन् ।
अपार्टमेण्टको ठाउँमा अब ससाना भूकम्परहित घरहरू बन्ने छन् । ठूला अपार्टमेण्टलाई प्रकृतिले रुचाइनन् । प्राकृतिक विपदबाट जोगिगन सबैजना समयमा नै सचेत भई सोही अनुरुपको व्यवहार गर्नु पर्दछ ।

प्रकाशन मितिः२०७२ जेठ २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment