अथ महतो कथा

भारतका सिमावर्ती क्षेत्रबाट राम्रो कमाइको खोजीमा धेरै भारतीयहरु नेपाल पस्ने चलन थियो । यसरी पटके रोजगारीको निमित्त नेपाल आउनेमा कसैकसैले त्यस ईलाकाका सम्पन्न वा उच्च मधयवर्गीयहरुको मन जित्न सफल हुन्थे र नेपाल मै बसोवास गर्ने गर्थे । कालान्तरमा यतै सहज महशुस गर्न थालेर नेपाल मै जग्गा जमिन जोड्ने काम पनि गर्दथे । यस्ता एक पिंढी, दुई पिंढी हुन वा दशौं पिंढीका अंगिकृत नेपालीहरुमा जसले नेपाललाई आत्मसात गर्‍यो त्यसले भारतको आफ्नो श्रीसम्पत्ती नेपाल मै स्थानान्तरण गर्ने गर्दछन् भने जस्को नेपाल बसाई वा नेपाली नागरिकता नेपालबाट फाईदा उठाउनको निमित्त मात्र हुन्छ त्यस्ताले सम्पत्ति भारतमा नै राख्ने गर्दछन् । नेपालमा भएको सम्पत्ती पनि बहुदा धितोमा परिणत गर्ने गर्दछन ।

यसै क्रममा भारतको सीतामढी शहर नजिकको देहातबाट ट्टटुमा गुड, पन्सारी समान आदि बेच्न एक जना महतो नेपालको सर्लाही छिरे । राम्रो स्वभाव तथा बोली वचनले उनले सहदेव प्रसाद सिंहको मन जिते । सहदेव प्रसाद सिंह आफू त भद्र र मान्य छदै थिए उनका सन्तानमा त्यस्तै थिए । त्यसै परिवारका शत्रुघन प्रसाद सिंह अञ्चलाधीश पनि भएका थिए (नेपालमा नाम आउने शत्रुघन प्रसाद सिंह तीन जना भएका छन्) । सहदेव प्रसाद सिंहको कृपाबाट ती महतो नेपाल मै बस्न थाले, आफ्नो कमाईले नेपालमा पनि केही जग्गा जमिन जोडे । शत्रुघन प्रसाद सिंहका दाजु बलराम प्रसाद सिंह जो बि आर सिंहको नामले ज्यादा चिनिन्छन लामो समयसम्म शाही नेपाल वायु सेवा निगममा अधिकारी भए । उनको जिम्मामा व्यापार विभाग थियो । उनैले आफ्नो कामको निमित्त ती महतोका एक छोरालाई काठमाण्डौ ल्याए । उनले त्यसलाई शिक्षा दिए । अनि त्रिभुवन विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा लोडर नाईके पनि बनाई दिए ।

यसरी एक व्यक्तिको अस्तित्व आयो जसलाई राजेन्द्र महतोको नामले आजभोली चिनिन्छ । लोडर नाईकेले नै अन्य लोडरको व्यवस्था गर्ने तत्कालिन प्रचलन अनुसार राजेन्द्र महतोले आफ्ना गाउका आफ्ना विश्वास पात्रहरुको नियुक्ति लोडरमा गरे । अन्तरराष्ट्रिय यात्रीको टीप्समा पाउने मात्र होईन टोलीका सबैको हिस्सेदारी गरेर ठिकठिकै कमाई गरे । त्यही कमाईले अहिलेको उनको सानेपाको घरघडेरीको जोहो भयो । विदेशी संगको हिमचिमले उनले आफ्ना भाईहरु संग मिलेर आयात निर्यातको व्यापार गरे । झिटीगुण्टा नियमावलीले विदेशको भिषाको महत्व धेरै भएको समय थियो । उनले त्यो भिषा मिलाउने काम गरेर राम्रो कमाई गरे । कमाईको कुनै मौका नछोडने स्वभावले उनलाई राजनैतिक सहारा चाहयो । उनी नेपाल सद्भावना पार्टीमा सामेल भए । व्यापार भाईहरुको र राजनीति गरेर आफ्ना कमाईलाई व्यापारको जामा ओडाउन उनी खप्पिस देखिन्छन ।
नेपालको अस्थिर राजनीतिले आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालय जस्ता आर्थिक मामिला हेर्ने मन्त्रालयहरु लामो समयसम्म नेपाल सद्भावना पार्टीको पोल्टामा हालिदियो । यसमा पनि ज्यादा समय ती मन्त्रालय राजेन्द्र महतोले नै सम्हाल्न पाए । मधेशमा उनका साथमा रैथाने भन्दा आगन्तुक मधेशी नै नजिकमा छन् । अझ नेपाल भारत दुवै मुलुकमा खुट्टा टेकेकाहरु माथि उनको विशेष अनुग्रह हुने गर्दछ । त्यसैले रैथाने मधेशी उनीसंग संतुष्ट छैनन । पछिल्लो समयमा यी आथिर्क कृयाकलाप गर्ने मन्त्रालय उनवाट झिकियो र स्वास्थ्य मन्त्रालय दिईयो । लड्डु लडे झिल्ली झरे गर्न सिपालु उनले त्यो मन्त्रालयबाट पनि राम्रो उपार्जन गरे । उनी ज्यादाजसो आफ्नो श्रोत खर्च गर्न भन्दा जसका नाममा नारा बनाउने हो त्यसैको खर्च गराएर नाम कमाउन सिपालु छन् ।

–स्वयम्भुनाथ कार्की

SHARE THIS

Author:

Facebook Comment