विकास र संविधानका लागि दबाब

वीरगञ्ज, ५ पुस
पर्साको पश्चिमी क्षेत्रका बासिन्दाले स्थानीय विकास र समयमै जनपक्षीय संविधान निर्माणका लागि सरोकारका निकायलाई दबाब दिने भएका छन् । पर्साको सुवर्णपुरमा शनिबार भएको भेलाले यसका लागि सङ्घर्ष समिति बनाएको हो ।
जिल्लाको क्षेत्र नम्बर ५ मा पर्ने १२ गाविसका नेपाली काङ्ग्रेस गाउँ समिति अध्यक्षहरुको भेलाले क्षेत्रको विकासका लागि दबाब दिन विश्वराज घिमिरेको संयोजकत्वमा २१ सदस्यीय क्षेत्रीय सङ्घर्ष समिति निर्माण गरेको छ । विकासको सापेक्ष अवसरबाट बञ्चित पर्साको पश्चिमी क्षेत्रमा सडक, विद्युत्, खानेपानी, सिंचाईलगायतका अत्यावश्यकीय पूर्वाधार पु¥याउन समितिले चरणबद्धरुपमा दबाबमूलक कार्यक्रम गर्ने संयोजक घिमिरेले बताए ।
समितिले जानकीटोला–ठोरी र जानकीटोला–विजबनिया–शंकरसरैया सडक निर्माण, महादेवपट्टी र बलुवा जोड्ने ओरियाखोलमा पुल निर्माण, सिंचाईका लागि विभिन्न स्थानमा सिंचाई ट्रान्सफर्मर, ग्रामीण क्षेत्रमा नियमित विद्युत् आपूर्तिलगायतका अत्यावश्यकीय विकासका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने भएको छ ।
२०२४ सालमा चितवनबाट स्थानान्तरण गरिएको सुवर्णपुरका बासिन्दा अझै लालपुर्जाबाट बञ्चित भएकाले सो विषयलाई पनि सङ्घर्ष समितिले आफ्नो एजेण्डा बनाएको संयोजक घिमिरेले जानकारी दिए । जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि पनि स्थानीयले पहल गर्ने भएका छन् । सुरुमा ज्ञापनपत्रमार्फत स्थानीय समस्याका बारेमा जिल्ला प्रशासनलगायत सरोकारका विकासे अड्डाको ध्यानाकर्षण गराउने योजना समितिको छ । मागको सुनुवाई नभएमा दबाबका चरणबद्ध कार्यक्रम अघि बढाउने जानकारी घिमिरेले दिए । उनले निर्धारित समयमै संविधान निर्माणका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्, संविधानसभा र सकारको ध्यनाकर्षण गराउने पनि बताए ।
सुवर्णपुर गाउँ समिति अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा भएको भेलामा ठोरी, निर्मलवस्ती, सुवर्णपुर, महादेवपट्टी, सेढवा, शंकरसरैया, परसवा, पिडारीगुठी, बिजवनिया, जानकीटोला, जगरनाथपुर र घोडदौडपिप्राका समिति अध्यक्ष र स्थनीयको सहभागिता थियो 

SHARE THIS

Author:

Facebook Comment