कनिके बजेट–बिम्मी शर्मा



हाम्री आमाले घरमा भएका चराचुरुँगीलाई संधैजसो कनिका बाँड्नुहुन्छ । ती चराचुरुँगीहरु चिरबिर गर्दै कनिका खान पाएर दँग पर्थे आमा पनि तिनीहरुलाई हेरेर दँग पर्नुहुन्थ्यो । यसपाली हाम्रा अर्थमन्त्री महत काकालेपनि त्यसै गरेछन् । काका महतपनि चरा जस्ता रातदिन चिरबिर गरेर हैरान पार्ने जनतालाई कनिका छरेर तृप्त भएका छन् । तर भोकाएका जनता विकास र आयोजनाका नाममा काका महतले छरेको कनिकाबाट फिटिक्कै खुशी छैनन् । बाठाटाठा काका महतले कनिकामा लुकेर रहेका केही सग्ला सग्ला दानालाई आफ्नो गृहजिल्लामा मज्जाले छरेका छन् अरे झ् अब आफ्ना जिल्लाका जनता पो जनताको उनले थोडै ठेक्का लिएकाछन् । तिनीहरु सब गईल भैंस पानी मे ।
   महत काका सबैलाई खुशी पार्न र बराबरी बाँड्न खप्पिस छन् । त्यही भएर त प्रिय सभासदहरुलाई ५ करोड विकास खर्चको नाउमा बाँड्न चाहेका थिए । तर बिचराले सकेनन् र पो १ करोड रुपैंया दिएर चित्त बुझाएछन् । बाँकीको ४ करोड अर्को वर्षको कनिके बजेटबाट दिने होला नी ? आफ्नो खल्तिबाट दिनुछैन, कनिका बाँड्नकालागि बाउबाजेको जेथापनि बेच्नु छैन अनि सरकारी पेवालाई मेवा सरह आफुपनि खान्छन् र अरुलाईपनि खुवाउंछन् महत काका ।
  महत काकाले अर्थशास्त्रमा पिएचडी गरेकाछन् के त्यो देश बनाउनकालागि हो र ? उनी त आफुपनि बन्ने र आफ्ना आसेपासेहरुलाई पनि बनाउनकालागि ६, ६ पल्ट अर्थमन्त्री बनेका हुन् । नत्र ६, ६ चोटी अर्थमन्त्री भएर बजेट पेश गरिसकेका काका महतले किन देशलाई उँभो लगाउन सकेनन् त ? कुनै दुरगामी योजना बिना ल्याइएको यस्तो बजेटले काका महत जस्तलाई मात्र फलिफप गर्दछ देशको हैन । महत या अरु कुनैपनि नेता मन्त्री बन्नेपनि आफ्नै लागि हो देश र जनताकालागि हैन ।
    यो देशको राजधानीमा रहेको सिहंदरवार नेता र मन्त्रीहरुकालागि अस्पताल जस्तै हो । जहाँ यी जन्मजात पदका भोका र शरीरको नशा नशामा धोका टाँसिएका “नेता रोगीहरुले” बजेटको स्लाईनपानीले आफुलाई हरेकवर्ष तन्दुरुस्त पार्दै आएकाछन् । जनता भने आर्यघाट जस्ता सरकारी अस्पतालमा स्लाईन् पानी नपाएर घिटघिट गर्दैछन् । छरेको कनिका चूच्चोमा हाल्न पाउने चरा भाग्यमानी हुन्छन् त्यहीभएर चरा जस्तो विदेश शयर गर्ने नेताहरुले मात्र यो छरिएको  कनिका खान पाईरहेकाछन् ।
    काका महतले यसपालीको बजेटमा १० लाख युवाहरुलाई स्वयम्सेवकको रुपमा परिचालित गरिने भनेर भनेकाछन् । कति हाँस्नु हौ उनको यो बजेटमा गरिएको उटपट्यागँ हर्कतले । न देशमा युवाको संख्या १० लाख छ न तिनीहरुलाई स्वयमसेवकका रुपमा परिचालित नै गर्न सकिन्छ । अब काका महत कै उमेरका मान्छेहरुले कपालमा कालो दलेर युवा बने मात्र हो । भएकाजति सबै युवा त खाडी मुलुकमा बालु चाल्न गईसकेका छन् अब देशको कनिका चाल्ने त ५० कटेका अधँवैशेहरुले नै हो । गाउंघर खालिभएर चिहान बन्दैछन्, मरेपछि कात्रोभन्दापनि मलामी नपाईने चिन्ताले बाँचेकाहरु काल टार्न खोज्दैछन् । त्यही भएर होला गाउँबस्ती सुनसान चिहान जस्तो देखेर नै क्रिश्चियनहरुले आफ्नो धर्मको प्रचार गरेर सबैलाई ईसाई बनाउन खोजेका । ईसाई धर्ममा नै मरेपछि गाड्न चिहान चाहिने हो । जे होस काका महतले यसपालिको बजेटबाट ६ खर्ब रुपैंया भन्दा बढीको कनिका छर्नसम्म छरेकाछन् अब क–कसको मुखमा त्यो कनिकाको दाना कतिवटा पर्यो त्यसको लोखाजोखा हुंदैगर्ला ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment