-जनकमान डंगोल
आज भन्दा ७ बर्ष अगाडी अर्थात २०६४ साल अगाडी सम्म संसारले नेपाल भनेपछी बिश्वको एकमात्र 'हिन्दु रास्ट्र' भनेर चिन्ने गरेको थियो तर आज त्यस्तो छैन । किन र को कसको ईसारामा २०६४ सालमा धर्म निरपेक्ष घोषणा गरियो वा गर्न लगाईयो ? यी सबै ईति वृतान्त २०६४ साल पछी प्रजातन्त्र फालेर लोकतन्त्रको नाउँमा नेपालमा पालैपालो सत्ताको सुखभोग गर्ने कांग्रेस, कम्युनिस्टहरुको बथान देखि अबसरबादी मदेसी खेमासम्मका केहि नेताहरु लाई थाहा होला ।
आफ्नो फाईदाको लागी जे जस्तोसुकै गलत काम कार्यहरु समेत गर्न पछी नहटने कथित पन्च देखि माहापन्च देखिएका हिजो सम्मको कट्टर र खाँट्टी केहि महापन्चहरु जुन हाल आएर एक नम्बरको गणतन्त्रबादी बनेका छन ति पनि तथाकथित लोकतन्त्र नाउँको गणतन्त्रका साक्षी बसेका छैनन भनेर भन्न सकिन्न तर पौने तिन करोड नेपालीहरुलाई यी सबै बिषयमा किन थाहा पत्तो दीइयेन ?
प्रजातन्त्र भन्नासाथ नेपालमा राजा र प्रजा मिलेर २००७ सालमा निरङ्कुश जहानियाँ राणाशाही फाल्न गरेको आन्दोलन भनेर बुझिन्छ भने उति बेलाका राजनीतिक पार्टीहरुले त्यो आन्दोलनलाई सशस्त्र क्रान्तिको नाम समेत दिएका थिए ।
२००७ सालमा दरबारको सुख सयलको सुबिधा भोगेर बसेको राजालाई के चैँ नपुग्दो थियो र आफ्नो र परिवारको ज्युज्यानको बाजी लगाएर प्रजातन्त्र स्थापनाको लागी दर्बार नै त्यागि दिए ? तर यसरि स्व.राजा त्रिभुवनले देसमा पहिलो पटक स्थापना गर्न लगाएको 'प्रजातन्त्र' को बर्बर हत्या प्रजातन्त्र स्थापनाको लागी लडेको पार्टीले नै आज भन्दा सात बर्ष अगाडी गरेको हो भनेर भन्दा अझै पनि धेरैले नपत्याउन सक्छन ।
नेपालमा प्रजातन्त्रको स्थापनाको निमित्त मुलुक भित्र स्थापना भएको पहिलो पार्टी प्रजा परिषद भएता पनि निरंकुस राणा शाहीलाई सत्ताच्युत गर्न त्यतिबेला भारतको भुमिमा स्थापना भएको कांग्रेस पार्टीहरु लाई जान्छ । 'रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद'को मूल मन्त्र लिएर २००४ सालको भारतको कलकत्तामा रोपिएको मजबुद कांग्रेसी वृक्षले २०६३ साल सम्म घाम, पानि, आंधी तुफान नभनी चट्टान जस्तै दृढ बिस्वासको साथ अटल भएर उभिएको थियो तर त्यहि बज्र जस्तो वृक्षलाई पार्टीका बिस्वासघातीहरुले फेदै देखि ढाल्ने काम गर्लान भनेर कोहि कसैले कल्पना समेत गरेको थिएनन होला ।
लोकलाई देखाउनको निमित्त नेपाली कांग्रेस पार्टी अहिले पनि छ नेपालमा । सासन सत्ता अहिले पनि कांग्रेस पार्टीकै पोल्टामा छ तर हिजो जेल नेल भोगेर त्याग र तपस्याको साथ अनेकौ दुख: कस्ट सहेर हुर्काइयेको सक्कली कांग्रेस पार्टी चै काहाँ छ त यसको जवाफ वर्तमान सभापति तथा सत्ताको मुखिया प्रधानमन्त्री श्री सुसिल कोइरालाले दिन सक्नु होला र ?
कुनै पानि पार्टी स्थापना गर्दा त्यो पार्टीको झण्डा र मूलमन्त्र तोकिएको हुन्छ । नेपाली कांग्रेस स्थापना गर्दा चार तारा अर्थात राणाशाहीको बिरुद्धमा आफ्नो ज्यान अर्पेका सहिदहरु 'गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री तथा दसरथ चन्द' हरुलाइ अर्पित गर्दै'रास्ट्रियता, प्रजातन्त्र र समाजबाद' को महान नारा तोकिएको थियो । यो नारालाई नेपाली कांग्रेसको संस्थापक नेता स्व.बि.पी कोईराला, स्व सुबर्ण सम्सेर ज.ब.रा, गणेस मान सिंह श्रेष्ठ समेतहरुले पटक पटक जोगाएर राखेका थिए ।
संस्थापक नेताहरु मध्येकै सन्त नेता स्व.कृष्ण प्रसाद भटराईलाइ पार्टीमा टिक्न नदिएर सोहि पार्टीकै संस्थापक नेताका भाई स्व.गिरिजा प्रसाद कोईराला मण्डलीले उक्त महान नारा भित्रको नेपाली कांग्रेस पार्टीको मूलमन्त्र 'प्रजातन्त्र' लाई तिलान्जली दिंदै २०६४ सालमा'लोकतन्त्र' भन्ने सब्द कायम गरेका छन ।
नेपाली कांग्रेस पार्टीले 'प्रजातन्त्र' को लागि के कति त्याग र तपस्या गरेको थियो भन्ने कुरा बरिस्ट देखि कनिस्ट नेताहरु सम्मलाई थाहा नहुने त कुरै भएन भने अन्य नेताहरु संगै प्रजातन्त्रको लागी स्थापनाकाल देखिनै लडेका वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री सुसिल कोईराला त झन अनभिज्ञ नहुने प्रश्ननै उठ्दैन । 'प्रजातन्त्र' भन्ने सब्द जोगाउनको निमित्त सयौले दिएको त्याग र तपस्यालाई अवमूल्यन गर्दै 'प्रजातन्त्र' भन्ने सब्दलाई नेपाली कांग्रेसले किन मेटायो त्यसको जवाफ अहिले सम्म दिन सकेका छैनन ।
नेपाल एकीकरणको निर्माता वडा महाराजाधिराज पृथ्बी नारायण शाह हुन भन्ने कुरा पनि नेपाली कांग्रेसलाई थाहा नभएको हैन । बडामहाराजधिराजले नेपाल एकीकरण नगरेको भए आज नेपाल भन्ने देसको नाम नक्सामा कायम हुन्थेन । यी सबै एतिहासिक तथ्य जान्दाजान्दै पनि बिदेसीको ईसारामा एकीकरण दिबस नेपालको रास्ट्रिय क्यालेन्डरबाट किन हटाईयो ?
एकीकरण दिबस हटाईयो । लोकतन्त्र भन्ने दिबस मनाउने प्रचलन सुरु गरियो तर प्रजातन्त्र लाई बर्खास्त गरेर लोकतन्त्र दिबस मनाउन सुरु गरे पछी राजा र प्रजा मिलेर स्थापना गरेको दिबस अर्थात २००७ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबस चैँ मनाउन छोडेको छैनन । लोकलाई देखाउन 'प्रजातन्त्र दिबसको शुभकामना' लिन दिन छोडेको छैन भने यो बहुलट्ठीपूर्ण कार्य हो कि हैन ? प्रजातन्त्रनै नभएको देसमा प्रजातन्त्र मनाउन नछोड्ने हो भने नेपाली कांग्रेसले आफ्नो महान नारा 'प्रजातन्त्र' किन मेटाए ? यसको जवाफ जनता र आफ्ना कार्यकर्ताहरुलाई दिनु पर्छ कि पर्दैन ?
प्रकाशित मितिः२०७१ फागुन १४ गते बिहीवार