अहिलेसम्मकै भारी मात्रामा चरेश बरामद

 वीरगञ्ज, श्रावण–१५
पर्सा प्रहरीले भारी मात्रामा अवैध लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट फरार अभियुक्त पक्राउ तथा लागु औषध कारोबार नियन्त्रण एवं पक्राउकोलागि जारी गरिएको विशेष अभियान अन्तर्गत बुधवार राती प्रहरी निरीक्षक वरुण सिंहको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले २७० किलो ग्राम अवैध चरेश सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले दिनुभएको जानकारी अनुसार पथलैयातर्फबाट वीरगंज आउँदै गरेको ना.३.ख ९१५० नम्बरको ट्रक पर्साको लिपनीविर्ता गाविस वडा नं. ५ स्थित बाटोमा रोकी खान तलासी गर्दा ट्रकको चालक बस्ने क्याबिन भित्रको माथिल्लो भागमा ५ फिट आठ इन्च लम्बाई र ५ फिट दुई ईन्चको प्लाइउड तथा कार्पेटले ठोकी फल्स बटम बनाई सो भित्र विभिन्न प्लाष्टिकको पोका तथा बोरामा उक्त परिमाणको अवैध लागुु औषध चरेश बरामद गरेको हो ।
उक्त चरेस भारततर्फ बिक्रीको लागि लाँदै गरेको अवस्थामा फेला पारी साथमा ट्रकका चालक मकवानपुर काँकडा–४ घर भई हाल मनहरी –३ रमनटार बस्ने रामबहादृर विक को छोरा २५ वर्षीय अमोद कुमार विश्वकर्मा, सोही ट्रकमा सवार रहेका मकवानपुर मनहरी–३ बिजौना बस्ने वुद्धि बहादुर तमाङ्गको छोरा १७ वर्षीय विजय तामाङ्ग र चितवन जिल्लाको भरतपुर न.पा. १० बस्ने पूर्ण बहादुर तामाङ्गको छोरा रामबहादुर तामाङ्ग समेतलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सिंहले बताए ।
पक्राउ परेका तीनैजना र बरामद चरेश र ट्रकसमेतलाई आफ्नो नियन्त्रणमा राखेर जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरी सिंहले बताए ।
यस अघि आर्थिक वर्ष २०७०÷०७१मा जिल्ला प्रहरी कार्यालय पर्साले पटक पटक गरी दुई सय ७१ किलो ७० ग्राम चरेस सहित २२ जना पुरुष र एकजना महिलालाई पक्राउ गरेको थियो भने एकैचोटीमा २७० किलोको परिमाणमा बरामद गरिएको यो पहिलो पटक हो ।


SHARE THIS

Author:

Facebook Comment