भारत र अमेरिकाकालागि राजदूत तय


संसदीय सुनुवाइ विशेष समितिले नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई भारत र एमालेले सिफारिस गरेका डा. अर्जुन कुमार कार्कीलाई अमेरिकाको राजदूत बन्ने बाटो खोलिदिएको छ ।
समितिले बुधबार करिब ३ घण्टा लामो छलफल गरेर भारतका लागि प्रस्तावित राजदूत उपाध्याय र अमेरिकाका लागि प्रस्तावित राजदूत कार्कीको नाम अनुमोदन गरेको छ । एमाओवादी नेतृत्वको गठबन्धनका १८ दलका सभासद बैठकमा अनुपस्थित भएपनि समितिले प्रस्तावित राजदूतको नाम एकै दिनको बैठकबाट अनुमोदन गरेको हो ।
समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । सरकारले तीन साताअघि उपाध्यायलाई भारत र कार्कीलाई अमेरिकाको राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । भारतमा साढे तीन वर्षदेखि र अमेरिकामा एक वर्षदेखि राजदूतको पद खाली छ ।
समितिमा उपाध्यायविरुद्ध एउटै उजुरी परेको थिएन भने कार्की विरुद्ध एउटा उजुरी परेको थियो । प्रस्तावित राजदूतको बारेमा छलफलका लागि समितिको बैठक बिहान साढे आठ बजे बोलाइएकामा कोरम नपुगेकाका कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
१८ दलका सभासदले बहिष्कार गरेको अवस्थामा कोरम पुर्‍याउनका लागि समितिका कर्मचारीले  सत्तारुढ दलका सभासदलाई फोन गरेर बोलाएका थिए ।
कोरम पुगेपछि बसेको बैठकमा दुवै प्रस्तावित राजदूतले सरकारको परराष्ट्र नीति अनुसार मुलुकको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा दुवै प्रस्तावित राजदूतलाई समितिका सदस्यहरुले एक दर्जनभन्दा बढी प्रश्न सोधेका थिए ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment