पत्रकारको सुरक्षाको माँग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

वीरगंज/
नेपाल प्रेस युनियन केन्द्रिय समितिले आज पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिनेलाई कडा कारवाहीको माँग गर्दै गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ । युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु सिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य विजय कुशवाहा, भुवन शर्मा, भक्तपुर शाखाका अध्यक्ष प्रबल भट्टराई सहितको टोलीले बीरगन्जबाट प्रकाशित हुने राष्ट्रिय सहारा दैनिकका प्रकाशक/सम्पादक चन्द्रभूषण साहलाई गत चैत ८ गते अज्ञात समूहले ज्यान मार्ने धम्की दिइएको र त्यसैगरि नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एवम नेपाल पत्रकार महासंघ प्युठानका पुर्व जिल्ला उपाध्यक्ष प्रमोद पोखरेलकी आमा नमादेवी पोखरेलको फागुन ५ गते बम विष्फोटमा परी मृत्यु भएको घटनाका सम्बन्धमा नेपाल प्रेस युनियनले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई बुधवार ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा गएको टोलीले केन्द्रीय तहबाटै सरकारले छानबिन आयोग गठन गरी दुबै घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माँग गरेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष सिग्देलले पत्रकार साहलाई ९८४९५२५३८२ नम्बरबाट पटक पटक ज्यान मार्ने धम्की दिइएको व्यक्ति वा समूहलाई तत्काल कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गरि पत्रकारको भौतिक सुरक्षा गर्न र कानुनी राज्यको अनुभूति गराउन माँग गरेका छन् । एउटा प्रजातन्त्रवादी पत्रकारको घरमा बम प्रहार हुनु भनेको लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभयो । महासचिव अजयबाबु शिवाकोटीले एकजना श्रमजीवी पत्रकारको आमाको हत्या हुनु नेपालको सम्पूर्ण प्रेस जगतलाई चुनौती भएको धारणा राख्नुभयो । द्वन्दको समयमा अत्यन्त प्रभावित रहेको सो क्षेत्रमा द्वन्दका अवशेषका रुपमा रहेको झैं भान पार्नेगरी बम विस्फोट भएको देखाउने प्रयास भए पनि त्यस घटनाको प्रकृति हेर्दा नियोजित रुपमा बम विस्फोट गराइएको हुनसक्ने युनियनले जनाएको छ । ज्ञापन पत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री गौतमले दुवै घटना प्रति आफ्नो गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिनका लागि तत्काल छानबिन समिति गठन गरेर कारवाही थालिने र दोषीलाई पक्राउ गरी कारवाही गर्न सम्बन्धीत निकायलाई तत्काल निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले बताउनु भयो ।


प्रकाशित मितिः२०७१ चैत्र १२ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment