भारतीय विदेशमन्त्री सुष्मा स्वराज आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमाणकालागि आवश्यक पर्ने वातावरण मिलाएर फर्कनु भएको छ । बोलीमा जतिसुकैभनिएपनि नेपाल–भारत सम्बन्धमा थुप्रै अविश्वास र समस्या छन् । द्विपक्षीय सम्बन्ध सुदृढ छैन । जनस्तरमा भने नेपाली जनता र भारतीय जनताबीच सौहार्दपूर्ण सम्बन्ध छ । भारतीय विस्तारवादी नीति, हेपाहा प्रवृत्तिबाट नेपाल अशान्त र अक्रान्त छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २३ वर्षपछि नेपाल–भारत सम्बन्धमा विस्तृत छलफल गर्न साउन १८ गते तीन दिने औपचारिक भ्रमण काठमाण्डौमा हुँदैछ । यस पटकको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा नेपाल–भारत सम्बन्धमा विद्यमान सबैखाले तगारा, समस्या, अविश्वास, असमान व्यवहारको हल हुने र नयाँ मैत्रीपूर्ण सम्बन्धको सुरुवात हुने अपेक्षा गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा साउन १९ गते व्यवस्थापिका संसदको बैठकलाई संवोधन गर्ने भएका छन् । यसलाई अति महत्त्वपूर्ण रुपमा नेपाली जनताले हेरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाली संसदमा गरेको संवोधनले सबै समस्या र अविस्वास सुल्झिन पनि सक्दछ, थप अविश्वास बल्झिन पनि सक्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण ऐतिहासिक पनि बन्न सक्दछ, अति विवादास्पद पनि बन्न सक्दछ । हिन्दूवादी नेता मोदी कति सत्यवादी र उदारवादी छन् त्यसैमा भ्रमण चुनौती र अवर निर्भर गर्दछ । आजसम्म नेपाल–भारतबीच जे–जस्ता द्विपक्षीय हितलाई भनिएर गरिएको सम्झौता छन् ती सबै नेपालको आम सहमतिमा होइन, आम नेपालीलाई झुक्याएर निहीत स्वार्थी सरकार र राजनीतिक पार्टीलाई रिझाएर बल/छलपूर्वक गरिएका छन् । सम्पूर्ण असमान सन्धि सम्झौताको पुनरावलोकन गरी समयानूकुल द्विपक्षीय समान हितलाई व्यवहारमा नल्याएसम्म भारतीय प्रधानमन्त्रीले जति पटक नेपाल भ्रमण गरेपनि समस्या समाधान भई सम्बन्ध सुदृढ हुन सक्दैन । अहिले अति चर्चामा आएको, भारतले सम्झौताकालागि पठाएको मस्यौदाका सम्बन्धमा राजनीतिक दल, विशेषज्ञहरूसँगको छलफल र परामर्शपछि मात्र अनितम रुप नदिने हो भने त्यो सम्झौता राष्ट्रघाती हुनेछ । ऊर्जासम्बन्धी संझौतामा सत्तापक्ष, विपक्ष, संसदको दुई तिहाई समर्थन चाहिन्छ । विवादास्पद मस्यौदामा व्यापक संशोधन गरिनु पर्दछ । थांति रहेका सबै विषयवस्तुमा स्पष्ट भई निक्र्यौल नभएसम्म भारतसँग मोदीका भ्रमणका क्रममा कुनै पनि सम्झौता गरिनु हुँदैन । विरोधकालागि विरोध गर्ने परिपाटीले नेपाल–भारतबीचको सम्बन्ध कदापि हुन सक्दैन । द्विपक्षीय हितका लागि हुने सम्झौता पारदर्शी र पंचशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय मान्यता अनुरुप हुनु पर्दछ । नून, रोटी, बेटीको भावनामा बगेर भारतको हेपाहा नीति र गलत प्रवृत्तिमा आधारित रहेर गरिने सम्झौताले अबका दिनमा नेपाल र भारतलाई हित गर्दैन । वर्तमान संसार निकै जटिल बन्दै गइरहेको छ । भारतका शत्रुहरू नेपालका मित्रहरू बनेका छन् । नेपालको विकास निर्माणमा हात हाल्न विश्वभरिका देश सक्रिय भएका छन् । भारतले नेपालको विकास निर्माणमा एकलौटी हक कायम गर्न खोज्दछ भने त्यो अवैध र समय सापेक्ष नहुन सक्दछ । मोदीको नेपाल भ्रमणले तय गर्नुपर्ने सम्बन्धको यात्रा भनेको यथास्थितिको सम्बन्धमा क्रमभंग गर्नु हो । नेपालमा उत्पादित जलविद्युत भारतमा मात्र नभएर चीन र बंगलादेशसम्म पुगोस भन्ने भारतीय धारणा र नीति सार्वजनिक हो । अब उप्रान्त भारतले नेपालको राजनीतिमा चलखेल गर्दैन, नेपालाई आवश्यक वाञ्छित सहयोग मात्र गर्दछ भन्ने कुरामा दृढ अभिव्यक्ति के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिन सक्छन् ? नेपालको आन्तरिक मामिलामा कुनै कुरा नगरी नयाँ भिजन दिन के मोदीले सक्छन् ? नेपाललाई भारतले धेरै सहयोग गरेको छ तर भारतको विदेश नीति, काठमाण्डौस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको नकारात्मक भूमिकाले नेपाल–भारत सम्बन्धमा असर पर्दै आएको हो । नेपाल–भारतबीच आर्थिक कुटनीति र द्विपक्षीय हितमा सहकार्य गर्न जरुरी छ । भारतले अब उप्रान्त नेपालमा भारतीयकरणको खेल छाड्नु पर्छ । तब मात्र असल छिमेकी सम्बन्ध कायम हुन्छ ।
भारतले सीमा अतिक्रमण कार्य अबिलम्ब छाडेर नेपाल–भमारत सीमा समस्यालाई जतिसक्दो छिटो राजनीतिक र कूटनीतिक तवरमा टुंग्याउनु पर्दछ । नेपाल–भारत १७०० किलोमिटर खुल्ला सीमानामा भारतले समीमावर्ती क्षेत्रमा तैनाथ गरेको ठूलो संख्याको एस.एस.बी.बाट नेपालका सीमावर्ती क्षेत्रका जनतामाथि हुँदै आएको ज्यादति अविलम्ब रोकिनु पर्दछ । नेपाल भारतबीचको व्यापार घाटा कम गराइनु पर्दछ । भारतले यसअघि गरेका संझौताका असमान बुंदा हटाएर अविश्वास मेटाउन समान र सम्मानजनक व्यवहार गर्नु पर्दछ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण “हात्ती आयो फुस्सा” नहोस् । नेपालको विकासमा कोशेढुङ्गा
साबित होस् । उल्लेखनीय विद्युत व्यापार सम्झौता होस् । हतारमा गर्ने पछि पछुताउने काम कहिं कतैबाट नहोस् ।
प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार
Nepalese Rupee Exchange Rate