शंकास्पद प्रमाण पत्र भएका शिक्षकको तलब रोक्का

९ माघ : जिल्ला शिक्षा कार्यालयमा नक्कली शैक्षिक प्रमाण पत्र र शिक्षक अध्यापन अनुमति पत्र पेश गरेर नियुक्ति लिएका शंकास्पद शिक्षकहरुको तलब रोक्का गरिएको छ । तलब रोक्का गरिएकामा अधिकांश नक्कली शैक्षिक प्रमाण पत्र, नक्कली
शिक्षक अध्यापन अनुमती पत्र र दश महिने शिक्षण तालिम सम्बन्धी प्रमाण पत्र पेश गरेर नियुक्ति
लिएका शिक्षकहरु रहेका छन् ।  जिल्ला शिक्षा कार्यालयका अनुसार ७५ जना शिक्षकहरुसँग शिक्षक अध्यापन अनुमती पत्रसहितका प्रमाण पत्र पेश गर्न निर्देशन दिइएकोमा अहिलेसम्ममा जम्मा ४२ जनाले प्रमाण पत्र पेश गरेका छन् । बाँकीले प्रमाण पत्र पेश नगरेकाले उनीहरुको मंसिर र पुस महिनाको तलबवापतको रकम रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शैक्षिक प्रमाण पत्र नक्कली हुनेमा विशेषगरी राहत, पिसिएफ, अस्थायी, सट्टा शिक्षक रहेका छन् । जिल्ला शिक्षा अधिकारी हरिहरप्रसाद वस्तीले प्रमाण पेश गर्न नसक्ने शिक्षकहरुलाई तलब भुक्तानी रोक्का गरिएको जानकारी दिएका छन् । उनले शिक्षा विभागले अस्थायी शिक्षक अध्यापन अनुपत्र लिएर पनि स्थायी अध्यापन अनुमति पत्रको परिक्षामा सहभागी नभएका र सहभागी भएर पनि उतीर्ण नभएका २०६९ कात्तिक र त्यसअघिका सबै शिक्षकहरुलाई अवकाश दिन निर्देशन दिएको बताएका छन् । साथै शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गर्दै अस्थायी शिक्षक अध्यापन अनुमती पत्र लिएका शिक्षकहरुलाई माघ महिनादेखि लागू हुने गरी बर्खास्त गर्न समेत निर्देशन दिएको छ ।  पर्सा जिल्लाको नौवटै श्रोत केन्द्रहरुमा कार्यरत बढुवा नपाई माथिल्लो तहमा अध्यापन गराइ रहेका प्रधानाध्यापकलाई समेत शिक्षा विभागले प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गर्न निर्देशन दिइसकेको छ । तर जिल्ला शिक्षा कार्यालयले त्यस्ता प्रधानाध्यापकहरुलाई जिम्मेवारीबाट अझैसम्म मुक्त गरेको छैन । 

SHARE THIS

Author:

Facebook Comment