भग्नावशेष वनभोजस्थल होइनन

– स्वयम्भुनाथ कार्की
बहत्तरे भुईचालोले मुलुकमा दुखद तरंग ल्याउनु त स्वभाविक नै हो । वर्तमानमा  “विश्व एक गाउँ” भएको अवस्थामा नेपाल हल्लिदा संसार हल्लिने नै भयो । यो भुइचालोले सावित गरेको अर्को दुखद तथ्य के हो भने नब्बेसाल यता आएर नेपालले विपत्तिसंग लड्ने कौशल मात्र होईन बहादुरी पनि गुमाएछ । विपत्तिमा जजसलाई जेजे मनलाग्यो त्यही गर्ने हो भने यसको खराव असर कयौं गुणा बढ्छ भन्ने कुरा सुगाले “सीताराम कहो, राधेश्याम कहो” भने जस्तो रटियो तर अवलम्वन गरिएन ।

जजसको मनमा जे आयो त्यसले त्यसै गर्‍यो , गर्दैछ । कोही चुपचाप प्रभावित क्षेत्रमा आफ्नो बुद्धि वर्कत र ल्याकतले भ्याएको गर्दैछन् । कोही क्यामेरा, रेकर्ड, विषेश पोशाक सहित विपत्तिसँगको भिडन्तमा आफ्नो सहभागिता थियो भनेर इतिहास बनाउन लागि परेका छन् । साधनश्रोतको ओइरो लागेको छ, खट्नेहरुको कमी पनि छैन तैपनि कामले आपेक्षित परिणाम देखाउन सकेको छैन । लाग्छ एक ठुलो खाडल छ, कमी छ । कहि कहि आवश्यकता भन्दा धेरै बढि भएको छ भने अहिलेसम्म विल्कुलै ओझेल परेका र नदेखिएका ठाउँमा आफुलाई उकास्ने त्यान्द्रो सरह साहराको अनन्त प्रतिक्षा हुँदैछ ।

विपत्तिग्रस्तको निमित्त मानविय सहायताको याचना र आग्रह लिएर अनगिन्ति समुह व्यक्तिहरु समाजबाट सहयोग संकलन गर्दैछन् । पिडितको निमित्त भनेर सहायता, सहुलियत आदि जोडिएका अनेकौ सामाग्री खुल्ला बजारमा सहजै किन्न पाईन्छ । समाजको एकएक एकाई सदस्यले आठ दश समुहमार्फत चन्दा बुझाई सकेको छ । अब पिडितक्षेत्रमा कार्यकर्ता परिचालन गर्न प्रभावशाली दलहरुलाई चन्दा दिने तरखर गर्दै छ समाज । तै पनि समस्या अझै विकराल भएको, करुणाजनक भएको कुरा संचारमाध्यमहरुमा छ्यापछ्याप्ती छन् । किन यस्तो भई रहेको छ ? यत्रो मुलुक मात्र हैन विश्व नै लाग्दा पनि सामना गर्न नसकेको यो कस्तो विपत्ति हो ?

अतिमानवहरुलाई यसको उत्तर अपच हुनेछ तर सहज छ, स्तम्भित नेतृत्व, आपसी एकतासुत्रको अभाव अनि जसमा दावेदारी । यिनै कुरा हुन जसका कारणले अहिले भै रहेको मात्र हैन यसभन्दा दशौं गुणा ज्यादा साधनश्रोत खन्याए पनि त्यो सबै बालुवामा पानी सरह भै रहेको छ अनि हुने छ । नेपाली उखान “माझीको सल्लाहमा सात गाउँ डुबे” चरितार्थ भैरहेको छ । बिसौं वर्ष अभाव नखट्केको स्थानीय निकायमा प्रतिनिधि अहिले आवश्यक ठानिएको छ । भएको सरकारको स्थानमा “राष्ट्रिय सरकार”को नारा उरालिदै छ । अनि जनतालाई ध्यान नदिएको फत्तुरबाट बच्न भग्नावशेषहरुलाई वनभोज स्थल बनाईदै छ ।

भनिन्छ “प्रधानमन्त्री राहत कोष” नामको भाँडो रित्तो छ । मन्दिर बाहिर भिख मागेर बस्ने मध्ये सबैभन्दा कम भिख पाउनेले पाएजति मान्छेको ध्यान पनि यो कोषले पाउन सकेको छैन । स्वदेशीको त कुरै छोडौं जुनजुन विदेशी मित्रहरु नेपालको यो नेतृत्वलाई विश्वास भएको कुरा प्रचार गर्थे ती पनि यस कोषलाई विश्वास गर्दैनन्, त्यसैले आफै प्रभावित क्षेत्रमा गएर काम गर्ने अड्डि कसेर बसेका छन् । अर्थमन्त्रीको पीडितलाई सहायता गर्ने कुराले निन्द्रा लागेन भनेको कुरा संचारमा छ्यापछयाप्ती हुन्छ । राज्य व्यापारी हैन जनताको भलाई गर्ने जिम्मेवारी लिएको एकाई हो भन्ने कखरा भुलेर कोहि कसरी विद्यावारिधिको बोक बोक्न सक्छ ?

विपत्तिको लगत्तै पछिदेखि लगातार आफ्नो दु:ख कष्ट मुटु मिचेर सहेर निरन्तर विपत्तिमा परेकालाई सहयोग गर्दै आई रहेको सेना, प्रहरी तथा अन्य व्यक्ति संस्थाको काम ओझेलमा पार्दै मित्रराष्ट्रहरुको सिमित सहयोगी हातलाई नै सर्वश्व देख्नेहरुको कत्तिको प्रशंसा गर्नु पर्ने हो त्यो पनि सोच्नु पर्ने नै हो । आफु पनि भुईचालो पीडित हुँ भनेर राहतको निमित्त आएको सामाग्रीमा र्‍याल चुहाउने राजनीतिकर्मी, संचारकर्मी आदिहरुले सेना प्रहरीले निरन्तर काम गरेर पनि आफ्नो तलव मात्र हैन संगठनले राखेको कल्याणकोषबाट पनि प्रधानमन्त्री राहत कोषमा योगदान गरेकोबाट सिक्ने कि नसिक्ने ?
भग्नावशेषलाई वनभोजस्थल जस्तो देखिने गरेर प्रचार गर्ने आफ्नो प्रचार अधिकारीहरुलाई नियंत्रण गर्न नसक्ने हो भने तीन किलोग्रामको बाँसको खम्बा पाँच जनाले दर्जनौ रमिते माझ गाडेको चित्र प्रत्यूत्पादक हुन सक्छ । यो केन्दिय योजना अनुसार मिलेर काम गर्नु पर्ने वेला हो, यो दल वा त्यो दल, फलाना वा ढिस्कान आदिको प्रचार विज्ञको योजना अनुसार काम गर्ने बेला हैन । योजनामा एकद्वार हुनु पर्ने हो साधनश्रोत एकद्वार गर्नु पर्ने आवश्यकता छैन । भग्नावशेष वनभोज स्थल हैन न यो कर्तव्य कुनै उत्सव हो ।

यो महाविपत्तिको समयमा आलोचना नगर्ने स्वसंकल्पको यस आलेखले उल्लंघन गर्‍यो वा गरेन त्यो निर्णय गर्नुभन्दा पहिले स्पष्टिकरणको रुपमा भन्नु पर्ने कुरा यत्ति नै छ कि आलोचना नगर्ने वाचामा सुधार्न सकिने भूलहरु औंल्याएर प्रभावकारी बनाउन खोज्ने कि कुनै भूल नऔल्याई मुलुकलाई थप पीडा भोग्न दिने भन्ने मानसिक अन्तरद्वन्दमा बरु संकल्प टुटेपनि टुटोस तर मुलुकलाई थप पीडा नहोस भन्ने पक्षको नै विजय भयो । संकल्प तोड्ने पापको भागिदार हुन तैयार हुनै पर्‍यो ।

विराटनगर १
२०७२।२।१४ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment