नानुकी आमा– बिम्मी शर्मा

      केहीवर्षअघि रेडियोमा बज्ने एउटा श्याम्पुको विज्ञापनमा पतिले आफ्नी पत्नीलाई बोलाउन गरेको उपरोक्त सम्बोधनले मेरो ध्यान बेलाबेलामा तान्ने गरेको थियो । पतिकी ती पत्नी जन्मजात नानु की आमा नै हुन् कि उनका अभिभावकले उनको कुनै नाम पनि राखेका थिए । म सोच्न थाल्छु किन कुनै महिलाको स्वतन्त्र व्यक्तित्वलाई समाजले स्वीकार गर्दैन । संधैं बाबु र नानुकी आमा भएर नै उनको पहिचान छ, अझ फलानोकि स्वास्नी, ढिस्कानोकि दुलही भनेर नै बिबाह भएर आएको घरमा सबैले उनलाई चिन्छन् । नीता, गाीता, कविता, प्रतिमा केही त ती पत्नीको दर्जा पाएकी महिलाको नाम होला ? तर जहिलेपनि अर्काको नामले उनी चिनिन्छिन्, बिहापछि उनको नाम, थर र गोत्र सबै परिवर्तन हुन्छ । आफ्नोमात्र एकलौटी अधिकार भएको नाम जसलाई अरु सबैले प्रयोग गर्छन् जसबाट ऊ आफ्नो समाजमा चिनिएकी हुन्छे । त्यस्तो महत्वपूर्ण कुरा बिहापछि सजिलै परिवर्तन गरिन्छ, अचम्भको कुरा यसमा महिला आफैंले पनि आपत्ति जनाउँदिनन्, र कुनै महिलाले आपत्ति जनाउंँदैमा सुन्नेवाला पनि को छ र ?
जीवनको करिब एक चौथाई हिस्सा जन्मघरमा बिताएकी, एउटा शिक्षा र संस्कार पाएर हुर्केकी युवती बिहा हुनासाथ कसैकि पत्नी, बुहारी र भाउजू हुन्छिन् तर एक स्वतन्त्र अस्तित्व भएको मान्छे भने हुदिंनन् । बाल्यकालमा पिताको पुत्री र अलि ठूली भएपछि फलानाकि बहिनीको  नामले उनी चिनिन्छिन् । अझ दाजुभाइ दादा र गुण्डा चरित्रकाछन् भने उनी समाजका नकारात्मक तत्वबाट सुरक्षित ठानिन्छिन् । ती युवतीलाई कुनै केटाले छुने र जिस्काउने साहस गर्न सक्दैन । आफैंपनि ती महिला शिक्षित भएर आत्मनिर्भर हुनु साटो बुवा र दाजुभाइको सुरक्षाको खोल ओढेर बस्न रुचाउंछिन् । बिस्तारै आफ्नो स्वतन्त्र अस्तित्वलाई लोप गर्नमा महिला आफैं पनि पछि छैनन् । पुरुषवादी मानसिकताले नराम्ररी गाँजेको हाम्रो समाज बिस्तारै यसबाट निस्कन त खोजिरहेको छ तर त्यस्ता महिलाहरुको प्रतिशत ज्यादै न्यून छ । डाक्टरकी पत्नी स्वत: कुनै डिग्री बिना डाक्टरनी हुन्छिन्, त्यस्तै प्रोफेसर, पाइलट या अन्य कुनै पेशा अपनाएका पतिहरुकी पत्नी आफै पतिको ओहदामा पुग्छन्, त्यो पनि कुनै परिश्रम नगरेर नै ।
फर्सी, लौका या अन्य लहरादार बोटहरु जो कुनै थाक्रों र रुखको सहारा बिना हुर्किदैंनन । तीनलाई देखेपछि मनमा ग्लानीबोध हुनथाल्छ किनकि हाम्रो समाजमा महिलाहरुको स्थितिपनि यस्तै खालको छ । बिना पुरुषको सहारा र सहयोग बिना अगाडि बढ्नै नसक्ने । हो नारी र पुरुष एउटा रथका दुई पाँग्रा हुन्, तर यी पाग्रा एउटै साइज र गुणका भएमात्र गृहस्थी जीवनको गाडी सुखशान्तिको राजमार्गमा दौडिन सक्छ भन्ने हेक्का कसैले राखेको छैन । एउटा पाँग्रा टाँगा र अर्को साइकलको, एउटा पाँग्रा मोटरसाइकर र अर्को कारको त्यस्तै एउटा पाँग्रा ट्रक र अर्को पाँग्रा जिपको । अनि हँुंदैन सुखद गृहस्थी जीवन बिताउन चाहने राजमार्गमा बारम्बार दुर्घटना । तरपनि दुईवटा साइज र गुणको पाँग्रा हालेर जेनतेन गृहस्थी जीवनको गाडी चलाइ रहेका थुप्रै उदाहरण हाम्रा सामु नभएका होइनन् । तर त्यहाँ प्राय छोराछोरी र समाजको नाममा आमा या पत्नीले मनको बहलाई आफ्नो अन्तरकुन्तरमा लुकाईरहेकि हुन्छिन् । कतिपय आमाहरुले आफुले भोगेको पीडाबाट शिक्षा लिदैं आफ्ना छोरीहरुलाई स्वावलम्बी बनाएर आफ्नो नामले चिनिन प्रेरित गर्न चाहन्छन् । तर कति आमाहरु भने समाजको अन्धबिश्वासलाई मलजल गर्दै कुनै थाँक्रोको सहारा दिएर हुर्काउंछन् ।
बिभिन्न समारोह र कुनै अनौपचारिक कार्यक्रममा जांदा विवाहित पुरुषहरु आफ्नी पत्नीको बारेमा बताउंदा मेरी बुढीले यस्तो भनि र यस्तो गरी भनेर बयान गर्ने गर्छन् । आफु भने लक्का जवान पत्नी बिचरी त जन्मजात नै बुढी पो रहिंछन्, या हुनसक्छ ती पुरुषहरुले माया गरेर आफ्नाी पत्नीलाई त्यसो भनेका होलान् । नत्र बुढी भएकी पत्नी कसलाई पो मनपर्छ ? साथीभाइका माझ पत्नीको नामलिएर उनको कुरा गर्दा के नै बिग्रन्छ । पत्नीपनि एउटा स्वतन्त्र व्यक्तित्व हो भनेर पतिहरुले कहिले हेक्का राख्ने ? घर चिटिक्क पारेर राख्ने र बच्चा जन्माउने मेशिन जस्तो उनको बारेमा पतिहरु कुरा गर्दछन् । लाग्छ कुनै लेटेस्ट डिजाइनको मोबाइल वा ल्यापटप हुन पत्नी, उता पत्नी पतिले साथीभाइका माझ आफनो यतिपनि चर्चा गरिदिएकोमा कृतार्थ हुन पुग्छिन् । तर शिक्षित भएर राम्रो पदमा नौकरी गरेर मोटो रकम घर ल्याउने पत्नीहरु प्रति भक्तिभाव देखाउंदै पनि कुरा गर्छन् केही पतिहरु । बिचरा के गरुन पत्नी नोट बनाउने मेशिन या एटिएम मेशिन भएपछि अलि अलि प्रशँसा त गर्नै पर्योे बुढी सम्बोधन लगाएर भएपनि । आखिर पत्नी घरमा कुनै नाम नभएपनि बुढी र गृहलक्ष्मी त हुन नि झ्
पत्नीहरुपनि आफना साथी र इष्टमित्रहरुसंग कुराकानी गर्दा मेरो बुढाले यस्तो भन्नुभयो र यस्तो गर्नुभयो भन्छन् । तर पत्नीहरुलाई बाध्यता छ पतिको नाम लिएर कुरा गरे समाज र इष्टमित्रले नपचाउने त्यसैले मेरो बुढा र उहाँको सम्बोधन दिएर पतिको महिमागान गरिरहेका हुन्छन् । तर पतिलाई त्यस्तो कुनै बाध्यता छैन तरपनि पत्नीको नाम लिनुभन्दा बुढी र आफ्ना छोराछोरीको नामसित उसकि आमालाई सम्बोधन गर्न लाज मान्दैनन् । अझ दु:ख त त्योबेला लाग्छ जब पति महाशय पत्नीलाई तँ र तेरो सम्बोधन गरेर बोलाइरहेका हुन्छन् । पत्नी उहाँ, हजुर आइबक्सियोस् भन्ने आदरार्थी सम्बोधनले बोलाउंछन, तर पति भने ए, बुढी जा एककप चिया झट्टै बनाएर ल्या त  भन्छन् । पत्नी बिचरी कुद्दै गएर भान्साबाट एककप चिया बनाएर ल्याउंछिन् र पतिलाई टक्रयाउंछिन् । पति पनि आफ्नी पत्नीलाई साह्रै माया गरेर कपको जुठो चिया पत्नीलाई पनि घुटकाउन दिन्छन् । पत्नीपनि जुठो अमृत पिएर आफुलाई भाग्यमानी मान्छिन् । दाजु भाउजूको नामलाई सानो पारेर माया गरेर बोलाउनुहुन्छ तर त्यसकापछाडि लागेर आउने क्रियाहरु ल्या र गर् मा नै टुगिँन्छन् ।
बाल्यकालको एउटा रमाइलो कुराको चर्चा यहाँ गर्न चाहन्छु, मामा आफ्नी पत्नी अर्थात माइजूले आफ्नो औधीसेवा र माया गरोस् भन्ने चाहनुहन्थ्यो माईजूपनि मामाकै इच्छा अनुसार चल्नुमा नै आफ्नो जीवनको कल्याण हुने ठान्नुहुन्थयो । बिहान नुहाएर पूजा गरेपछि माईजू संधै मामाको खुट्टा धोएर त्यो पानी पिएपछि मात्र अरु चिज खानुहुन्थयो । एकदिन मामा बिहानै अफिस जानुभयो बिचरी माईजूले खुट्टाको पानी पिउन भ्याउनु भएन । दिउंसो तिर एउटा शिशीमा पानी राखेर र दाइलाई मामाको अफिस पठाउनु भयो । अनि त्यो पानी पिएपछि मात्र माइजुले खाना खानुभयो । यो घटनाले मलाई संधै घचघचाई रहन्छ । कुनै महिला शिक्षित या अशिक्षित जे भएपनि उनीप्रति गरिने सम्मानमा कटौति किन ? महिला अशिक्षित हुनुमा उनी भन्दा उनका अभिभावक र समाज दोषी छ जो उनलाई अन्धबिश्वासको जालोमा बेरेर राख्न चाहन्छ । घरबाट माया र सम्मान पाएको मान्छेले नै बाहिरपनि माया र सम्मान पाउंछ । पति नै आफ्नी पत्नीलाई माया र सम्मान दिदैंनन् भने उनको सन्तानले त्यसैको सिको गर्नेछन् । अनि एउटी महिला जीवनभरि नानु र बाबु कि आमा बन्दा बन्दै आफ्नो वास्तविक नामलाई नै बिर्सिनेछिन् । भन्न त हाम्रा धार्मिक ग्रन्थहरुमा जहाँ महिलाको सम्मान हुन्छ त्यहाँ देउता निवास गर्छन् भनिएको छ । तर नानुकि आमाको घरमा वा महिलाहरुको सम्मान नभएको घरमा को निवास गर्छ त्यो त थाहा भएन ।
प्रकाशित मितिः२०७१ असार ५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment