पर्सामा अयोग्य नक्कली डाक्टरको विगविगी अनुमति नलिई अवैध क्लिनिक सञ्चालन

वीरगन्ज, ३२ असार /

पर्साको उत्तरी भेगको ग्रामिण बजारमा भारतीय नक्कली चिकित्सकले अनुमतीविना स्वास्थय क्लिनिक सञ्चालन गर्ने गरेका छन् । बढनिहार, मनवा, रंगपुर, श्रीपुरपँचगावा लगायत क्षेत्रमा नक्कली र अयोग्य डाक्टरहरूले अनुमतीविना क्लिनिक चलाउँदा विरामीहरू मर्कामा परेका छन् । त्यस्ता चिकित्सकहरूले एउटा कोठे उपचार देखि घरमै पुगेर पनि विरामीहरूको उपचारमा संलग्न हुने गरेका स्थानियले बताएका छन् । यसैवीच पर्साको विरूवागुठी गाविस स्थित बढनिहार बजारमा एक नक्कली चिकित्सक फेला परेका छन् । भारतबाट मैट्रिक पास मात्र गरेका रिजवान अहमदले नक्कली डा. बनेर बढनिहार बजारमा शाह क्लिनिक सञ्चालन गरेका हुन् ।  अहमदको क्लिनिक अगाडि वोर्डमा डा. रिजवान अहमद (एच.एम .वि एस ,पटना) लेखिएको छ  । तर सर्टिफिकेट भने सो तह सम्मको नभएको पाईएको छ । साथै बोर्डमा डा. शोहराब अहमदको नाम उल्लेख गरिएको छ । चिकित्सकको पढाइ नपढेका रिजवानले फिजिसियन र जेनरल सर्जन पनि लेखेर स्वास्थ्य सेवा दिईरहेका छन् । अहमदले लामो समय देखि सोझासाझा विरामीलाई ठग्दै आएको स्थानीयले आरोप लगाएका छन् । स्थायी घर भारत विहार बताउने अहमद पर्साको परशुरामपुर गाउँमा बस्ने गरेका छन् । डा. रिजवान लेख्ने अहमदले सबै किसिमको रोग निको पार्न सक्ने दावी गर्दै आएका छन् । ३ वर्ष अघि गलत उपचारका कारण बढनिहारको एक विरामीको ज्यान गएपछि केही महिना भारत तर्फ भागेका रिजवान पुन: बढनिहारमै फर्केको बुझीएको छ । बढनिहार बजारमा क्लिनिक सञ्चालन गर्ने अन्य ४ जना पनि अभ्यासकै भरमा औषधी पसल खोलेर विरामीको उपचार गरिरहेको स्रोत बताएको छ । योग्यता विना किन काम गरेको भनी प्रश्न गर्दा अहमदले कुनै प्रतिक्रिया दिन चाहेनन्  ।

SHARE THIS

Author:

Facebook Comment