प्रधानमन्त्री कोइरालाद्वारा वरिष्ठ प्रहरी अधिकृत सम्मेलनको उदघाटन

काठमाडौँ, मंसिर २५ गते
सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित विशेष समारोहमा वरिष्ठ प्रहरी अधिकृत सम्मेलन २०७१ को पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभयो ।

यसअघि सम्माननीय प्रधानमन्त्री कोइराला प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा बरिष्ठ प्रहरी अधिकृतहरुले उहाँको हार्दिक स्वागत गर्नुभएको थियो । प्रहरी प्रधान कार्यालय प्रवेशपछि सम्माननीय प्रधानमन्त्री कोइरालालाई नेपाल प्रहरीको एक टुकडीले सम्मान सलामी अर्पण गरेको थियो भने तत्पश्चात सम्माननीय प्रधानमन्त्री कोइरालाले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

उदघाटन समारोहमा सम्माननीय प्रधानमन्त्री कोइरालाले हाल मुलुकमा ठूलो परिवर्तन आएको चर्चा गर्नुहुँदै बदलिएको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राखी अपराध रोकथाम तथा नियन्त्रण गर्न आफूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा नेपाल प्रहरीले गर्न लागेको सम्मेलन अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकको हकअधिकार सुनिश्चित गरी कानूनको पालना तथा मानवअधिकारको संरक्षण गर्दै आगाडि बढ्न प्रहरीलाई आग्रह गर्नुहुँदै उहाँले परिवर्तित अवस्थामा मुलुकमा अनुशासनको ठूलो आवश्यकता रहेको हुँदा नेपाल प्रहरीले समाजमा अनुशासनको उच्चतम उदाहरण दिई प्रस्तुत हुनसमेत निर्देशन दिनुभयो ।

सुरक्षा निकायमध्ये नेपाल प्रहरी पहिलो पंक्तिमा रहने भएकोले नागरिक समाजको संवेदनशीलतालाई बुझेर काम गर्नुपर्ने चर्चा गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री कोइरालाले संगठनको चेन अफ कमाण्डलाई सदैव कायम राख्दै कामकर्तव्यको पालनाको शिलसिलामा देखिएका कमीकमजोरी पत्ता लगाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । वर्तमान अवस्थाका चुनौतिहरुमध्ये सवारी दुर्घटना अत्यन्तै संवेदनशील देखिएकोले त्यसको निर्मुलीकरणतर्फ कडाईकासाथ लाग्नसमेत उहाँले निर्देशन दिनुभयो ।

समारोहमा माननीय उप–प्रधान तथा गृहमन्त्री बामदेव गौतमले सम्मेलनबाट निस्केका निष्र्कषहरु सान्दर्भिक एवं उपयुक्त हुने र त्यसबाट नेपाल प्रहरीमा विद्यमान कमी कमजोरीहरुको समीक्षा हुने उल्लेख गर्नुभयो । यसबाट सुधारका उपायहरु अवलम्बन गर्ने र नेपाल प्रहरीलाई भावी दिनका योजना तर्जुमा गर्न थप उर्जा प्राप्त हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । माननीय गृहमन्त्री गौतमले सम्मेलनबाट प्राप्त सुझाव, सिफारिस र निर्णयहरुको कार्यान्वयन गरी व्यवहारमा उतार्नको लागि आवश्यक पर्ने स्रोतसाधन जुटाउन गृह मन्त्रालयको सदैव सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनुपराज शर्माले नेपाल प्रहरी मानवअधिकारको संरक्षण एवं सम्र्बद्धनमा संवेदनशील रहँदै आएको चर्चा गर्नुहुँदै नागरिकको हकअधिकारको रक्षककोरुपमा प्रहरी रहनुपर्ने बताउनुभयो । सम्मेलनले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बिचारसमेत उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रधान सेनापति महारथी गौरवशम्शेर जबराले नेपाल प्रहरीले स्थापनाकालदेखि देशमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा खेलेको भूमिका, त्याग र बलिदानको सराहना गर्नुहुँदै वर्तमान अवस्थामा चुनौतिकोरुपमा देखिएको संगठित तथा अन्तरदेशीय अपराधकाविरुद्ध लड्न सबै सुरक्षा निकायले उपलब्ध साधनस्रोत र अनुभव एकआपसमा आदानप्रदान गरी एकजुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवालले संगठनको हितको पहिचान गरी काम गर्न प्रत्येक प्रहरी कर्मचारीहरुलाई आग्रह गर्नुहुँदै नागरिकमुखी प्रहरी सेवा दिन संगठनले अङगीकार गरेका विभिन्न रचनात्मक कृयाकलापहरुले प्रहरी सेवालाई प्रभावकारी बनाए पनि त्यसमा सुधार गर्नुपर्ने क्षेत्रहरु अझै थुप्रै रहेकोसमेत बताउनुभयो । सम्मेलनका छलफल र निष्कर्षहरुले संगठनात्मक सुधारका क्षेत्रहरु पहिल्याउँदै संगठनलाई गतिशिल बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनमा हुने छलफलले सुरक्षा तथा अपराध अनुसन्धानतर्फ देखिएका चुनौतिको बिश्लेषण र पहिचान हुने र त्यस्ता चुनौतिको सामना गर्न के–कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने सम्बन्धमा निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । मुलुक संविधान निर्माणको अवस्थामा रहेको हुँदा शान्ति सुरक्षामा पर्ने प्रभावप्रति प्रहरी संगठन व्यावसायिक सक्षमताकासाथ प्रस्तुत हुने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले सम्मेलनसम्बन्धी जानकारी दिनुका साथै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म संचालन हुने सम्मेलनमा प्रहरी संगठनका भावी चुनौतीहरु तथा सांगठनिक सुधारका रणनीतिहरुलगायतका विषयमा छलफल एवं अपराध नियन्त्रण तथा अनुसन्धानको वर्तमान अवस्था, चुनौती र संस्थागत सुधारका क्षेत्रहरुसम्बन्धी कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

श्रोतः नेपाल पुलिस फेसबुक पेज

SHARE THIS

Author:

Facebook Comment