अर्काको फेसबुक पेज कब्जा गर्दा जेल

काठमाडौं/रोलिङ प्लास प्रालिको फेसबुक अकाउन्ट र वेबसाइट नियन्त्रणमा लिई सो फर्काएवापत ४० लाख माग गरी ब्ल्याकमेलिङ गरेको अभियोगमा सोही कार्यालयका पूर्व कर्मचारी पारेश्वर खरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई वेबसाइट बन्द गराई फेसबुक पेज नियन्त्रणमा लिई ब्ल्याकमेलिङ गरेको अभियोगमा उनलाई पक्रेको हो ।
ब्युरोका डिएसपी नरेश मल्लका अनुसार खरेल काठमाडौं महानगरपालिका वडा नम्बर १० मा रहेको सो प्रालिका पूर्व कर्मचारी हुन् । उनलाई कम्पनीको वेबसाइट दर्ता गर्ने अख्तियारी दिँदा कम्पनीको आधिकारिक इमेल ठेगाना प्रयोग गर्नुपर्नेमा आफैंले नयाँ इमेल बनाएर सोका आधारमा डोमेन दर्ता गराएर सोको स्वामित्व आफैंमा राखेको अनुसन्धानमा खुलेको छ ।
उनले जागिर छाडेपछि आफ्नो इमेलका आधारमा कम्पनीको वेबसाइट र फेसबुकमा रहेको पेजसमेत आफ्नो नियन्त्रणमा राखेका थिए । कम्पनीले यी दुवैको स्वामित्व फर्काउन आग्रह गर्दा उनले प्रालि सञ्चालकसँग सोवापत ४० लाख रकम माग गरेको जाहेरी ब्युरोमा आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । कम्पनीको तर्फबाट अनुप जंगमको जाहेरीमा वेबसाइट बन्द गराई फेसबुक पेज नियन्त्रणमा लिएर पन्ध्र लाख आर्थिक घाटा पुर्‍याएको दाबी छ । उनको जाहेरीको आधारमा प्रहरीले खरेललाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । श्रोत:अपराधडटकम

SHARE THIS

Author:

Facebook Comment