“किन गिद्धले सिनो लुछे झैँ एकापसमा लुछाचुडी गर्दैछन् यी देशका नेताहरु ?”
– निशा खनाल अर्यालचार जात छत्तिस वर्णको सुन्दर उपमा दिएर स–साना टुक्रिएका राज्यहरुलाई एकीकृत गरि राज्य विधाता पृथ्वीनारायण शाहले विस्तार गर्नुभएको वलियो एकमा
त्र हिन्दु राष्ट्र देश भित्र निम्तिएको प्रजातन्त्रको आन्दोलन पश्चात आएको गणतन्त्रले देशमा परिवर्तन हुनु पर्ने एक स्वाभाविक प्रकृया थियो । तर नेपालको वर्तमान अवस्था दिन प्रतिदिन गम्भीर हुँदा देशको पुर्नसंरचना कसरी गर्ने भन्नेमा अडिएको छ अहिले । देशको चौध अंचल, पचहत्तर जिल्लाको पुरानो संरचना जनतालाई अपचनीय भएर राज्यबाट राजालाई निकाल्न युद्ध सम्म गर्नेले देशको प्रगतिको सपना सजाएर गणतन्त्र ल्याए तर आज त्यो पनि सबैलाई अभिशाप भइ घाँडो भइसकेको छ । देशको केन्द्रिय शासन प्रणालीलाई विकेन्द्रित गरी स्थानिय श्रोत र मानव संशाधन स्थानीय रुपमा नै परिचालन, स्थानीय समस्याको पहिचान र स्थानीय रुपमा नै हुन सक्ने भन्ने कुराहरु नाजायज थिएनन् । केन्द्रिय शासन सत्ताले श्रोतको बाडफाँड सामाजिक न्यायको सिद्धान्तमा नभै पहुँचवालाको तजबिज र लुटेरा, आतंककारी तथा गुण्डागिरीको धम्कीमा राज्यको नीति नजान्ने मूर्ख, अनपढ, स्वार्थीजस्ता व्यक्तिको हातमा बाँड्नाले राज्यबाट हुनुपर्ने सुविधा र विकास निमार्णमा असमानता भएको तितो यथार्थता सबैले आज अनुभव गरेको विषय हो ।
आखिर यी नेताहरु देश टुक्रयाउनउन आन्दोलन भित्र्याउन किन लागि परेका हुँन ? कस्तो र कत्रो राज्य चाहिएको हो त ? आयश्रोतको खानी भएको सुन्दर नेपाल आफैंमा पूर्ण छ यो राज्य झनै एक अर्काको पुरकको नाताले भन्नु पर्दा तराइलाई बिजुली पहाडले उपलब्ध गर्छ भने पहाडलाई अन्न र अन्य सुबिधा तराइले दिदैआएको छ यसरी राज्य सम्पूर्ण रुपले भरिपूर्ण र परिपुरक छन् र पनि हाम्रो देश नेपाल हिमाल, पहाड र सबै क्षेत्र तराई मिलाएर बनेको सुन्दर देश पर्यटकीय हिसाबले, जलश्रोतको हिसाबले र खनिज प्रदार्थको अर्थात् कृषिको हिसाबले र आत्म निर्भरताको हिसाबले यो देश आफैंमा बलियो राज्य छ । उखानै छ “हरियो वन नेपालको धन” तर आज आएर देश टुक्रयाउन तल्लिन देशद्रोही नेताहरुले साना–साना जातीय राज्य बनाउने सपनाले खण्डित हुँदै गएको देश भित्र महंगी, अलपत्र बाटोघाटो, किचंगल, तोडफोड, लुटपाट जस्ता कार्यले गर्दा दिनप्रतिदिन साधन र श्रोतको अभावले राज्य विकसित र बलियो हुन् सक्दैन भन्ने बोध हरेक जनतामा हुँदै जाँदा जसको फलस्वरुप जनताले हिजो भन्दा आज धेरै दु:ख, पीडाको सामना गर्नु परेको यथार्थ सबैको अगाडी छर्ल· भएको छ ।
राज्यको नीतिसम्म नजान्ने देशका राजनीतिक नेताहरु यी त कुहिएको सिनोमा किरा पलाए झैँ गरि भित्र भित्रै मौलाउने किराहरु हुन अब यस्ताको हातमा हामीले देशलाई सुम्पिने भ्रममा नबसौं किन कि यिनीहरुको दाउ र योजना भनेकै जनतालाई लडाई देशमा आन्दोलन मच्चाएर आफु कुर्सीमा राज गर्दै आफ्नो दुनो सोझ्याउनु र जनता बीच, जात पात, लिंग, धर्मको आगो सल्काई देशलाई सखाप पार्नु, हो भने देशलाई विदेशी दलालको हातमा सुम्पिएर खण्ड पारि टुक्रयाउने यिनीहरुको नीति हो, भने सोझा र अर्ध शिक्षित जात जातिको प्रयोग गरेर आफ्नो खुट्टामा राम्रो जुत्ता लगाउन नसक्ने आज अरबौंको महलमा शान र ऐस आरामको जीवन व्यतित गर्दै पिंजडा गाडीमा हुईंकिदै आफुलाई महान नेता भनेर सिद्ध गर्न तलिन हुनु हो ।
यिनीहरुले जुन संविधान बनाउने संविधानसभाको बैठकको लागि जुन कमिटी गठन गरेका थिए त्यो त मात्र जनताको आँखामा धुलो छयाप्नु थियो, किन भने जुन सभासद भित्रको मिडियाबाट भिडियो सार्वजनिक भएको थियो । त्यो विश्वभरि हास्यास्पद बनेका यी नेताहरुले गर्दा “घर फुटे गवार लुटे”भने झैँ गुण्डागर्दीबाट एउटा गरिमामय सभासद पदमा भित्र रहेका नेताबाटै तोडफोड र हातपात जस्ता क्रियाकलाप भएको देख्दा दु:ख र लाज लागेर हामी विदेश रहेका नेपालीको शिर झुकेको छ ।
म निर्धक्क भएर भन्न सक्छु यी मुकुंडाधारी नेताहरुको भित्रि योजना धर्मको आडमा देशलाई टुक्रयाउनु र विदेशी दलालको हातमा सुम्पिनु हो । तर उखान छ नि “लाटो लड्छ एक बलड्यांग बाठो लड्छ तीन बलड्यांग भने झैँ यी देश द्रोही नेताहरु जनताको आत्मा भित्र देखि, नजरदेखि गिर्दै गएको यिनीहरुलाई थाहा छैन । जनताको भावनाबाट, विश्वशबाट यिनीहरुको भित्रि योजना त सय बलड्यांग लडीसकेको छ । र पनि जनताको आखाँमा खुर्सानीको धुलो छप्यादै आएका ढोंगी नेताहरुले सभासद भवन भित्र समेत खुर्सानीको धुलो राख्ने योजनाले भन्न सकिन्छ कि देशलाई हजार बल्ड्याग लडाएर, छिन्नभिन्न गर्दै यी देशद्रोही नेताहरु गुण्डा गिरीको भरमा अझै पनि आफ्नो मतलब सिद्ध गर्न तल्लिन छन् । अब पनि हामी जनताले आँखामा पट्टी लाएर बस्ने हो भने देश पाखण्डीको हातबाट बजारिएर विदेशी दलालको हातमा पर्न गयो भने हामी लगायत हाम्रा भावी सन्ततिको भविष्य समेत अन्धकारमय हुनेछ त्यो बेला देश गुमाउनुको पीडा र सन्ततिले पछुतो गर्नु बाहेक केहि रहने छैन ।
त्यसैले अब हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्ता क्रियाकलापबाट उत्पन हुने देशभित्र सामाजिक गरीबी र खुला अर्थतन्त्रले हुने खानेलाई, आतंक मचाएर लुट्न सक्ने व्यक्तिले कुर्सीबाट सुविधा प्रदान गर्ने हुनाले यिनीहरुलाई सभासद्बाट फाले सम्म सामाजिक संरक्षणको अभावमा बिपन्न वर्ग र सम्पन्न वर्गको खाडल बढ्दै जादैछ । आज जनताले फेरी हिजोको झैँ यहि नारालाई समाएर राज्यको पुर्नसंरचना र जातीय बर्गको उत्थानको नाममा उग्रनाराले सामाजिक चेतनाको बाढी नल्याउलन भन्न सकिन्न । आज फेरी देशमा भैरहेको सभासदहरुको होड्बाजी र खिच्चातानी माहोलबाट पहिचानको आधारमा राज्यको पुर्नसंरचना गर्ने नाराले फेरी देश तातेको छ ।
जातिय पहिचानको नारा नेपाल जस्तै कम बिकशित देशमा पनि पचास बर्ष पहिला बिश्वमा चलेको थियो । उपनिवेशबाट स्वतन्त्र भएका अफ्रिकी नाइजर, सोमालिया आदी देशमा जातिय राज्यको रुपमा देशलाई बिभाजन गरे । फलस्वरुप भिन्न जातजाती बिच श्रोतको बाँडफाँड र मानव संसाधनमा किचलो पैदा भयो फलस्वरुप सानोबाट आगो झैं देशभर गृहयुद्धको स्थिती देखा पर्यो । यो स्थिती अब फेरी नेपालमा गणतन्त्रको अन्त्य गर्दै र राजतन्त्र स्थापना नहोला भन्न सकिन्न किनकी यस्तो किसिमको आपसी सांसद भित्रको विवादले अवश्य नै फेरी देशमा युद्ध निम्त्याउने छ ।
नेपालको प्रजातान्त्रिक अभ्यासको जग बलियो छैन भनेर गणतन्त्रको चाहना गर्नेहरु आज बिग्रिंदो हिजो भन्दा आजको देशको अवस्थाले निसासिन थालिसके । छिमेकी देश भारतमा स्वतन्त्रता पछि बोलिने भाषाको आधारमा राज्य बिभाजन गरियो । अझै पनि भारतका केरला र तामिलनाडुका बहुसंख्यक जनता भारतको राष्ट्रिय भाषा बोल्न लेख्न जान्दैनन् । नेपाल भारतको एक राज्य भन्दा पनि सानो भुभाग छ । यस भित्र सय भन्दा बढी जात जाती र संप्रदाय छन् । तिनीहरुको सामुहिक पहिचानमा एक विशेषको नाममा राज्यको नामाकरण गरिंदा अपच हुनेहरुले आज आतंकको भरमा देश भित्र पसेकाको हातमा राज्यलाई सुम्पिदिनाले कत्तिको जायज थियो होला । एक जटिल प्रश्न बनेर उभिएकोछ आज । सडकमा पालै पालो जातिय विवाद, धर्मको विवाद गराउदै देशको नाममा सडक तताइने गरिन्छ । बम र बारुद्ध, गुण्डागर्दी गरेर साधारण जनतालाई तर्साइन्छ, अनि आदीबासीको परिभाषा, जात जातिको लडाई गराउन उनीहरुको आपसी धर्मको पहिचान गराएर एक आपसमा लडाई गराउने अर्को जटिल प्रश्न खडा भएकोछ । तर नेता र राजनीति गर्ने नेतामा, राज्यको नीतिलाई आत्मसाथ गरि दृढ इच्छा शक्ति र राष्ट्र प्रतिको समर्पण भएको भए देशको विकासमा कुनै पनि व्यक्तिको नामको कुनै अर्थ रहँदैनथ्यो । राज्यको नीतिको ख्यालनै नगरी बिना भेदभाव राज्यको मुलधारमा समान अवसर प्रदान गरेको भए सम्पूर्ण गरिवीको रेखा मुनि रहेका जनजातीको उत्थान हुँदै जाँदा देशभित्र आफै प्रगति हुने थियो नकी बम र बारुदको नाममा त्रास विशेषले देश भित्रको बिकास ।
“अझै हाम्रा हातहरु पौरखी नै छन,
चाहे आउँन जोसुकै चुपचाप बस्दैनौ,
खुकुरीका धार झैँ धारिला हात हाम्रा,
साम्राज्यवादी विस्तारवादी केहि देख्दैनौ,
यदी गर्छन् हस्तक्षेप भने हाम्रो नेपाल,
खुकुरीका धारले छिनाउँछौ उनका हात,
अझै हाम्रो नेपालीपन कहिँ गाको छैन,
हिम्मत, आँट, जाँगरमा खिया लाको छैन,
शिर ठाडो बनाएर देश जोगाउँछौ,
हिन्दुराष्ट्र नामलाई सधै चम्काउँछौ
हाम्रो सागरमाथा नेपाल जन्म थलो हो,
यही माटोलाई हामी पौरखी बनाउँछौ,
(राजविराज सप्तरी घर भएकी अर्याल हाल इजरायलमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मितिः२०७१ माघ २२ गते विहीवार