"गुरु र शिष्य "

– निशा खनाल अर्याल

"मान्छेको मृत्यु ब्रह्माण्डमा हुन्छ या ब्रह्माण्डको मृत्यु मान्छेमा ? मान्छेभित्र ब्रह्माण्ड अटाएको छ कि ब्रह्माण्डभित्र मान्छे ? "यथा ब्रह्मान्डे तथा पिण्डे " हुन्छ कि पिण्डीय पञ्चमहाभूतका कारणले जीवोत्पति हुन्छ ? यस्ता गहन कुराहरुको विचार गर्ने र हेर्ने दृष्टिकोणलाई फराकिलो पार्ने यो ब्रह्मिय (कस्मिक) ब्रह्माण्ड स्वयम् पनि मानविय ब्रह्माण्ड बिना अपुरो छ, अपुर्ण छ, अपरिभाषित छ भनेर बुझ्न "गुरु र शिष्य"को सम्बन्धलाई पनि उस्तै गहन दृष्टिले विचार गर्नु पर्ने हुन्छ । जब मान्छेको चेतनामा आएर ठोक्किन पुग्छ अनाम वस्तुहरु, रहस्यवान वस्तुहरु तव त्यसले चेतनाको संज्ञालाई जाग्रित गराइदिन्छ । जाग्रित चेतनाले वेदना र वेदनाले विज्ञानलाई जगाएपछि हाम्रो अवचेतन मनले या त त्यो प्रति 'राग' जगाउँछ; या त 'द्वेश'। यसैका कारणले हाम्रो मनले संस्कार निर्माण गर्दै लैजान्छ । र, यस्तै भ्रममै हाम्रो सारा जीवन समाप्त हुन पुग्छ । जगत्गुरु शंकराचार्यको 'रज्जु-सर्प' को सिद्धन्त यसैलाई बुझाउने सबैभन्दा सुन्दर उपमा हो । हरेक वस्तुको वास्तबिक पहिचान गराउन सक्ने मन भएपछि अँध्यारोमामा लमतन्न देखिने डोरीलाई सर्प देखेर झस्किनु नपरे जस्तै शिक्षाको सानो प्रकाश पुँन्ज पाए पछी सत्य र तथ्य थाहा भइ निर्धक्क हुन्छ मानिस ।
यसको एक मात्र कारण हो सरस्वती मान्छे मै बिराजित छन् । यो तथ्यलाई बुझ्न पनि आफु र आफ्नो सामर्थलाई बुझ्नु पर्ने हुन्छ किनकि अनन्त ब्रह्माण्डको आयतन, अमेवाको फैलावट झैँ यसको बिशिष्ठता जोडिएको हुन्छ मानिसको चेतनामा। मानिसको चेतना,कल्पना र ब्रह्माण्डको आयतन यी दुबै अनाप्य छन, असिमित छन। एउटा सिमासम्म मान्छेको टाउकाको आयतन,जसरी मस्तिष्कको फैलावटले गर्दा त्यसको वजन बढ्दै जान्छ त्यस पश्चात नै चेतना बढ्दै जाने हो नकि, टाउको । हो ठिक त्यसै गरि मान्छेले आफुसँगै बोकेको, हुर्काएको ब्रह्माण्ड अंशको एकटुक्रा किन नहोश मान्छेको मृत्युसँगै मर्छ र मान्छेको जन्मसँगै पुह:आकार बदलेर जन्मन्छ भन्ने कुरा सत्य हो भनेर बुझ्न युगौं देखि यो क्रम यसरी नै चली रहेकोछ " ब्रह्माण्ड अनि यी मान्छेमा।’ब्रह्माण्ड र मान्छे’, स्वंमले नबदलि अरुले बदल्न सक्दैनन त्यसैले ......! 'तिमी' लाई बदल्न सक्ने 'तिमी' मात्रै हौ; अरुले त बाटो मात्र देखाउन सक्छन् भगवान बुद्ध भन्नुहुन्छ । आफ्नो उज्यालो आफै बन (अप्प दीपो भव) बुद्धको यो बाणीले पनि मान्छेको अनन्त सम्भावनालाई संकेत गरिरहेकै छ । गुरु अर्थात 'तथागत' ले त मार्गनिर्देश मात्रै गर्ने हुन ।
गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?
मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ । सही र गलतको पहिचानबाट मानिस भित्रको अज्ञानता, अहमता हटाउदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृत्‍यु हुने डर भै थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अवस्थामा ज्ञान रुपी दियोको सानो प्रकाशले यथार्थलाई औल्याई आँखा उघारिदिँदा निर्धक्क हुन्छ मानिस । अँधेरोसँग लड्न कुनै युद्धको तयारी गरिरहनु पर्दैन; मात्र एउटा दियो जलाए पुग्छ । हो त्यस्तै ज्ञानी जसले अन्धकारबाट उज्यालो प्रकाशतिर लमाउने गुरुको कुरा गर्दै छु म । जब म यी सानो कमलका मुनाहरूलाई गुरुसँगै जिम्मा लगाएर परदेशिन बाध्य भए त्यो अवस्थामा मेरो दुई मुटुहरू यस्ता थिए अनि उनीहरूलाई मेरो सम्झना यसरी दिन चाहे ।
अहिलेको अवस्थामा साच्चै बाबु,नानी तिमीहरु त अब परदेशी पनि भैसकेका छौ । अध्ययन गर्ने अवसरमा धेरै किसिमको अनुभूतिहरू गर्ने क्रममा, दुख, दर्द, पीडा कष्ट, अनेकौ आइपर्ने अवरोधहरूको सामना गर्नु पर्ने हुन्छ त्यो बेला तिमीहरुले त्यस्ता गुरुको बारेमा के विचार गरेका छौ त ?
हेर बाबु नानी हाम्रो गाउँ घरमा धेरै यस्ता पनि छन्, जसले विभिन्न किसिमका फोटोहरूलाई गलाको हार बनाएर झुन्ड्याउदै हिड्ने गर्दछन । कोही कसैको किताब पढेर आफूलाई शिरोधार्य गर्दछन र त्यै नै आफ्नो जीवनको लागि सम्पुर्ण सत्य, कुरा हो भनेर सोच्ने गर्दछन अनि आफ्नो सबै प्रश्नको जवाफ त्यसमा मात्र सीमित छ भनी खोज्दछन ।
मैले त यस्तो पनि देख्ने गरेका छु बाबु नानी हो कोही शिष्य अरु गुरुलाई एक पैसाको पनि ठान्दैन्न । यस्ता अनगिन्ती हजारौ लाखौ व्यक्तिलाई आफैले मात्र सत्य थाहा पाएको भनेर प्रभावित गर्न खोज्ने, आफूमामा मात्र सम्पूर्ण कुराको ज्ञान र मोक्ष भण्डार पाएको छु भनेर चमत्कार देखाई दाबी गर्ने गुरुहरू हुदा हुदै पनि फेरि पुनः गुरुहरू कसरी र किन जन्मेका हुन् त ? भन्ने कुरालाई तिमीहरुले अलिकति पनि भित्री आत्मादेखि महसुस गरेका छौ त ? विचार गरेर हेरेका छौ त ? अनि तिमीहरु त्यस्ता गुरुहरू मध्ये कसैका अत्यन्त प्यारा छौ कि बाबु नानी हो ?
हेर,शिक्षाको क्रममा साच्चै निर्धक्कले भन्नु पर्दा म भने एउटा मात्र गुरुको मात्र प्रशंसाक फ्यान कहिल्यै हुन् सकिन ।
मैले त जहिले पनि गुरुहरूलाई एउटा स्वच्छ हावा प्रदान गर्ने झ्याल र त्यहाबाट टाढा टाढा आँखाले भ्याउँञ्जेल सम्मको दुरीबाट देखिन दृश्य अनि, बिभिन्न आकृतिहरूलाई मनन गराउने झ्यालको रुपमा लिने गरे । किनभने जसरी सीमित ज्ञान र आग्रह्हरूको पर्खालभित्र बाँचिरहेको बेला कोठाभित्रको चार पर्खालबाट घेरिएको कुठित मन भएर अँध्यारोमा रुमलाइरहेको मानिसलाई झ्याले त्यस पर्खालभित्रबाट घेरिएको अँध्यारो कोठालाई बिहानको सूर्यको उज्यालो प्रकाश त्यस झ्यालको खापा खोल्दा घरभित्रको रौनकता, दिएको न्यानो अनुभूति र त्यहाँबाट देखिने पर्खाल बाहिरको ठुलो संसार हेर्न सधाइरहेको हुन्छ, त्यसै कारणले होला मानिसको जीवनमा गुरुको महत्वपूर्ण भूमिका भएको हो ।
हेर बाबु ,नानी हो,जसरी हामी झ्यालको नजिक जान्छौ अनि दृश्यहरू पनि फराकिलो रुपमा देखिदै गएको पाउछौ, हो ठिक त्यसै गरी गुरुहरूको आत्मीयता, र उनीहरू सँगको नजिकपनले तिमीहरूलाई बुझ्न र देख्न सक्ने सत्यको दायरा फराकिलो भएर आएको पाउनेछौ । तर कुनै एउटा झ्यालबाट एउटा पल्ला उघारेर हेर्दा वा एउटा झ्यालबाट मात्र अबलोकन गर्न खोज्दा चारै दिशाको दृश्य अवलोकन गर्न सकिदैन । के त्यो चारतिरको पर्खालबाट घेरिएर बनेको घरभित्र चारै कुनाको दुनियाँ देखिन्छ र ? के एउटा कुनाको झ्याल खोल्दा सबै कोठामा उज्यालो प्रकाश आउछ र ? झ्यालको त सीमित दायरा हुन्छ नि हैन र ? । हैन भने एकपल्ट आफ्नै घरको झ्यालबाट विचार गरेर हेर त ? के पूर्वबाट देखिने झ्यालको अबलोकन तिमीहरुले पश्चिम झ्यालबाट गर्न सक्छौ त ? त्यस्तै उत्तरबाट हेर्ने झ्यालको दृश्य तिमीहरुले दक्षिणको अवलोकन गर्न सक्छौ त ? के घरको एउटा झ्याल मात्र खोल्दा सबै कोठामा उज्यालो प्रवेश गर्छ त ? हो यदि तिमीहरुलाई चारै कुनाको दृश्यको अवलोकन गर्नु पर्दा ती चारै दिशामा पुग्नु र सबै कोठामा उज्यालो बनाउन चारै दिशाको झ्यालको खापा खोल्न आवश्यक र अनिवार्य हुन्छ हैन त बाबु नानी।" त्यसैले मलाई किन किन गुरुहरू पनि त्यस्तै लाग्ने गर्छ । तिमीहरु त्यो सानो झ्यालबाट मात्र बाहिरको दुनियाँलाई चियाउन हैन, कसरी मानिसले बाच्नु पर्दो रैछ, अनि के कस्ता गुरुहरूको जीवनमा आवश्यक पर्छ भनेर अध्ययन गर्न संसारलाई त्यही साँगुरिएको प्रकाशले मात्र सीमित नरहेर त्यो दुनियाँमा जहा मिडियाले संसारलाई नै चकित पार्ने इन्टरनेटको जमानामा पुगेका छौ । जहाबाट तिमीहरूले संसारलाई खुल्ला सामुद्रिक किनारबाट कन्चन हावाको महसुस गर्दै आफ्नो जीवनलाई मानवको परिचय र शिक्षाको महत्व दिन उदाहरणीय हुने प्रयासमा लागि परेका छौ र पनि कहिल्यै एउटा गुरुको भरमा नपरे है बाबु नानी ।
कहिले काहीं एउटा गुरुको भरमा मात्र पर्दा कतै दुर्घटना पो हुने हो कि ? जीवन अन्धकारमा पर्ने पो हो कि ? हेर मलाई कहिले काहीं यस्तोसम्म लाग्छ - कुनै गुरुको शिक्षा लिने क्रममा त्यही ज्ञानभित्र मात्र निहित हुदा अनि झ्यालको नजिकै पुगेर सिसा नजिकैबाट हेर्दा, लेग्रा लेग्री लागेको देखिन्छ, अनि कुना कानिमा भएका फोहोर, घुलोहरूले वाक्क लाग्ला झैँ मनलाई बस्न नसक्ने बेचैन बनाउछ । हो, त्यस्तै कुनै गुरुको अति नजिक पुग्दा उनी भित्र रहेको मानवीय कमजोरीहरूलाई तिमीले देख्न सक्नेछौ र महसुस गर्न सक्नेछौ । जसरी कहिले काहीं अति नै घुलमिल गरेर नजिकै बस्न पुग्दा काखी हवास गनाउँन सक्छ । यस्ता गुरुको कमजोरीहरूलाई यदि तिमीले महसुस गर्न पुग्यौ भने त्यो तिम्रो गल्ती अवश्य हैन । किनकि कुनै एक मात्र गुरुलाई सफा, कञ्चन, निर्मल र पूर्ण देखेर उनैलाई मात्र संसारको पुज्य ठान्ने र एउटा झ्यालको कुनाबाट नै संसारको अवलोकन गर्छु भन्ने आशामा अल्झिएर बसेका मानिसहरू जब गुरुको अति नै नजिक पुग्छन र त्यहाँबाट खुर्मुरिएर सिँढीको माथिबाट चिप्लिएर लड्न सक्छन त्यस्ता कयौ घटनाहरू मैले आँखाले देखेकी छु, अनि सुनेकी छु । तर यहा बाबु नानी मैले कुनै गुरुलाई शंका, अनस्था गरेर अपमानित गर्न भन्न खोजेकी पनि हैन, किनभने गुरुहरू भनेको त आदरणीय हुन्छन, सम्मानीय, हुन्छ, अनि हुनु पर्छ । गुरु भनेको पुज्यनीय र प्रिय हुन्छन ती झ्यालहरू झैँ जसले स्वस्छ हावा प्रदान गर्दै हामीलाई जीवन बाच्न केही राहत दिएको हुन्छ । जसरी घर बनाउदा जति महत्व झयालको हुने गर्दछ । त्यस्तै हाम्रो जीवन वा हर मानव प्राणीको जीवनमा शिक्षा दिने गुरुको महत्व हुने गर्दछ । तर पनि बाबु नानी संसार भरिको यथार्थ र सत्यता थाहा पाउन कुनै एक गुरुको माध्यमबाट सम्पूर्ण कुरा प्राप्त गर्न सम्भव छैन भन्ने कुरालाई विचार गर ।
आजको आधुनिक युगमा दिनानु दिन नयाँ नयाँ चुनौती आउने गर्दछन । मानिसको जीवनको मोल थाहा पाउन रातमा सुतेको मानिसले बिहान उठ्दा आफूलाई धन्य ठान्ने गर्दछन । किनकि राति सुतेर उठ्दा संसारमा अर्कै अन्य सत्य घटनाहरू घटिरहेको पाइन्छ भने एकै समयमा ज्ञान प्राप्तिका लाखौ यात्राहरू सँगसँगै धेरै कुराहरू जान्ने हुन्छन । त्यसैले बाबु नानी हिजो आज त नौलो किसिमका परमाणु तथा आयमहरू देखा परिरहेका छन, अनेकौ किसिमका परमाणु हतियारहरू देखापर्ने, लगायत संसार हेर्न, काला, संगीत, सुन्न, नयाँ टिभीहरूमा आउने नयाँ कुराहरूको बारेमा जानकारी प्राप्त गर्न, ज्ञानका सत्संगको विषय मात्र नभएर प्रत्यक्ष जीवनमा अनुदित र आचरण, काला इत्यादिको ज्ञान हुनु पर्ने आवश्यकता पनि हुन्छ भन्ने मैले महसुस गरेको छु त्यसैले बाबु नानी हो कुनै एउटा गुरुको मात्र शिष्य भएर त्यो सबै कुरा प्राप्त हुन् के सम्भव छ र ?
त्यसैले गुरु भनेको गरिमा हो ,गुरुत्वा हो,"गुरुत्तर दावित्व बोध पनि हो ,गुरु आफैमा एउटा "दिप्ती" पनि हो,जसले अरुलाई समेत प्रकाशित गर्दछ भन्ने बुझेर तसर्थ गुरुको अर्थगत गरिमा र ब्यबहार्गत विशिष्टता दुनै पक्षलाई दृष्टिगत गर्दै जीवनलाई हेर्ने नजरको विकाश गर्नु हाम्रो कर्तव्य हुन आउछ भनेर कहिलै बिर्सनु हुन्न है .बाबु ,नानी ....!"


राजविराज सप्तरी
हाल इजरायल

प्रकाशन मितिः२०७१ चैत्र २५ गते विहीवार

SHARE THIS

Author:

Facebook Comment