ट्रिपरको ठक्करबाट दुई जना ठहरै


क्राइमचेक प्रतिनिधि/
वीरगंज/सरकारले साउन १ गतेदेखि गिट्टीबालुवा निकासिमा रोक लगाउने भएपछि असारको अन्तिम गिट्टी बोल्डर लिन तीव्र गतिमा कुदाइएको एक ट्रिपरले टेम्पोलाई ठक्कर दिंदा दुई जनाले घटनास्थलमै ज्यान गुमाएका छन् ।
वीरगंजको वाइपास सडक खण्डको नगवा पोखरी नजिक ट्रकले टेम्पोलाई ठक्करदिँदा टेम्पोमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ । ६ जना घाइते
भएका छन् । जसमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । आज विहान रक्सौलबाट वीरगंज तर्फ आउँदै गरेको ना १ ह ४३२ नम्वरको टेम्पोलाइ ट्रकले ठक्कर दिँदा टेम्पो चालक नगवाका ३४ वर्षिय मन्सुर देवान र भारत आन्ध्र प्रदेश पथरैया पाराका ८ बर्षिय बालकको घटना स्थलमै ज्यान गएको हो । ठक्कर दिएर फरार भएको ट्रिपरलाई प्रहरीले बाराको सिमराबाट नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट गइरहेको ना ३ ख ९१४ नम्वरको ट्रकमा रगतै रगत लागेकाले शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ठक्कर दिए लगत्तै चालकले तिव्र गतिमा ट्रिपक चलाएर भागेका थिए । ठक्कर बाट घाइते हुनेहरुमा सर्लाही इश्वरपुरा ६ का श्रीनारायण माझी, दयाल माझी, रामचन्द्र माझी यसैगरी झगुरी माझी, भारत मोतिहारी खुटुवापिप्राका इश्वरचन्द्र साह र भारत आन्ध्रप्रदेश बगरगन्जका रामजी राय रहेको पर्सा प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये रामजी रायको अवस्था गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ । यसैबी घटनाको विरोधमा टेम्पो व्यवसायी र स्थानियबासिन्दाले वाइपास सडक खण्डमा केही बेर यातायात बन्द समेत गराएका थिए । टेम्पो चालक, पिडीत परिवार र प्रहरी प्रशासनबीचको छलफल पछि पुन: यातायात सुचारु भएको थियो ।
म्याद गुज्रेको, थोत्रो, सबै कण्डिसनमा काम नलाग्ने टेम्पो वीरगंज शहरमा प्रशासनको मिलेमतोमा संचालन भइरहेको र ती ट्याम्पोहरूले क्षमताभन्दा बढी यात्रु ओसार्ने गरेको कारण पनि यस किसिमको दुर्घटनाले निरन्तरता पाएको स्थानीयहरूको भनाइ रहेको छ ।
उता सिन्धुलीमा ठक्कर दिएर भागेको ट्रकलाई पनि प्रहरीले वीरगंजबाट नियन्त्रणमा लिएको छ । नगवामा भएको दुर्घटनास्थलमा ट्रकका सहचालकले सिन्धुलिमा आफ्नो ट्रकले पनि ठक्कर दिएर भागेको भन्ने जानकारी दिए पछि ना ४ ख ९१४ नम्वरको ट्रक प्रहरीले ड्राइपोर्ट सिर्सिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment