'सत्य के हो भनेर बल्ल बुझ्दैछन'

–जनकमान डंगोल

कुनै पनि बिषयमा कलम चलाउनु भन्दा पहिला त्यो बिषयमा जानेर, बुझेर र भिजेर मात्र म पाठकहरु समक्ष आफ्नो बिचार प्रस्तुत गर्ने गर्छु । मैले आज सम्म जे जति लेख रचना विभिन्न छापाहरुमा प्रेषित गरे ति सबै देखिएका र भोगिएका घटनाहरु हुन । लेख पस्किँदा सम्पादकज्युहरुले भाषामा सम्पादन गर्नु त्यो पत्रकारिताको प्राबिधिक बिषयमा पर्लान तर मैले आज सम्म कुनै कपोकल्पित लेख रचना प्रिय पाठकहरु समक्ष पस्केको छैन ।
देखिएको सत्य र भोगिएको घटना कलम मार्फत पोख्दा म माथि यो त पुराना विचारधारा अंगाल्ने ब्यक्ति पो रहेछ भनेर सम्झिने पाठकहरु पनि हुनुहुन्छ तर सत्य भनेको सत्य नै हुन्छ भने मैले बंग्याएर कपोकल्पित लेख्दैमा त्यो कहिले पनि सत्य हुन सक्दैन ।
म जुन स्थानमा बसोबास गर्दैछु त्यो स्थान भनेको नेपालको चर्चित बामपन्थी घटकहरुले अड्डा जमाएको स्थान हो अर्थात नेपालको प्रथम औधोगिक नगरी हेटौंडा । आर्थिक देखि राजनीति सम्ममा महत्वपूर्ण स्थान ओगट्ने देसको प्रथम औधिगिक नगरीमा कल कारखाना भए पछि मजदुर राजनीति नहुने कुरै भएन भने नेपालको राजनीति पार्टीका नेताहरुले राजनीति गर्न चाहिएने मुख्य अस्त्र भनेको नै पहिलोमा मजदुर पर्दछ भने अन्य तपसिलमा पर्दै जाने कुरा हो ।
लामो समयको बिदेसमा रोजगार गएर बिदेसलाई सदाको लागि त्याग्दै आफ्नो गृहनगरीमा आए पश्चात मैले मुलुकको राजनीतिलाई औल्याउदै मेरा केहि परम मित्रहरु सित छलफल गर्ने मौका पाएको थिए । त्यहि छलफलको केहि अंस आज यो आलेखमा पस्किने जमर्को गरेको छु ।
मेरा सानै देखिका एकजना बालसखा थापा मगर थरिका छन । उनले युवावस्थामा लाग्ना साथ अर्थात ३५/३६ सालमानै नेपालको पुरानो ऐतिहासिक पार्टी नेपाली कांग्रेसको संस्थापक नेता बि.पी कोईरालाको 'प्रजातन्त्र तथा समाजवाद'बाट प्रभावित भएर नेपालि कांग्रेस पार्टीको सदस्यता लिएका रहेछन । लिथो पेपरमा छापिएको नेपाली कांग्रेसको सदस्यता मित्रले हरदम गोजामा बोकेर हिड्ने गर्थे । २०३६ साल देखिनै पार्टीको काममा खटिनेमा हाम्रो वडाबाट उनि दोश्रो नम्बरमा पर्दथे भने अन्य ब्यक्तिहरु चर्चामा आउन त्यति रुचाउदैन थिए ।
अत्याधिक बामपन्थी देखि राजतन्त्रबादी समेतको दह्रो पकड रहेको मकवानपुर जिल्लामा नेपाली कांग्रेस पार्टीको संगठन बिस्तारमा एकलव्य जस्तै बनेका ति मेरा बालसखा २०४६ सालको परिवर्तन देखि २०६२ सम्म कांग्रेस पार्टीमा सक्रियरुपमा कार्यरत थिए । कांग्रेस पार्टीको दिन प्रतिदिनको गलत क्रियाकलाप सहन नसकेर ति मित्रले अकस्मात नेपाली कांग्रेस पार्टी परित्याग गर्दै परिवर्तनको लागी अग्रगामी छलांग भन्दै क्रान्तिको नारा घंकाउँदै तथाकथित जनयुद्ध लडेको माओबादी पार्टीलाई समर्थन गर्न पुगे र मित्र हाल सम्म पनि माओबादी पार्टीमा आबद्ध छन ।
आज बिहान अर्थात मिति २०७१ चैत्र १५ गते प्रात: भ्रमणको क्रममा निस्कँदा ति मित्र संग चिया पसलमा भेट भयो । मित्र चिया पसलमा सिगरेटको कस लाउँदै मोवाईलमा स्थानीय एफ.एम रेडियो सुन्दै रैछन । मलाई देख्ना साथ बोलाएर चिया पिउने आग्रह गरे । मित्रको आग्रहलाई नाई नास्ती गर्ने कुरा पनि भएन ।
मित्र र म चियाको चुस्की लिंदै थियौ वडाकै तामांग थरिका दाज्यु पनि चियाको चुस्किलाई साथ दिन आई पुग्नु भयो । ति दाज्यु आज भन्दा केहि बर्ष अगाडी सम्म अर्थात राजनीतिक ग्रहण लागेर बन्द नहुन्जेल सम्म देशकै सबै भन्दा ठुलो कारखाना हेटौडा कपडा उधोगको बस चालकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
रेडियोमा समाचार बज्दाबज्दै 'एमाओबादी पार्टीको अध्यक्ष कामरेड प्रचण्ड' भन्ने स्वर सुन्ना साथ अचानक ति मेरा मित्रले मोबाईलमा बज्दै गरेको रेडियो नै बन्द गरि दिए । मैले रेडियो किन बन्द गरेको मित्र भन्ना साथ 'बिहान बिहान यस्ता जनघाती नेताको आवाज सुन्यो भने दिनभर लोद्धर लाग्छ यार' भनेर जवाफ दिए । मैले आफु पनि माओबादी पार्टीको सिपाही हैन र अनि सबै माओबादी पार्टी एकै हो नि भनेर सोधे तर मित्रले हैन म अहिले संस्थापन पार्टीमा नभएर ड्यास पार्टीमा छु भने ।
मैले हिजो देखि आज सम्मको राजनीतिलाई देखाउंदै हिजो कपडा उधोगमा चालकको काम गर्ने दाज्युलाइ सोधे 'नढाटिकन भन्नुस त दाई तपाईलाई हिजो रोजगार दिने पंचायती ब्यबस्था ठिक रैछ कि तपाईहरुको पेटमा लात हान्ने प्रजातन्त्र देखिको लोकतन्त्र ठिक रैछ' ? चालक दाज्युले भन्नु भयो हामि श्रम गरि खानेको लागी त 'पंचायत' नै ठिक रैछ भाई । हेरन पंचायती कालमा नाफामा गएर बोनस खुवाको हाम्रो कपडा कारखानामा चरम राजनीति गरेर अन्त्यमा कारखानानै सदाको लागि नउठ्ने गरि ध्वस्त बनाई दियो । त्यसो भन्दा चालक दाज्युको अनुहारमा सारै नै पिडा झल्केको देखिन्थ्यो ।
बाल सखालाई पुन: सोधे दाईको कुरा त सुनी हाल्यौ ल अब भन कुन चैँ ब्यबस्था ठिक रैछ त साथी ? साथीले जवाफ दिए देसमा परिवर्तन ल्याउला भनेर सानै देखि कांग्रेसमा लागियो यार । कांग्रेसले पनि १६ बर्ष सम्म केहि लछारोपाटो लाएन त्यहि भएर निरास भएर जनयुद्ध लड्ने पार्टीलाई समर्थन गरे । जनयुद्ध लड्ने पार्टी पनि 'एकै खेतका मुला' परेछन । म त देसको राजनीति देखेर निरास भई सके । हिजो वाकस्वतन्त्रता नभए पनि यो भन्दा बरु एकदलीय निरंकुस पंचायती सासन नै देस र जनताको लागी सुहाउँदो रहेछ ।

प्रकाशित मितिः२०७१ चैत्र १९ गते बिहीवार..

SHARE THIS

Author:

Facebook Comment