यदि साँच्चै कोही महिलासंग बोक्सीको अचूक मन्त्र हुनेभए ती महिला गाउंमा त्यस्तो गरिबीमा पक्कै बस्थेनन् होला ? आफुसंग भएको तथाकथित बोक्सी मन्त्रले सुखी, सम्पन्न र सुरक्षित भएर आनन्दसित जीवन बिताउंथे होलान् ? तर हैन समाजका केही टाठाबाठा जसमा महिलापनि सामेलछन्, एउटी गरिब, असहाय र एकल महिला जो आफ्नो बनिबुतो गरेर बाँचेका हुन्छन् तीनको नाममा भएको केही धुर वा कठ्ठा जग्गामा ऱ्याल चुहाउंछन् र अनेक तिकडम गरेर त्यो जग्गा हतियाउंछन् ।
.......
असार १ गते साँझ पर्साको मिर्जापुरमा फेरि एउटी महिला बोक्सीको निहुंमा निर्घात कुटिईन् । त्यहाँकी स्थानीय ३५ वर्षीया सीतादेवीलाई उनकै छिमेकीले कुटपिट गरेका हुन् । छिमेक वा आफ्ना ईष्टमित्रको घरमा कोही बिरामी पर्दा (विशेषगरि कसैको बच्चा बिरामी हुंदा ) वा केही अनिष्ट हुंदा नजिकै बस्ने एकल, विधवा र गरिब महिलालाई त्यसको कारण मान्दै निर्घात कुटपिट गरेर थातथलोबाट उठिवास लगाईन्छ । यसरी एउटी गरीब र असहाय महिलाले नखाएको विष पनि वमन गर्दै बोक्सीको आरोप खेप्नु पर्दछ ।
मधेशमा पट्क पट्क महिलामाथि हुने क्रूर अमानवीय घट्ना दोहोरिन्छन् । केही दिन यो समस्या माथि चर्चा, परिचर्चा हुन्छ, प्रशासन तात्दछ प्रहरीले पनि पीडकलाई पक्राउ गर्दछ । तर फेरि केही दिन पछि हामी फेरि उही क्रूर समाचार सुन्न, लेख्न र पढ्न बाध्य पारिन्छौं । बारम्बार सिमान्तकृत वर्गका ती महिलाहरु नै किन बोक्सीको निहुंमा आफ्नो थातथलोबाट लखेटिन्छन् ? सरकार आदिवासी, जन जाति र महिलालाई आरक्षण दिएको भनेर चिच्याउंछ उता सुदुर गाउंघरमा महिला दैनिकजसो बलात्कार र बोक्सी जस्तो अमानवीय घटनाको शिकार भएर ज्यान फालिरहेकाछन् ।
कसैको घरमा केही अनिष्ट वा तलमाथि हुने बित्तिकै छिमेकका एकल, बिधवा र गरिब महिलालाई यसको तारो बनाईन्छ । अरुलाई तथाकथित बोक्सीको मारण मन्त्रले मार्ने महिलाले आफुलाई लछार पछार पारेर गाउंबाट निकाल्दासम्म चूप लागेर पक्कै बस्थेनन् होला । गत वर्ष साउन २२ गते पर्साको बिश्रामपुरबाट बोक्सीको आरोप लगाएर त्यहाँबाट लखेटिएकी ५० वर्षीया सरस्वती देवीले बडो मार्मिक र तर्कपूर्ण कुरा गर्दै भोजपुरीमा भनेकि थिईन् ‘यदि म साँच्चीकै बोक्सी भएकि भए मलाई त्यत्रो चरम यातना दिउन्जेल म चूप लागेर बस्थे हँुंला ? मपनि तीनलाई त्यही ठहरै पार्थिन र ?’ तर अशिक्षित, एकल, बिधवा त्यसमाथि गरिब उनको कुरा कसले सुन्ने ?
पर्साकै सुपौलीकी पार्वती देवी चौधरीको आफ्नै नातेदारले बोक्सीको आरोप लगाएर मरणासन्न हुने गरी कुटेपछि उनको मृत्यु भएको थियो । महिलालाई कति सजिलैसित बोक्सीको आरोप लगाईन्छ अनि मानव मलमूत्र मुखमा कोचेर गाउं निकाला गरिन्छ । पूरै टोल र समाज त्यो अमानवीय दृश्यलाई टुलुटुलु हेरेर बस्छ । सबैभन्दा अचम्मको कुरा पुरुषहरु पूजारी, धामी, झाँक्री र तान्त्रिक हुन्छन् अनि महिला चाँही तीनै पुरुषद्वारा तथाकथित तन्त्र मन्त्रले उपचार गरिने ? के बोक्सी भनेको महिलामात्रै हुन्छन् ? अशिक्षित कहिल्यै स्कुल नटेकेका गरिब महिलाहरुले त्यो तथाकथित बोक्सीको मन्त्र कसरी पढे वा बुझे होलान ?
पर्सामा बोक्सी आरोपित विभिन्न महिलाको सामाजिक स्थिति हेर्दा एउटा कुरा प्रष्ट हुन्छ बलियाले जहिलेपनि निर्धालाई हेप्छन् । चाहे ती सरस्वती देवी हुन् या पार्वतीदेवी सबै अत्यन्त गरिब र एकल महिला हुन् । मधेशी समाजमा अहिले पनि छोरीलाई अर्काको घरमा बिहा गरेर जाने भएकोले सम्पतिको वारिश ठानिन्दैन । छोरी बिहा गरेर गएपछि ती एकल महिलाका देवर, जेठाजुका सन्तानले उनको सम्पतिमा आफ्नो हकदावि गर्न खोज्छन् । अझ ती छोरी बिहा गरेर अर्काको घर गईसकेपछि बाउ आमाको खेत र सम्पतिमा जेठाजु, देवर र उनको सन्तानको हक लाग्ने ठानिन्छ ।
ती गरिब र एकल महिलाले बनिबुतो गरेर जोडेको खेतमा उनका नातेदारको गिद्धे आँखा लाग्दछ जसलाई हतियाउन ती महिलालाई बोक्सीको आरोप लगाउने र गाउंबाट लखेट्ने । सरस्वतीदेवीलाईपनि यही कारणले बोक्सीको आरोप लगाइएको थियो । तीनवर्षअघि ससुरापनि बितेपछि गांउका पटिदारहरुको आँखा सरस्वतीदेवीको दुई कठ्ठा जमिनमा पर्यो । उनी भन्छिन् ‘मेरो जमिन हतियाउनका लागि यो सबै प्रपञ्च गरिएको हो ।’
मधेशका महिलाहरुको अनुहारबाट घुम्टो केही हटेपनि उनीहरुमाथि हुने हिंसा घटेको छैन । बलात्कारपछि महिलामाथि हुने दोस्रो अत्याचार बोक्सीको आरोप लगाउनु नै हो । कसैको छोराछोरी बिरामी पर्नुमा ती महिलाको के दोष छ र ? अझ मधेशमा त बिधवा र कुनैपनि कारणले सन्तान जन्माउन नसकेकी महिलाई ‘बाँझ’ भनेर हेला गरिन्छ । बिहान सबेरै त्यस्ता महिला अगाडि पर्दा बाटो छल्ने र आफ्ना ेदिन आज नराम्रो बित्ने भनेर छिमेकी र आफन्तहरु फतफताउन थाल्छन् । अझ महिलालाई मानसिक यातना दिनेमा महिला नै बढी देखिएकाछन् । घरमा सासु, जेठानी देवरानी र नन्द जो स्वयम आफुपनि महिला नै हुन अन्य महिलालाई यातना दिइराखेका हुन्छन् ।
यदि साँच्चै कोही महिलासंग बोक्सीको अचूक मन्त्र हुनेभए ती महिला गाउंमा त्यस्तो गरिबीमा पक्कै बस्थेनन् होला ? आफुसंग भएको तथाकथित बोक्सी मन्त्रले सुखी, सम्पन्न र सुरक्षित भएर आनन्दसित जीवन बिताउंथे होलान् ? तर हैन समाजका केही टाठाबाठा जसमा महिलापनि सामेलछन्, एउटी गरिब, असहाय र एकल महिला जो आफ्नो बनिबुतो गरेर बाँचेका हुन्छन् तीनको नाममा भएको केही धुर वा कठ्ठा जग्गामा ऱ्याल चुहाउंछन् र अनेक तिकडम गरेर त्यो जग्गा हतियाउंछन् । मधेशी समाज अहिलेपनि अशिक्षा र अन्धबिश्वासको जालोमा कैद छ । एउटी असहाय महिलालाई बोक्सी भनेर चोर औंला देखाएर सिगों समाज भेडा जस्तो तिनमाथि जाईलाग्छ । पुरुषवादी हैकममा बाँचेको समाज मा एकल, बृद्ध र गरिब महिला बोक्सी, अलच्छिनी र बाँझको उपनामले ‘सुसज्जित’ हुन्छन् । अनि पुरुषहरु चाँही ती सोझासाझामाथि शासन गर्ने समाजका ठालू, पञ्च, तान्त्रिक, धामी र झाँकी भएर समाजमा समान्नित हुन्छन् । के पुरुष त्यो तथाकथित बोक्सी हुन सक्दैनन् ? के महिलाले मात्र आफ्नो पुर्पुरोमा बोक्सीको आरोप सहनुपर्ने लेखाएर ल्याएका हुन्छन् र ?
प्रकाशित मिति:२०७१ असार २६ गते