युवा शक्ति र समुन्नत नेपाल

– बाचस्पति रेग्मी
कसैको लोकमा छैन, एकैनास समुन्नती 
अरुको के कुरा हेर, सन्ध्यामा सुर्यको गती । 
उपकारी गुणी ब्यक्ति नहुरीन्छ निरन्तर , 
फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ।

कुनै समयमा नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने कुरा हुन्थ्यो, कुनै समयमा शान्ती क्षेत्र नेपाल भनेर प्रस्ताव गरिएको थियो । यिनै कुरालाई मध्यनजर राख्दै सन् २००० सम्ममा नेपालको आधारभूत आवश्यकता पूरा गर्ने भन्ने योजना पनि बनाइयो । 

अहिले सन २०१५ भइसक्यो तर, ती योजनामा कुरा र कागजमै सीमित रहे । त्यसबेलाको घोषणाको कार्यान्वयनको अवस्था के रह्यो भन्ने पक्षमा आजसम्म समीक्षा गरिएन र जिम्मेवारी पनि कसैले लिएन । आज राष्ट्रपति, प्रधानमन्त्री, राजनैतिक पार्टी, राजा वा सत्ताको बागडोर जसमा निहित भए पनि राज्यसत्ताकोे निरन्तरतालाई एउटै रुपमा बुझिएको छ । जहाँ शान्ती छ त्यहाँ विकास हुन्छ र सरकारबाट जनताले सेवा पाउँछन् । एउटा सरकारले गरेको राम्रो कामको निरन्तरता दिनु अर्को सरकारको सामान्य परम्परा र दायित्व पनि हो तैपनि बेलाबेलामा सत्ता परिवर्तनले हामीलाई सताइरह्यो । समस्या कहाँनेर छ भनेर कसैले कुनै चासो प्रकट गरेनन् र समीक्षा गर्न पनि आवश्यक ठानेनन् । 
नेपालमा २०४७ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि सिङगापुर जस्तो बनाउने भनियो । हरेक राजनीतिकर्मीको जिब्रोेमै झुन्डिएको यो वाक्यको प्रस्तुतीकरणले अझै निरन्तरता पाइरहेको भएपनि देशलाई सिङगापुरजस्तै कसरी बनाउन सकिन्छ भन्ने विषयमा बहससमेत प्रारम्भ भएन । सिङगापुर, मलेसिया र दक्षण्िा कोरिया, जापान जस्तै विकासीत एंवम समृद्ध देश नेपाल बनाउने गफ दिने क्रम आजसम्म जारी छ । 

अहिले जनताको हित भन्दा पनि राजनीतिमा आफ्ना बारेमा मात्रै सोच्नेहरुको बढी बोलबाला हुदैँ आएको छ । कास्कीको घान्दु्रकमा जन्मेर अन्तर्राष्ट्रिय रुपमा परिचय लिएका हाम्रा जुझारु युवा नेता दीपेन्द्र गुरुङ भन्नुहुन्छ- हामी पनि यिनैले देश बनाउँछन् भन्ने भ्रमबाट मुक्त हुन सकेका छैनौ । तर, नेपाल बनाउने जिम्मा अब युवाहरुको हो । अब देश बनाउन हामी युवा वर्गले शुरुआत गरौं । 

उनले नेपालको अहिलेको अवस्थालाई युवा जनशक्तिले निकै अगाडी पुर्‍याउन सक्ने शिक्षा सार्क राष्ट्रका युवा, अष्टे्रलिया, युके, अमेरिका युवाहरुको जागरबाट पाएको बताउँछन् । नेपालमा त असिमित स्रोतहरु छन् जसलाई प्रयोगमा ल्याउँदा देशको विकास हुन्छ । म सानो देश नेपालको मान्छे हुँ तर, विश्व घुमेर देश बनाउने कुरा सिकेको छु । देश विकासको लागि युवा जागरुक हुनुपर्दछ ।

अब युवाहरुको बलमै नेपाललाई आधुनिक र शान्तिपि्रय मुलुक बनाएर विश्वभर चिनाउन आवश्यक छ । अहिले नेपालमा कतिपयले आकाश पाताल जोड्ने कुरा हुन्छन् । नेपाललाई स्वणिर्म युगमा प्रवेश गराउने भाषण हुने गरेको छ । उद्योग, व्यवसाय र उत्पादन बढाएर आर्थिक रुपमा सम्पन्न बनाउने, विश्वमै उत्कृष्ट प्रजातन्त्र स्थापित गरेर देशलाई संसारकै उदाहरणीय मुलुकको पहिचान दिनेसम्मका गफ हुन्छन् । प्रतिव्यक्ति आम्दानी बढाएर युरोप, अमेरिकाभन्दा माथि पुर्‍याउने कुरा हुन्छन् । 

पाँचदश वर्षको समयसीमा लगाउँदै दशौ हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषण भएका थिए । देशलाई विकासको बाटोमा लैजाने कुरा गरेर मात्रै हुँदैन त्यही अनुरुपको काम पनि हुुनपर्छ ।
सार्क क्षेत्रमा युवाको नेतृत्व गरेर काम गरिरहेका गुरुङ भन्छन्- '२० मेगावाट भन्दाबढी बिजुली उत्पादनमा विदेशी लगानीकर्तालाई आकषिर्त गराउँन धेरै छलफल र प्रेरित गर्ने गरेको छु । त्यसैगरी, थि्रस्टारभन्दा माथिल्लो स्तरको होटलमा लगानीका लागि वातावरण बनाउन काम गरिरहेको उनी बताउँछन् । 

जन्मेपछी देशको लागि केही योगदान गर्ने सोचाइ हुनै पर्ने बताउँने गुरुङ थप्छन् 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक' भन्ने हुनैपर्छ । 
केही वर्षअघिसम्म नेपालको भन्दा दयनीय अवस्था भएको कोरियाले कथा निकै फेरिइसक्यो । तर, कोरियाले लिएको निर्यातमुखी योजनाले देशलाई क्रमशः विकसित बनाइरहेको छ । केही वर्षअघिसम्म कैयौ गुणा राम्रो अवस्था नेपालको थियो । गुरुङ थप्छन्, 'नेपाल संविधान जारी गर्ने अवस्थामा छ । यो बेला युवा शक्तिले आफ्नो क्षमता देखाउने र देश विकास गर्ने हो ।' 

सुन्दर देशलाई समुन्नत तुल्याइसकेपछि प्रजातन्त्र पनि व्यवस्थित हुन्छ । यही उदाहरण कोरियाले प्रस्तुत गरिसकेको छ । नेपालमा कुरामा मात्रै देशलाई स्वर्ग बनाउने भनिन्छ । तर, व्यवहारमा कुनै काम भएकै छैन । नेपालमा इच्छा शक्तिको जरुरी छ । विश्वले युवाहरुलाई हेरीरहेको छ त्यही काम हामीले गर्ने समय आएको छ । अरुले बिगारेको कामको साक्षी बन्नुभन्दा आफ्नै मेहनतले देशलाई विकासको बाटोमा धकेल्नु ठिक कुरा हो ।

युवालाई आजपनि अवसर छ र भविष्यमा पनि । मित्रराष्ट्र भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएपछि उनले ठूला कुरा गरेका छैनन् । घर, आँगन, सडक सफा राख्ने सामान्य अभियान चलाएका मात्र हुन । त्यति काम हामीले गर्न नसक्ने होइन । वैज्ञानिक र आधुनिक टेक्नोलोजिका साथ सकारात्मक भएर लाग्नु पर्दछ । अरुको मुख ताक्ने बानी गÞलत हो । मेरो विचारमा संविधानसभामा भएका सबै ६०१ सभासदहरु एउटै हो । 

अझ भन्ने हो भने सानो देशा यति ठुलो आकारको संसद लाजलाग्दो कुरा पनि हो । तर, हामी अन्तरिम संविधानबाट नयाँ संविधान बनाउदै छौ भनेर ठूलो भएपनि स्वीकार गरिएको छ । यो बेला संविधान हरेक लिङ्ग, जात, धर्म, वर्ग, पार्टी , क्षेत्र, समुदायलाई समेटेर समान हुने गरी बनाउनुपर्दछ । कुनै धर्म, जात, सम्प्रदायलाई असमान हुने गरी बन्न हुदैँन । नेपालमा बन्दुकको राजनीति अहिले मतको राजनीतिमा पुगेको छ । यो विश्वकै राजनैतिक इतिहासको महान उदाहरणीय उपलब्धि हो । 

गुरुङ भन्छन्- हामीलाई बादरे प्रवृत्तिको नाटकले खुसी त देला तर बुद्ध जन्मेको शान्ती पि्रय देशमा विभिन्न बाधा अवरोध वा विरोधलाई शान्त र धैर्य भएर समुन्नत नेपाल बनाउन युवाहरु लाग्नु पर्ने मैले पाएको छु । त्यसैले मैले युवा नेतृत्व लिएको हो त्यसैले मैले युवाहरुलाई आब्हान गर्दछु । 

मिलेर काम गर्नसके शान्तिपूर्ण नेपाल बनाउन पाउन सफलता मिल्दछ । आशा गरौ सधै उच्च शिखर सगरमाथा सफल आरोहण गरे जस्तै हामी युवा जेनेरेसनले नेपाललाई सफल बनाउन सक्छौ । देश बनाउने यो महान अवसरलाई हातमा हात, साथमा साथ गर्ने हो भने नेपाल बनाउन हामीले सक्छौ । देशको राष्टपति र प्रधानमन्त्री त मेहनत गरे यसै बनिन्छ । तर हाम्रो उदेश्य त युवा शक्ति एक भएर लागेमा विश्वमै शान्ती बनाएर नेत्तृत्व गर्न सकिन्छ । हामी नेपालीहरु आत्मकेन्द्रीत, अज्ञानी, अदूरदर्शी, अक्षम र बेइमान छैनौं भन्ने कुरा कामले तथ्यको पुष्टि गर्ने हो । 

हाम्रो साक्षर र शिक्षति नागरिकको प्रतिशत आँकडामा निकै माथि पुगे पनि पश्चिमी मुलुकका मानिसहरु एसियालीलाई सभ्य मान्दैनन् । मेरा कारणले अरुलाई दुःख नहोस् भन्ने वाक्यलाई हामी सबैले आत्मसात् गर्‍यौ र सोही बमोजिमको व्यवहार प्रस्तुत गर्न सक्यौँ भने हामी तत्कालै सभ्य बन्न सक्छौँ । हामीले देशको, जनताको र आफ्नो पनि समय बर्बाद नगरी काम गरेर ठूला परिणाम हासिल गर्नु र शान्ति र विकसित देश बनाउने यात्रामा युवा जुटौं यही मेरो सबैमा अनुरोध छ ।
साभारःनेपालीपत्र


SHARE THIS

Author:

Facebook Comment