"मेरो नेपाल फेरि उठ्नेछ"


– प्रतिमा केसी

नेपालमा गएको विनासकारी भूकम्पको कम्पनको प्रभाब संसार भरि फैलिएको छ/ संसारका हर मानब जातीमा मानबियता जगाएको छ/ संसारभरका सबै मानवले यो महाभूकम्पमा परि ज्यान गुमाउने सबै प्रति प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा भाबपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्/ म भर्खर बेलायतको रेडिंगमा यहाको बरो काउन्सिलको मेयर टोनी जोन्सको प्रमुख आतिथ्यता तथा बिभिन्न नेपाली संघ संथाका सयौ नेपालीहरुको सहभागितामा भएको यस्तै एउटा कार्यक्रमबाट फर्के/ भूकम्प परि ज्यान गुमाउने हजारौ नेपाली प्रति श्रद्धाञ्जली दिन तथा घाइतेहरुको स्वाथ्य लाभको कामना स्वरूप दीप प्रज्वलन गरिएको सो कार्यक्रमबाट फर्केपछी मनमा अझै भाबुकता थपियो/
बैशाख १२ गते मध्य दिनमा आएको विनाशकारी भुकम्पले यो पंक्ति लेख्ने बेलासम्म ८ हजार भन्दा धेरैको ज्यान लियो भने १७ हजार भन्दा धेरैलाई घाइते बनाएको छ / सयौं बस्तीहरु पुरिए, हजारौं मानिसहरु घरबारबिहीन भए, लाखौँ मानिसहरु आफन्त बिहीन भए, धेरै सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु ध्वस्त भए / महाकाल बनेर आएको यस महाभुकम्पले लोकतन्त्र वा गणतन्त्रका नाममा सास्ती काटिरहेका हामी नेपाली जनता माथि फेरी एक युगसम्म पुग्ने दुख, पीडा, रोग, शोक, डर र त्रास थपेर गएको छ / सायद मानिसले प्रकृति माथि विजय हासिल गर्न सक्दैन त्यसैले नै यति ठुलो धनजनको नोक्सानी हामीले बेहोर्नु पर्यो / यस नोक्सानीमा थोरै धेरै हामी पनि जिम्मेबार छौं /
बि.सं. २०७२ सालको महाभुकम्प आउनु अगाडी देशले ठुलो युद्धको पिंडा भोगिसकेको छ/ प्रकृतिले होइन हामी मान्छेले मान्छेलाई नै मारेका छौ/ मान्छेले मान्छेहरुबाट जीत खोजेको छौ/ हामीले राजनीतिलाइ हतियार बनाएका छौ तर आज प्रकृतिको अगाडी हाम्रा विचार, सिध्दान्त र शक्तिशाली बन्दुकहरु नतमस्तक हुन पुगेका छन्/ हामी देशमा संघियताको नाममा जातीय राज्य स्थापना गर्न लडिरहेका छौ/ संबिधान निर्माणको बखेडामा नराम्ररी अल्झियौ र अल्झिरहेका छौं/ देश निकासबिहीन राजनैतिकको पींडामा छटपटीइ रहेको छ/ हत्या, हिंसा, बलात्कारले आहत बनेको छ/ महिलाहरुको लागि आफ्नै घर असुरक्षित छ/ व्यक्तिगत स्वार्थका निमित्त मान्छेले जतिसुकै नीच काम गर्न पनि पछि पर्दैन/ सजायँको भागीदार दोषीहरुलाई राजनैतिक र पहुँचवाला हरुको संरक्षण प्राप्त छ/ देशमा अमनचैन र शान्ति सुरक्षाको बातावरण छैन/ लाग्छ, मान्छेबाट मानवता हराईसक्यो, संसारबाट मानवता हराइसक्यो/ ७.९ रेक्टरको यस महाभूकम्पले हजारौं मान्छेको ज्यान लियो त्यो आफैमा अत्यन्तै दुखद र असैह्य पीडादायी छ/ यसले, संसारभरका नेपालीमा सानो झिल्को आशाको किरण जीवित गरेको पनि छ त्यो हो मानवता/ मानवीय भावना/
यो विश्वमा जहाँ जहाँ नेपाली पुगेका छन त्यहाँ त्यहाँको धर्ती दुखेको छ यतिबेला नेपाल र नेपालीको त कुरै नगरौं / भूकम्प गएको केहि मिनेटमै फोन, फेसबुक भाइबर, स्काइप र अनलाईन खबरहरु मार्फत यस विनासकारी महाभूकम्पको खबर संसारभर सनसनीपूर्ण रुपमा फैलियो/ कसैले यो बिपत प्रतक्ष्य रुपमा भोगे भने प्रत्यक्ष रुपमा नभोग्नेहरुको मन पनि छियाछिया हुनबाट बाँकि रहेन/ जहाँ जहाँ यो विनाशकारी भूकम्पले क्षतविक्षत पार्यो त्यहाँबाट सास र आस बाँकि रहेका सबै जिबितहरु कसैको आदेशबिना तुरुन्तै मानवीय उद्धारमा लागेको देखियो/ जसले जहाँ जे जति सक्छ त्यति गरेकै देखियो/ नेपालमा - नेपाल आर्मी, जनपद प्रहरी, ससस्त्र प्रहरी, रेडियो नेपाल, दुरसंचार, बिद्युत प्राधिकरण सबैले गरेको प्रसंशनीय कामको सारा संसारले वाहवाह गरेका छन/ धन्य छन् नेपाल आमाका यी बीर सपुतहरु जसले ज्यान बाजी थापेर उद्धारमा लागे/ जहाँ भूकम्पले कम क्षति गर्यो अथवा क्षति गरेन त्यहाँका मानिसबाट पनि उद्धार र बिशेष गरी राहत कार्यमा उल्लेखनीय सहयोग पुगेको छ/ संसारका हरेक कुनाबाट मानवीय सहयोग स्वरुप नगद, खाद्यान्न, लत्ताकपडा, औषधी लगायत सबै अत्याबसेकीय सामानहरु तिब्र रुपमा संकलन भैरहेको छ/ देशमा भएका व्यक्ति, संघसंस्था, स्कुल, कल्बहरु, कलाकारहरु, साहित्यकारहरु सबै सबैलाइ यस हिंसात्मक प्राकृतिक विपत्तिले मानवीय कार्यमा आन्दोलित गरायो / हरेक मान्छेमा सेवाको भावनालाई जागृत गर्यो / कसैले मुठी दियो कसैले मुरी दियो जस्ले जति सक्छ त्यति दियो/ हाम्रो देशले गरीब मात्र होइन धनका धनी, मनका धनी र सीपका धनी मान्छे पनि जन्माएको छ/ मन खोलेर सहयोग गर्ने उपेन्द्र महतो, शेष घले, जमुना घले, देवमान हिराचन, चौधरी ग्रुप, डा.बसन्त लामिछाने, दुर्गा श्रेष्ठ यस्तै धेरै धेरै/ जस्ले जति सक्छ दिएकै छ यतिबेला/ केहि सहयोग गरौँ भन्ने भावना जागेकै छ/ आजसम्म पनि मन-मनस्थिति सामान्य बन्न सकेको छैन भने प्रत्यक्ष भोग्नेहरुलाई कति पिडा भएको होला हामीले शब्दमा ब्यक्त गर्न सकिदैन/ संसारका जुनसुकै देशमा भएपनि सबै नेपालीहरुले व्यक्तिगत रुपमा, संथागत रुपमा सहयोग जुटाइरहेका छन भने डाक्टर, इन्जिनिएर, नर्स र अन्य सम्भव हुने ब्यक्तिहरुले नेपालमा पुगेर प्रत्यक्ष सहयोग गरिरहेका छन / बालक देखि बृदसम्मका सबै नेपालीलाई सहयोगी भावना जागेको छ, देशप्रतिको जिम्मेवारी महसुस भएको छ/ मानवीय भावनाले ओतप्रोत बनाएको छ /
हाम्रो देशमा भएको यस प्राकृतिक प्रकोप भबितब्यमा हाम्रो छिमेकी मुलुक भारत, चीन, बेलायत र अमेरिका लगाएत दर्जनौ देशहरुले नगद, जिन्सी र मानवीय उद्धारमा उल्लेखनीय सहयोग गरेका छन / नेपाल र नेपालीलाई यी देशहरुले अत्यन्तै माया गरेका छन/ ठुलो गुण लगाएका छन्/ देशले त सहयोग गरेकै छ तर व्यक्तिगत र संथागत रुपमा पनि हजारौ हजारले सहयोग गरेका छन/ बेलायतकी जुवाना लुम्लेको योगदान बिशेष रहेको देखिन्छ भने फुटबल स्टार रोनाल्डोदेखि सयौले अत्यन्तै उदारताकासाथ सहयोग जुटाएका छन/ यहाका प्राइमरी, सेकेण्डरी स्कुलहरु, कलेज, युनिभर्सिटी, हस्पिटलहरु, विभिन्न अफिसहरू धेरै ठाउँमा कतै स्वतस्फुर्त रुपमा त कतै नेपालीहरुको पहलमा च्यारिटी प्रोग्राम भैरहेका छन/ अन्य देशहरुमा पनि यस्ता सहयोग भएको छ जस्तै:अमेरिकामा बस्ने पोल्याण्डकी मिलेना सेल्गोओस्का, युएइ आबुधाबिकी १३ बर्षीया फिरदुस फारुकी, बेलायतमा बस्ने इन्डोनेसियाका श्रीप्रकाश लोहिया र यस्तै धेरै ब्यक्तिहरुले व्यक्तिगत रुपमा मानवीय सहयोग गरेका छन भने आफु आबद्ध संघ संस्था मार्फत पनि हजारौले सहयोग गरेका छन/ हाम्रो यस विपदको घडीमा सहानुभूति स्वरूप अन्तरास्ट्रिय स्तरबाटै उल्लेखनीय सहयोग भएको छ / भूकम्पको विभत्स प्रलयले क्षतविक्षत बनाएका घाउहरुमा मलहमपट्टी लगाउन सहयोग पुर्याउने अन्तराष्ट्रिय संघ, संथा, सबै देश र ब्यक्ति धन्यबादका पात्र हुन / यस मानवीय सहयोगमा कसैले जात भनेको छैन, कसैले धर्म भनेको छैन र कुनै सिमांकन गरिएको छैन/ केवल नाता छ त मानबीय नाता छ/ महाभूकम्पले गरेको महाविनाशबाट रास्ट्रलाइ उठाउन सबै मनकारी व्यक्ति, रास्ट्रिय तथा अन्तरास्ट्रिय संघसंस्था तथा रास्ट्रले बोलेका बाचा गरेका सहयोग राशी हाम्रो राष्ट्रिय कोषमा जम्मा भयो भने र यसलाई रास्ट्रले पारदर्सी ढंगले उचित ब्यबस्थापन गर्न सक्यो भने मात्र हाम्रा धरोहरहरु फेरी खडा हुने छन/ हाम्रो ढलेको आस्था जाग्ने छ/ हाम्रो समाजको फेरी पुनर्निर्माण हुने छ/ मेरो देश नेपाल फेरी पहिले कै अबस्थामा उठ्ने छ/ यतिखेर संसार सामु नेपाल सरकारले इमान्दारीता र नैतिकताको खरो परीक्षा पास गर्नु पर्ने घडी आएको छ/
भूकम्प पछिका दिनहरुमा विभिन्न समाचार र सामाजीक संजालहरुमा सरकारलाई निरिह बनाउन खोजेको र तथानाम गाली गरिएको छ/ यो सरकारलाई हरेक हिसाबले खबरदारी गर्ने बेला हो तर कमजोर पार्ने बेला हुदै होइन/ कुनै तथाकथित मिडियाहरुबाट राजनीतिक भ्रम छर्न उद्धत छन् भने केहि भ्रमात्मक समाचार सम्प्रेषण गर्नमा व्यस्त देखियो/ अनि हामी आफ्नो चेतना गुमाउदै त्यसलाई जानी नजानी प्रचार गर्नमा समय खर्ची रहेका छौ जुन दुर्भाग्यपूर्ण छ/ अझै सरकारको बिरुद्धमा नाराजुलुस र धर्ना जस्ता हाम्रा परम्परागत काम पनि लाजै नमानी गरिएका छन / यो बिशेष विपतको घडीमा हाम्रा यस्ता परम्परागत बिरोधका शैली परिबर्तन गर्नु अत्यन्त जरुरी छ/ अर्थात हामी सुधारिनु आबश्यक छ/ यही बेला देशले संबिधान पाउनु पर्ने पनि उत्तिकै महत्वपूर्ण छ/ सरकारमा बस्नेहरु विवेक पुर्याएर देश चलाउ/ युवाहरुलाई देश निर्माणमा लगाउ/ पार्टीमा भएका असन्तुस्टी थाँती राख/ देश तथा बिदेशमा रहेका सबै नेपाली पुनर्निर्माण र पुनरसंरचनामा लाग्नु पर्ने स्थिति आएको छ/ यो महाभूकम्पले धर्ती हल्लियो, हाम्रो मन खल्बलियो, पीडाहरु बग्रेल्ती जन्मीए, देश शोकमा डुब्यो, हामी शोकाकुल भयौं/ अहिले शोकलाई शक्तिमा परिबर्तन गर्ने समय हो/ यतिबेला मलाई एउटा आशा जागेको छ मान्छेभित्र भएका सबै कुबिचारहरु भूकम्पका भग्नावशेषमा पुरिने छन / देशमा फेरी हत्या, हिंसा, बलात्कारका घटना दोहोरिने छैनन/ सबै राजनीतिक दलहरुले पाटी हैन राज्य बलियो बनाउन जोड दिनेछन/ देशले चाहेअनुसारको संबिधान छिटै पाउने छ र हाम्रो देश कानुनी राज्य बन्ने छ/ मेरो देश संसार सामु फेरी धरहरा जस्तै ठडिने छ/ मेरो नेपाल फेरी उठ्ने छ/

सैनामैना -११, रुपन्देही
हाल: बेलायत
११ मे २०१५

(केसीको फेसबुक वालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment