नेपाली बामपन्थी नक्कली कम्युनिष्ट

– जनकमान डंगोल

जाति धर्म संस्कृतिदेखि संस्कारसम्म नमान्नेहरुलाई “सर्वहारा” भन्छन् भनेर सानैमा कुनै कम्युनिष्ट नेताले भनेको सुनेको थिएँ । कुरा सोह्रै आना सत्य हो किनभने सक्कली कम्युनिष्ट चरित्र बोकेकाहरुकोलागि गाउँ समाजको जनताहरुले मान्दै आएको पुख्र्यौली धर्म संस्कार देखि जातिपाति र संस्कृतिसम्मले कुनै अर्थ राख्दैन ।
जुन व्यक्ति कम्युनिष्ट बन्छु भनेर कम्युनिष्ट पार्टीको सदस्यता लिन्छन् त्यस्ता व्यक्तिलाई कम्युनिष्ट प्रशिक्षकले शुरुमै दिईने ज्ञान र विधा भनेको पंक्तिकारले माथि उल्लेख गरेका हरफहरु हुन् ।
नेपालमा कम्युनिष्ट गतिविधि शुरु गर्ने प्रथम श्रेय बर्माबाट नेपालमा बसाई सरि आएको व्यापारीका छोरीहरु साधना तथा साहना प्रधान दिदी बैनीहरु देखि नरबहादुर कर्माचार्यहरुलाई जान्छ । यिनै व्यक्तिहरुले जहानियाँ राणा सासनको पालामा नेपालमा कम्युनिष्ट पार्टी खोल्ने आँट र हिम्मत गर्न नसकेर भारतको कलकत्तामा गएर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको जग राखेका थिए भने त्यसलाई तल्ला थप्ने काम २००७ सालको क्रान्तिले नेपालमा प्रजातन्त्र आएपछि नेपालमा सुरु गरेका थिए ।
कम्युनिष्ट भनेको एक हुन्छ भनेर भन्छन् तर २००६ सालमा कलकत्तामा जन्माई नामको अगाडी नेपाल राखेर बनाईएको कम्युनिष्ट पार्टी आज एक बाट तिन दर्जन भैसकेको छ । नेपालको कम्युनिष्ट पार्टी देख्दा पंक्तिकारलाई २०४६ साल पछी नेपालमा निजी क्षेत्रमा खोलिएको पहिलो कुरियर सेवा “एक्सप्रेस डेलिभरी सर्भिस सेवा” को नारा “भनाई र गराईमा मिल्छ हाम्रो बोली, आजको सामान पुर्‍याईदिन्छौं भोली” जस्तै लाग्छ किनभने काठमाण्डौबाट प्रेषित गरिएको चिठिपत्र देखि अन्य पार्सल समेत काठमाण्डौको सिमा जोडिएको जिल्ला सदरमुकाममा पुग्न छिटोमा ३ दिन लाग्थ्यो भने सरकारी हुलाकको त के कुरा गराई भो । नारा लाउँदैमा र लेखिदैमा त्यो सहि र सत्य हुन्न भन्ने कुराको प्रमाण त्यो कुरियर सेवा र नेपालको कम्युनिष्ट पार्टीहरु यो टुक्रे चरित्र पनि हो ।
नेपालको सबै जिल्ला देखि ग्रामिण भेगहरुमा समेत कम्युनिष्ट पार्टीहरुको राम्रो पकड छ र कम्युनिष्टको जत्तिको जालो (संगठन) अरु राजनीतिक पार्टीहरुले फैलाउन सकेका छैनन् । कम्युनिष्टहरुको पकड र राम्रो संगठन भएको जिल्लाहरु मध्ये मकवानपुर जिल्ला नेपालको अग्रणी जिल्लाहरुमा पर्दछ किनभने मकवानपुर जिल्ला नेपालको पहिलो औद्योगिक जिल्ला समेत हो । औद्योगिक जिल्ला भए पछी मजदुरको कमि हुने त कुरै भएन भने नेपालको राजनीतिक पार्टीहरुलाई राजनीति गर्न सबै भन्दा सजिलो र बलियो अचुक अस्त्र पनि मजदुरहरु नै हुन् ।
कम्युनिष्टले धर्म संस्कृति आदि केहि पनि मान्दैनन् भनेर पंक्तिकारले सुरुमै लेखिसकेको छ । धर्म र संस्कृति नमान्ने भएपछि टिका, माला र फुल पर्सादी देखि चाड पर्वले समेत कुनै अर्थ राख्दैन ।
विश्वकर्मा भनेको हिन्दुहरुको देवहरु मध्येको एक हो भने मजदुरहरुको त रक्षक र रखवालामा विश्वकर्मा देवता पर्दछन् । हरेक साल औद्योगिक मजदुरहरुले धुमधामका साथ विश्वकर्मा पुजा गर्छन् । एक किसिमले भन्ने हो भने विश्वकर्मा पुजा भनेको मजदुरहरुको दशैँ हो र दशैँको परिभाषा र बर्णन विश्वको एकमात्र हिन्दु राष्ट्रको नागरिकहरुलाई गर्नु नपर्ला ।
पंक्तिकारको घर मकवानपुर जिल्लाको औद्योगिक नगरिकै छेउमा पर्दछ । औद्योगिक नगरी र पंक्तिकारको वतन एकै वडामा पर्दछ । मकवानपुर जिल्ला कम्युनिष्टहरुको गढ पनि हो र कम्युनिष्टको परिभाषा सुरुमै बर्णन गरि सकेको छु तर मकवानपुर जिल्लाको सयमा सय कम्युनिष्टहरुले आजसम्म धार्मिक कार्यक्रमको वहिष्कार गरेको पंक्तिकारले देखेको छैन ।
कम्युनिष्टहरुमा पनि उग्र बामपन्थी स्वभाव भएकोमा माओवादी पार्टीलाई जान्छ । पंक्तिकार हाल रोजगारको लागी मलेसियामा कार्यरत छन् र प्रत्येक दुई वर्षमा नेपाल छुट्टीमा जाने गरेको छ । पंक्तिकारले छुट्टी मनाउने बेलामा ठूलो नभए पनि सानो दशैँ अर्थात चैते दशैँको बेला परेको हुन्छ । केहि बर्ष अगाडीको एउटा सानो प्रसंग कोट्याउन चाहन्छु । संगै वडाका माओवादीमा आस्था राख्ने क्षेत्री थरिका मित्र चैते दशैँको दिन एका बिहानै निधारभरी रातो अक्षेताको टिका र फुल पर्सादीको साथ जम्काभेट भो सायद मन्दिरमा भाले पुजा गरेर आएका थिए क्यारे ।
पंक्तिकारले मनमा कुरा राख्न सकेन र फ्याट्टै भनिदियो हैन मित्र तपाई कम्युनिष्ट त्याहाँ माथि पनि उग्र बामपन्थी स्वभाव भएको एमाओवादीको स्थानीय नेता हैन ? मित्रले जवाफ दिए अवश्य हो । कम्युनिष्टले के के मान्छ र के के मान्दैन भन्ने पनि थाहा होला नि हैन ? मित्रले जवाफ दिए थाहा छ । जनयुद्धमा मन्दिरमा पुजाआजा गर्न देखि चाडपर्व जात्रामात्रा पनि निषेध थियो नि । बल्ल मित्रले कुरोको चुरो बुझेछन् र भने त्यो हिजोको कुरा हो अनि हिजो र आजमा धेरै परिवर्तन भैसक्यो । मैले मुखै फोरेर भने कम्युनिष्टले धर्म मान्छ कि मान्दैन ? मित्रले जवाफ दिएनन् वा दिनै चाहेनन् ।
नेपालको कम्युनिष्टहरु सक्कली कम्युनिष्ट हैनन् । वर्ग संघर्ष देखि अन्य विभिन्न थरिका नयाँ र नौलो नौलो नाम दिएर जनता, मजदुर, किसान जस्ता सोझासिधाहरुको दिमाग भुटेर आफ्नो भनाई लादेर आफ्नो भुडी भर्ने जमातेको नाम नै “कम्युनिष्ट” हो र मेरो बुझाईले त्यस्तै भन्छ ।
क्रान्ति गर्नु पर्छ भन्दै गाउँ गाउँ टोल टोलमा संगठन बनाउँदै हिंड्ने र संगठन बनाई सकेपछी पार्टी संचालनको लागि भन्दै लेबीको नाउँमा शुल्क उठाएर आफ्नो जिबिका चलाउने यी कम्युनिष्ट पार्टीका नेताहरु देखि तिनका नजिकका कार्यकर्ताहरु र ईसाई धर्मका प्रचारकहरु पंक्तिकारलाई एकै लाग्छ किनभने इसाई धर्ममा लागि सकेपछि आम्दानीको ८ देखि १२ प्रतिशत धार्मिक कर अनिवार्य दिनु पर्ने चलन छ । धर्मकर्म पनि नछोड्ने अनि कम्युनिष्ट हौ भन्न पनि लाज सरम नमान्नेहरु कसरि सच्चा कम्युनिष्ट भए भनेर अब प्रश्न किन नगर्ने ? कम्युनिष्ट भनेको त सर्बहारा हो भनेर अझै पनि भन्दैछन् नक्कली नेपाली बामपन्थीहरूले ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment