काठमाडौं/नेपाली पत्रकार सुरेन्द्र फुँयालविरुद्ध फिलिपिनी महिला चीन (चरिना) काब्रिडोले दायर गरेको सम्वन्ध विच्छेद, घरेलु हिंसा लगायतका मुद्दा काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । काब्रिडोले आफू र बीबीसीमा कार्यत पत्रकार फुँयालबीच केहि वर्षअघि ‘लीभ–इन’ सम्बन्ध रहेको लगायतका दाबीहरू गर्दै फुयालविरुद्ध ती मुद्दा दायर गरेकी थिइन् ।
न्यायाधीश नारायणप्रसाद श्रेष्ठको इजलासले ती मुद्दामा माग दाबी नपुगेको ठहर गर्दै गत असार १८ गते बुधबार खारेज गरिदिएको एक अधिवक्तले बताएका छन् । सो अदालतले काब्रिडोविरुद्ध फुयाँलले दायर गरेका गालि बेइज्जती, अदालतको अवहेलना तथा विद्युतीय अपराधका मुद्दाहरु पनि माग दाबी नपुगेको भन्दै खारेज गरेको उनले बताए ।
फुयालका तर्फबाट अधिवक्ता नरेन्द्र पाठक, रन्जित ढुंगेल र मनिका खड्काले बहस गरेका थिए भने काब्रिडोका तर्फबाट अधिवक्तता रमेश कोइराला लगायतले बहस गरेका थिए । केहि महिनाअघि काब्रिडोविरुद्ध इन्टरनेट, इमेल र सामाजिक सञ्जालको लगातार चरम दुरुपयोग गरेको भन्दै किटानी जाहेरिहरू परेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । उनलाई अदालतले १५ दिनपछि १५ हजार रुपैंया धरौटीमा छोडेको थियो । धरौटीमा रिहा भएपछि उनले विदेशबाटै पुन: सामाजिक सञ्जालको दुरुपयोग गरी हाकाहाकी अनर्गल प्रचारबाजी गर्दै नेपाल र नेपाल प्रहरीका इमान्दार अधिकृतको बदनाम गर्ने काम गरेको प्रहरीका अधकारीहरूले जनाएका छन् ।
पत्रकार फुयालले ती विदेशी महिला सञ्चार क्षेत्रकी आफ्नो पूर्वमित्र मात्र रहेकी तर उनको विवाहको प्रस्ताव अस्वीकार गर्दा आफूले, आफ्ना परिवारजन र साथीभाइले इन्टरनेट मार्फत वर्षौ–वर्षम्म चरम यातना तथा प्रताडना सहनु परेको र आफूमाथि घोर अन्याय भएकोले क्याब्रिडो बिरुद्ध एकपछि अर्का मुद्दाहरू दायर गरेको उनका निकटहरूले बताएका थिए । अहिले ती सबै मुद्दाहरू किनारा लागेपनि फुयाल, उनको परिवारजन, साथीभाइ बिरूद्ध इन्टरनेटमार्फत ती फिलिपिनो महिलाले अनेक नक्कली नामबाट चरम दुर्वयवहार, यातना, अश्लिलता, गालीबेइज्जती र हत्या समेत गर्न धम्की र अत्याचारका डिजिटल प्रमाणहरू इन्टरनेटका खोजीकर्ताहरूले अझै पनि फेसबुक र गुगलमार्फत गैरकानूनी नक्कली वेबसाइटहरूमा जस्ताको तस्तै भेट्टाउन सक्ने ति अधिवक्ताको भनाई छ ।
अत्यन्त अभद्र र अश्लिल सामग्रीले भरिएका ती गैरकानूनी वेबसाइटहरू फिलिपिन्सको मनिला र अन्य देशका आइपी एड्रेसबाट खोलेको स्पष्ट देखिन्छ । थाहा भए अनुसार काब्रिडो अविवाहित रहेको प्रष्ट हुने उनकै देशको नोटरी पब्लिकद्वारा प्रमाणित कागज अदालत पुगेको थियो । यस अघि केहि वर्षघि काब्रिडोले आफ्ना फिलिपिनो प्रेमीविरुद्ध मनिलामा मुद्दा दायर गरेको थाहा भएको छ । त्यो मुद्दा जितेर उनले फिलिपिनो युवकलाई ठूलो रकम हर्जाना तिराउन सफल भएकी थिइन् । श्रोत:हाम्राकुरा
प्रकाशित मिति:२०७१ असार २६ गते