लक्ष्यअनुसार राजश्व संकलन गर्न सकिएन
क्राइमचेक प्रतिनिधि/
वीरगंज/मुलुककै प्रमुख राजश्व संकलन कार्यालयको रुपमास्थापित वीरगंज भन्सार कार्यालय नेपाली काँग्रेस र एमाले गठबन्धनको सरकारको चक्रव्युहमा परेर गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
आव २०७०/७१ मा वीरगंज भन्सारले तोकिएको लक्ष्यभन्दा कम ९८ दशमलव १४ प्रतिशत राजस्वमात्र संकलन भएको जनाएको छ । गत आवमा सो कार्यालयलाई ७९ अर्ब ३२ करोड २७ लाख ८४ हजार रुपैंया संकलन गर्ने लक्ष्य रहेकोमा यसमा १ दशमलव ८४ प्रतिशतले कमी आएर ७७ अर्ब ८४ करोड ३६ लाख ९ हजार रुपैंया संकलन भएको हो ।
गत आवमा वीरगंज भन्सारले मूल्य अभिवृद्धि करतर्फ ३३ अर्ब ४४ करोड २५ लाख ९७ हजार रुपैंयाको लक्ष्य तोकिएकोमा सो मा १ दशमलव २ प्रतिशतले वृद्धि भएर ३३ अर्ब ७८ करोड ३० लाख ७८ हजार रुपैंया राजस्व संकलन भएको छ । त्यस्तै अन्त:शुल्कतर्फ १४ अर्ब १ करोड ४८ लाख ९५ हजार रुपैंयाको लक्ष्य तोकिएकोमा यसमा शून्य दशमलव २४ प्रतिशतले वृद्धि भएर १४ अर्ब ४ करोड ७८ लाख ३५ हजार राजस्व संकलन भएको छ । त्यसैगरि भन्सारतर्फ ३१ अर्ब ८६ करोड ५२ लाख ९२ हजार रुपैंया संकलन गर्ने लक्ष्य राखेकोमा यसमा ६ प्रतिशतले कमी आएर जम्मा ३० अर्ब १ करोड २६ लाख ९६ हजार रुपैंया संकलन भएको छ । त्यस्तै अन्यतर्फ गरेर १ अर्ब ५० करोड २७ लाख ८६ हजार संकलन भएको छ । यसरी तोकिएको भन्दा कम राजस्व संकलन हुनुमा तोकिएको लक्ष्य सीमाभन्दा बढी भएकोले सो अनुरुप पूरा हुन नसकेको वीरगंज भन्सार कार्यालयले बताएको छ ।
पछिल्लो आवको एकवर्षको अवधिमा तोकिएको लक्ष्यभन्दा १७ दशमलव ४२ प्रतिशत बढी राजस्व संकलन भएको थियो । आव २०७०/०७१ मा वीरगञ्ज भन्सारलाई ५७ अर्ब ८ करोड ३६ लाख ३ हजार रुपैंया लक्ष्य तोकिएकोमा यसमा १७ दशमलव ४२ प्रतिशतले
वृद्धि भएर ६७ अर्ब ८७ करोड ८ लाख ७४ हजार रुपैंया संकलन भएको थियो । गत आवमा वीरगञ्ज भन्सार हुदैं भारत तथा तेश्रो देशबाट आयात भएका प्रमुख मालवस्तुहरुमा जीप, कार र भ्यान, एलपिग्यास, हाईस्पिड डिजेल, मोटर साईकल, जर्दा खैनी, मोटरको ब्याट्री, ट्रक र मिनी ट्रक, चकलेट र पेट्रोल आदि रहेको छ ।
जब–जब देशमा काँग्रेंसको सरकार बन्दछ तब तब कालोबजारी र तस्करी गर्नेहरु प्रशन्न हुने गर्दछन् । काँग्रेसको सरकार गठन भए लगत्तै तस्करहरुको गढ मानिएको पर्सा जिल्लामा रहेको वीरगंज भन्सारमा राखिएको सशस्त्र प्रहरीको टीमलाई हटाइएको छ । तबदेखि वीरगञ्ज भन्सारको राजस्व असुलीमा पनि निकै गिरावट आएको तथ्याङकबाटै प्रष्ट हुन्छ । भन्सार प्रमुखको संलग्नतामै वीरगंजको भन्सार नाकाबाट तस्करी मौलाएको कारण भ्रष्टाचारीहरू मोटाउँदै गएको र राजश्व संकलनको चार्ट ओरालो लाग्दै गएको जानकारहरू बताउँछन् ।
घुस्याहा र रकमकोलागि मरिहत्ते गर्ने व्यक्ति भनेर चिनिने गृहमन्त्री बामदेव गौतमका पार्टी एमाले सम्बद्ध कतिपय सभासद तथा केन्द्रियस्तरका नेता समेतको दुइनम्बरी तथा तस्करी धन्दामा भन्सारमा परिचालित सशस्त्र प्रहरीले समय–समयमा खुट्टा अड्काउने गरेका कारण काँग्रेस–एमालेको गठबन्धनको सरकार गठन भएलगत्तै वीरगंज भन्सारबाट सशस्त्र प्रहरीलाई हटाएर तस्करीको बाटोलाई खुल्ला गरिएको बताइन्छ । भन्सार राजश्व चुहावटकालागि परिचालित सशस्त्र प्रहरीको टोलिलाई जिम्मेवारीबाट मुक्त गरिएदेखि हालसम्म भन्सार पास भएर छुटेका ट्रक पटक–पटक गरी करोडौं रुपैयाँको अवैध अर्थात तस्करीको सामान जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर मध्यमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला गराइसकेको छ ।
प्रकाशित मिति: २०७१ साउन ८ गते बिहीवार
Nepalese Rupee Exchange Rate