छात्रवृत्तिको सदुपयोग गरियोस्

– सन्तोषकुमार मिश्र
विद्या आर्जन गर्नेलाई विद्यार्थी भनिन्छ । विद्या आर्जन गर्ने अवसर सबैले समान रुपले पाउनु पर्दछ । शिक्षा पाउनु सबैको अधिकार हो । सबैकालागि शिक्षा दिनु सरकारको कर्तव्य हो । आर्थिक अभावका कारण कतिपय मानिस शिक्षाबाट वन्चित हुन सक्दछन् । शिक्षाबाट कोही बन्चित नहुन भनेर निजी र सरकारी क्षेत्रबाट विद्यार्थीहरूलाई नि:शुल्क शिक्षाको प्रबन्ध मिलाइएको हुन्छ । विद्यार्थीलाई विनाशुल्क प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयमा पढ्ने अवसर दिनुलाई छात्रवृत्ति भनिन्छ । जेहेन्दार प्रतिभाशाली विद्यार्थी र गरीब, असहाय, पिछडिएका, सिमान्तकृत वर्गका विद्यार्थीहरूलाई नेपालमा पनि विगत लामो समयदेखि सरकारी र निजी क्षेत्रबाट उपलब्ध गराउँदै आएको पाइन्छ । नेपालमा अध्ययनरत विद्यार्थीहरूलाई विदेशी राष्ट्रहरूले पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । छात्रवृत्ति पाएर पढ्ने विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । विभिन्न विद्यालय, महाविद्यालय, सरकार, विभिन्न संघ संस्था र विभिन्न व्यक्तिहरूले छात्रवृत्तिको व्यवस्था गरेका छन् । वर्तमानमा शिक्षा शुल्क निकै महंगो हुँदै गएको छ । बहुसंख्यक नेपाली जनताहरू महंगो शिक्षा शुल्क तिरेर आफ्ना छोराछोरीलाई पढाउन सक्ने अवस्थामा छैनन् । नि:शुल्क शिक्षाको व्यवस्था छैन । सबैलाई छात्रवृत्तिको अवसर प्राप्त भएको पनि छैन । उपलब्ध छात्रवृत्ति वितरणमा धाँधली हुने गरेको छ । छात्रवृत्ति वितरणमा धाँधली गर्ने, विदेशी राष्ट्रले उपलब्ध गराएको छात्रवृत्ति रकम लिएर बिक्री गर्ने, जस्कालागि छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हो उसकालागि उपलब्ध नगराएर पहुँचवाला व्यक्तिहरूले आफ्ना छोरा छोरीहरूलाई उपलब्ध गराउने, जेहेन्दार विद्यार्थीकालागि अन्तर्राष्ट्रिय क्षेत्रबाट उपलब्ध छात्रवृत्तिमा आफ्ना नालायक छोराछोरी पठाउने नैतिकहीन परिपाटी छ । प्रत्येक वर्ष शिक्षा मन्त्रालयले छात्रवृत्ति वितरणमा धाँधली, पक्षपात र विभेद गरेको सुनिन्छ । छात्रवृत्तिको दुरुपयोग हुँदै आएको छ । राजदूतावासहरूले पार्टीले दिएको सिफारिशका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति रहेसम्म छात्रवृत्तिको दुरुपयोग रोक्न सकिंदैन ।
कोलम्बो प्लान अन्तर्गत पञ्चायतकालमा नेपालका धेरै विद्यार्थीहरूले धेरै विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका थिए । अहिले पनि छाधत्रवृध्त्ति पाएर थुप्रै विद्यार्थीहरू विश्वका विभिन्न राष्ट्रमा अध्ययन गरिरहेका छन् । व्यवस्था परिवर्तनकालागि लडिरहेका राजनीतिक दलका नेताहरूलाई चीन, भारत, अमेरिका, वेलायत, रसिया, जापान, कोरिया आदि मुलुकहरूले छात्रवृत्तिको केही कोटा दिंदै आएका थिए । विदेशीले दिएको छात्रवृत्तिको कोटा कबेचेर पार्टी संचालन र नेताको भातभान्छा चल्ने गरेको पनि सुनिएको र देखिएको थियो । विदेशबाट छात्रवृत्ति आउने क्रम जारी छ । त्रिभुवन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयकबाट सम्बन्धन प्राप्त गरेका कलेज क्याम्पसहरूले पनि गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । निजी विद्यालय र क्याम्पसहरूले पनि गरिब र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । कतिपय व्यक्ति र संघसंस्थाले छात्रवृत्तिको व्यवस्था गरेर निकै पूण्यको काम गरेका छन् ।
छात्रवृत्तिलाई कसैले पनि दया, माया, निगाहका रुपमा हेर्नु हुँदैन । छात्रवृत्तिलाई अनुदान मान्न सकिन्छ । छात्रवृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीले आफूलाई भाग्यशाली नै ठान्नु पर्दछ । छात्रवृत्ति पाएर अध्ययन गरेका विद्यार्थीहरूले आफ्नो देशभक्ति र मानवसेवालाई कदापि भुल्नु हुँदैन । छात्रवृत्ति दिंदा विद्यार्थीको उचित मूल्यांकन गरिनु पर्दछ । छात्रवृत्ति वितरण गर्दा पक्षपात, विभेद, धाँधली, घुस लिने काम गर्नु गम्भीर अपराध हो । सबै विद्यालय, क्याम्पस, कलेजहरूले छात्रवृत्तिको व्यवस्था गर्नु पर्दछ । छात्रवृत्तिको अवसरले विद्यार्थीहरूलाई प्रोत्साहन र संरक्षण गर्दछ । प्रतिभावान परिक्षामा विशिष्ट श्रेणी हासिल गर्ने, दयनीय आर्थिक अवस्थाका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने सिलसिलाले विद्यार्थीलाई हौसला बढ्दछ । प्रतिभावान विद्यार्थीकालागि छात्रवृत्तिले जीवन बदल्न ठूलो मद्दत गर्दछ ।
गरिबको छोराछोरीको भलाईकालागि भनेर विभिन्न मित्रराष्ट्रहरूले नेपाल सरकारलाई छात्रवृत्ति दिने गरेको छ । मित्रराष्ट्र भारतले वार्षिक १२५ जना नेपाली विद्यार्थीलाई दिंदै आएको छात्रवृत्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणमा २५० अर्थात दोब्बर गर्ने घोषणा गरिएको थियो । नेपालस्थित भारतीय राजदूतावासले राजनीतिक दलहरुले दिएको सिफारिशको आधारमा छात्रवृत्ति गर्नु उचित हुनै सक्दैन । राजदूतावासहरूले छात्रवृत्ति नेपाल सरकार शिक्षा मन्त्रालयलाई उपलब्ध गराउने र शिक्षा मन्त्रालयले उचित तवरले विद्यार्थीहरूकालागि छुट्याइएको छात्रवृत्ति राजनीतिक दलका नेताहरूले आÇना सन्तानलाई वितरण गराउन लगाउने गलत प्रवृत्ति अब दोहोरिनु हुँदैन । नेताका छोरा–छोरी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारीलाई मात्र छात्रवृत्ति वितरण गरिने हो भने छात्रवृत्ति प्रथा नै बन्द गरिनु पर्दछ । छात्रवृत्तिको सही सदुपयोग हुनु नै पर्दछ । अहिले छात्रवृत्ति दिने होडवाजी नै चलेको छ । २५ वर्षको इतिहास हेर्ने हो भने आजसम्म सरकार छात्रवृत्ति विवादमा पर्दै आएको छ । नेपालले कुन चाहिं गरिबको जेहेन्दार छोराछोरीले मित्र राष्ट्रले दिएको छात्रवृत्तिको सदुपयोग गर्न पाएका छन ? भन्ने प्रश्न तेर्साउँदै स्वतन्त्र र खाँटीकुरो विचारधारा बोकेका जनकमान डंगोल फेसबुकमा लेख्छन्, ‘नेकपा एमालेबाट पटक–पटक मन्त्री हुन सफल भएकी विद्या देवी भण्डारीकी छोरी के गरीब वर्गमा पर्छिन् ?, भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा छात्रवृत्ति पाएर एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईकी छोरी विद्यावारिधि गर्न गएकी छिन् ।’ नेपालका पार्टीका नेताहरू दरिद्र मानसिकताका र नैतिकहीन छन् भनेर दोहोर्‍याइरहनु पर्दैन होला । छात्रवृत्ति वितरणमा हुने पक्षपात र धाँधली रोकिन्छ भनेर विश्वास गरिहाल्न पनि सकिंदैन । गरिब, असहाय, जेहेन्दार, पिछडिएका वर्ग, दलित, शहिदका छोराछोरीलाई छात्रवृत्ति दिने नीति रहनु पर्दछ । व्यक्तिगत स्वार्थ, सोचाई एवं राजनीतिक गन्धले छात्रवृत्तिको दुरुपयोग भइरहेको छ ।
गुरुजन तथा आफ्ना पथप्रदर्शक, अभिभावकहरूको नियन्त्रणमा रहेर नियमवद्ध जीवन यापन गर्नु नै अनुशासन हो । वर्तमान शिक्षा पद्धति परिवर्तनशील छ । विद्यार्थीहरूमा अनुशासन, नैतिकता, चरित्र, व्यवहारिक ज्ञान कायम नगरेसम्म देशको कल्याण हुन सक्दैन । विद्यार्थीको क्षमता, रुचि, तह, स्तर र आवश्यकता हेरी मूल्याड्ढन गर्नु पर्दछ । कक्षा कार्य परियोजना कार्य, समूह कार्य, गृहकार्य लिखित परीक्षा आदि तरिकाबाट निरन्तर मूल्याड्ढन गरिनु पर्दछ । विद्यालय विद्यार्थीहरूकालागि मन्दिर हो । नेपालमा संस्थागत रुपमा २००७ सालपछि मात्र सर्वसाधारणले शिक्षा आर्जन गर्ने अवसर प्राप्त भएको हो । अहिले मुलुकभर प्रतिस्पर्धाका साथ विद्यालय, महाविद्यालय संचालन भइरहेका छन् । नीजि क्षेत्रले शिक्षामा व्यापारिकरण गर्‍यो, शिक्षा शुल्क बढायो भनेर विद्यार्थीहरू डराइरहेका छन् ।

(प्रकाशित मितीः२०७१ मंसिर २५ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment