चट्याङ लागेर युवतीको मृत्यु


वीरगन्ज,
जेष्ठ /
पर्साको ठोरीमा शनिवार विहान परेको चट्याङ लागेर एक युवतीको ज्यान गएको छ । ठोरी गाविस वडा नम्बर १ रोजीनगरकी २० वर्षिया  युवती शर्मिला महतोको ज्यान गएको हो ।घर नजिककै बकाईनोको रुखमा परेको चट्याङले लागेर शर्मिला महत्तोको घटनास्थलमै मृत्यु भएको हो ।चटयाङले लागेर शर्मीलाका बुबा रामेश्वर महत्तो पनि केही बेर बेहोश भएका थिए । अहिले उनको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् । चट्याङ लागेर रामेश्वरका दुइ ओटा गोरु पनि लडेर अचेत भएका  थिए । चट्याङले शर्मिलाको टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
रोजीनगरका वृद्ध दम्पती धन बहादुर गुरुङ र माया गुरुङले आफनो सन्तान नभएका कारण चितवनको अयोध्यापुरी गाविस वडा नम्बर ९ बाँदरझुलाको सुकुम्बासी वस्तीमा बस्दै आएका रामेश्वर महतोकी छोरी शर्मिलालाई धर्मपुत्रीको रुपमा पालेका थिए । धन बहादर गुरुङको पहिलेनै मृत्यु भईसकेको र ७२ बर्षीया माया गुरुङलाई आफन्तले पोखराबाट लिन आएपछि माया गुरुङले ठोरीको जायजेथा  धर्मपुत्री शर्मिलालाई नै दिने निर्णय गर्नुभएको थियो । माया गुरुङ पोखरा आफन्तसँग जाने भएपछि घरायसी सामान लिन बाँदरझुलाबाट शर्मिलाका बुबा रामेश्वर गोरुगाडा लिएर ठोरी आएका थिए । र रामेश्वर महतोको ६ वटा छोरी मध्ये काँहिली छोरी शर्मिला ७२ बर्षीया माया गुरुङसँगै ठोरीमा बस्दै आएकी थिईन् । उनी नेपाल राष्ट्रिय उच्च मावि दीपकनगर ठोरीमा कक्षा १२ मा अध्यनरत थिइन् ।

SHARE THIS

Author:

Facebook Comment