विजय कुशवाहा \
बीरगंज २० बैशाख ।
पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्यले संसदबाट आफूले पाउने पारिश्रमिक तथा तलब भत्ता वापतको रकम व्यक्तिगत रुपमा खर्च नगरी जगेडा कोष खडा गरेर आपतकालिन स्थितिमा वितरण गरिने घोषणा गर्नु भएको छ । तलब भत्ता वापत प्राप्त हुने मासिक ४० हजार भन्दा बढीको रकम नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यकर्ताहरुको भावना बमोजिम खर्च गर्ने समेत अमात्यले बताउनु भयो । आज वीरगंजमा सम्पन्न नेपाली कांग्रेस क्षेत्र नम्बर १ का बुथ सभापति, गाविस सभापति, नगर वडा समितिका सभापति, क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका सदस्य एवं कांग्रेसका वरिष्ठ नेता तथा कार्यकर्ताहरुको भेलामा सभासद अमात्यले संसदीय विकास कोषको रकम विकास निर्माणमा समेत पार्टीकै सिफारिसमा खर्च गरिने बताउनु भयो । उहांले पार्टी कार्यकर्ताहरुको सिफारिसमा संसदीय विकास कोषबाट प्राप्त हुने १० लाख र आफ्नो मासिक पारिश्रमिकबाट आउने रकम आपतकालिन दैविक प्रकोप, आगलागीका घटनाहरु, दलित, गरिव, असाहाय, अनाथलाई पार्टीकै सिफारिसमा वितरण गरिने समेत बताउनु भयो । नेपाली कांग्रेस पर्साका पूर्व सभापति समेत रहनु भएका अमात्यले पार्टी प्रति देखाउनु भएको त्यागले अन्य सभासद एवं पार्टी नेताहरुलाई सबक हुने नेपाली कांग्रेस पर्साका पूर्व उपाध्यक्ष दिना गुप्ताले बताउनु भयो । यसैविच सभासद अमात्यले आज पार्टी भेलामै २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनको क्रममा वीरगंजको घण्टाघर अगाडी भएको बम विस्फोटमा आंखा गुमाएकी अलौ गाविस ७ निवासी दुलारचन पटेलकी ७ बर्षिय छोरी मुन्नी कुमारी पटेलको आंखा उपचारका लागि ४१ हजार रुपैया सहयोग प्रदान गर्नु भएको छ ।