रौतहट /
रौतहटको गैडाटारमा अढाई महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदै जिल्ला जनस्वास्थ्य कार्यालयले गाँउबाट शिविर हटाएको छ । हेल्थ असिस्टेन्ट सञ्जिव मण्डलको नेतृत्वमा रहेको ६ जना स्वास्थ्यकर्मीको टोलीलाई फिर्ता बोलाईएको हो । सुरुमा चन्द्र निगाहापुर अस्पतालका चिकित्सक टोलीले उपचार सुरु गरेको भएपनि झाडापखाला नियन्त्रणमा आउन नसकेपछि जनस्वाथ्यले मण्डलको नेतृत्वमा हेल्थ असिस्टेन्ट त्रिपुरारी राउत, सिनियर अहेब रामबाबु चौधरी, अहेब राजाराम राउत, नजाम हुसेन सहितको टोली खटाएर गैडाटारमै शिविर सञ्चालन गरेको थियो ।
दुषित पानीका कारण झाडापखाला फैलिएपन राज्यले शुद्ध खानेपानी वितरण गर्न नगरेपछि झाडापखाला पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको चिकित्सकहरुले बताएका छन् । लाखौं रकम झाडापखाला नियन्त्रणका लागि खर्च भएको र बजेट अभावकै कारण शिविर हटाईएको जनस्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य प्रमुख राजकिशोर पण्डितले जानकारी दिनुभयो ।
उहाँले पहिलाको तुलनामा झाडापखालाको विरामीको संख्या पनि घटेको दावी गर्नुभयो । तर पछिल्लो समयमा शिविरमा झाडापखालासँगै ज्वरोको विरामी उपचारमा आउने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आज मात्रै झाडापखालाका ५ जना र ज्वरोका ३ जना विरामीको उपचार गरिएको शिविर ईन्चार्ज हेल्थ असिस्टेन्ट सञ्जिव मण्डलले बताउनुभयो ।
गैटाटारमा रहेका ९ सय घरधुरीका १५ सय ७७ जना झाडापखालाको महामारीबाट प्रभावित भई शिविरमा उपचार गराएर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।