क्राइमचेक प्रतिनिधि
वीरगंज/ वित्तीय कारोबारमा छुट्टै पहिचान बनाएको नबिल बैंक अब सामाजिक कार्यमा पनि संलग्न हुन थालेको छ ।
सोहीक्रममा नबिल बैंकको वीरगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला कारागार पर्सा, बीरगंजमा रहेका बन्दीका बालबालिकाहरुको शैक्षिक सामाग्रीहरु जुटाउन कारागारभित्र अवस्थित समता शिक्षा निकेतनलाई वित्तीय सहयोग स्वरुप पचिस हजार रुपैंयाको चेक हस्तान्तरण गरेको छ ।
सो सहयोग नबिल बैंक लिमिटेडको शनिवार ३० औं बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले देश व्यापी रुपमा गरिरहेको संस्थागत समाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु मध्येको एक अंश स्वरुप प्रदान गरिएको शाखा प्रबन्धक विनय न्यौपानेले बताए ।
नबिल बैंक, बीरगंज शाखाका शाखा प्रबन्धक विनय न्यौपानेले समता शिक्षा निकेतन बीरगंजकी प्रधानाध्यापिका श्री रबिना खातुनलाई सो चेक हस्तान्तरण गर्दै सो विद्यालयले गर्दै आएको प्रशंसनीय कल्याणकारी कार्यको हिस्सा हुन पाएकोमा बैंकको तर्फबाट शुभकामना ब्यक्त गर्नुभयो ।
बीरगंज अवस्थित सो विद्यालयले ५ देखि १० बर्षका ८० जना बिद्यार्थीहरुलाई अत्यावश्यक आधारभूत शिक्षा प्रदान गर्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदाथित्व अन्तर्गत नबिल बैंक निरन्तर रुपमा शैक्षिक क्रियाकलापहरु, विज्ञान तथा प्रविधि, खेलकुद, स्वास्थ्य, साहित्य तथा कला जस्ता विभिन्न विधाहरुमा सामाजिक सहयोगको लागि प्रतिबद्ध रही आएको नबिल बैंकले जनाएको छ ।
Nepalese Rupee Exchange Rate