पर्सा जिल्लाको ठोरी गाविस, पर्यटकीय आकर्षणको गन्तव्य बन्दै

वीरगन्ज/
पर्सा जिल्लाको ठोरी गाविस , पर्यटकीय आकर्षणको गन्तव्यस्थल बन्दै गएको छ । ठोरीमा गर्मी छल्न र रमणीय प्राकृतिक दृश्य हेरेर मनोरञ्जन लिन पर्यटकहरु आउने गरेका छन् ।  ठोरी गाविसमा रहेको धार्नी र ब्यारेक खोलाको दोभानमा हालसालै निर्मित झोलुङ्गे पुल र वडा नम्बर ९ तालखोलको रानीवनमा निर्माण गरिएको पिकनीक स्थलले पनि आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरेको स्थानीय बासिन्दाले बताएका छन् । ठोरीको वडा नम्बर ७ टाउन प्लानमा रहेको राई धारा, सेतो पर्वत, अमृत धारा, वडा नम्बर ५ मा रहेको गोले डाँडा, वडा नम्बर २ मा रहेको सिनेही पर्वत हेर्न पर्यटकहरु आउने गरेका छन् । सीता गुफा, बनशक्तीमाइको मन्दिर, कृष्ण मन्दिर र सिद्धेश्वर महादेव मन्दिर घुम्न र दर्शन गर्न धार्मिक पर्यटकहरु पनि उत्तिकै संख्यामा आउने गरेको स्थानीयवासीको भनाई छ । तराईको मिनी उपत्यकाको रुपमा चिनीएको ठोरीमा गर्मी मौसममा विशेष गरेर भारतिय पर्यटकहरु गर्मी छल्न र रमणीय दृष्य हेर्नका लागि आउने गरेको स्थानीय युवक गणेश सापकोटाले बताउनुभयो । पर्यटकिय पूर्वाधार निर्माणसँगै गाविसमा बाह्य तथा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । पर्यटन विकास बोर्ड मार्फत ४ लाख रुपियाको लागतमा रानीवनमा आठ वटा सिटिङ चियर र एउटा गोल घर निर्माण गरिएको छ । ठोरी गाविसको वडा नं ६ को तिनघरेमा रहेको धार्नी खोला र व्यारेक खोलाको दोभानमा  स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा झोलुङगे पुल निर्माण भएपछि ठोरीमा दैनिक १ हजार भन्दा बढी भारतिय पर्यटक मात्रै आउने गरेको स्थानीय लक्षु अधिकारीले बताउनुभयो । प्रचार प्रसार र सम्बन्धित निकायले चासो नदिएकोले ठोरी अझै ओझेलमा परेको उहाँको गुनासो छ । अंग्रेजी वर्षको जनवरी १ तारिखमा मात्रै ठोरी गाविसमा ५० हजारको हाराहारीमा भारतिय पर्यटक आएको स्थानीय शिक्षक अनन्त श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाविसको उत्तर तर्फ चितवन राष्ट्रिय निकुञ्जको चुरे पहाड, दक्षिण र पश्चिम तर्फ सुमेरु पर्वत र पूर्वतर्फ सेतु पहाडले घेरेकोले ठोरी गाविसलाई मिनी उपत्यका भन्ने गरिएको सहकर्मी प्रेम लामाले जनाएका छन् ।

SHARE THIS

Author:

Facebook Comment