धमिरा र चाटुकार विनाशका दूत

धमिरालाई काठ अत्यन्तै मन पर्छ, झट्ट हेर्दा काठको भक्तिमा चुर्लुम्म डुवेको देखिन्छ । आफु बाहेक त्यो काठमा अरुको पहुँच नपुगोस भनेर काठको वरिपरि माटोले ढाक्ने गर्दछ । जव सम्पूर्णरुपले धमिरा काठमा व्याप्त हुन्छ, बहिरबाट काठको आकार त देखिन्छ काठ भने कतैबाट पनि देखिदैन । काठ प्रतिको यस्तो लगावले धमिरा काठभक्तिमा चुलुम्म डुवेको महशुस हुन्छ । यदि काठको चेतना हुँदो हो भने पक्कै त्यो काठ धमिराको आफु प्रतिको भक्तिले प्रसन्न हुँदो हो । धमिरको समर्पणको उच्चमूल्यांकन पनि गर्न बेर नलाउदो हो । चारै तर्फबाट ढाकिएकोले उसले बाहिर के छ कुनै अत्तो पत्तो त नपाउने नै भयो त्यसैले उसले संसार नै धमिरा रहेछ भन्ने पनि सोच्दो हो । तर, धमिराले गरेको भक्तिको अभिनय त्यो काठको समाप्ती हो । भित्र भित्रै खोक्रो पारेर काठको अन्त्य गर्ने धमिराको स्वभाव नै हो ।
चाटुकारहरुको स्वभाव पनि घमिराको स्वभावको सादृष्य नै हुन्छ भन्ने कुरा आज राजाका स्वघोषित हितचिन्तक, पाउका तावेदार भन्नेहरुले सावित गर्दैछन । हाम्रो राजा प्राण भन्दा प्यारो छ भनेर फलाक्ने यी चाटुकारहरु जव राजसंस्थालाई अफ्ठ्यारो पर्‍यो एकाएक हराए । ती मध्ये धेरै त रातारात गणतन्त्रवादी
भएर राजसंस्थाको खोइरो खन्न थालेको पनि देखियो । तर नेपाली जनताको आस्थाले जव राजसंस्था माथि लागेको तुँवालो हट्दै गयो यी धमिरालाई आफुले छोड्न लागेको काठमा अझ पनि रस बाँकी रहेको अनुभूति भयो । पहिलो संविधानसभा चुनावताका राजसंस्था समर्थकले चुनाव लड्नु हुदैन भनेर कुर्लिने यी चाटुकारहरु अहिले अरुलाई राजमुकुट भजाएको आरोप लगाउन तल्लिन छन । त्यस चुनावमा सबै परिस्थिति प्रतिकुल हुँदा पनि नेपाली जनताले राजावादी भनेर भनिनेलाई पन्द्र स्थान दिएका थिए जसमध्ये एघार स्थान पाएका दलले आफ्ना ती मतदाताको अपमान गरेर गणतन्त्रको पक्षमा मतहाले ।
पहिलो चुनावमा चार मत गणतन्त्रको विपक्षमा नपरेको भए आज यी चाटुकारहरु राजसंस्थाको काठमा रस सकिएको ठानेर अर्कैको भजन गाउदै हुने थिए । पहिलो चुनावमा यी चाटुकारहरुले आफ्ना नजिककालाई माओवादीलाई मतदान गर्न गरेको आग्रह मानेकोमा पछुतो मान्नेहरु आज बाक्लै भेटिने गर्दछन । सर्वसाधारण जनताहरुको अखण्ड आस्थाले जव राजसंस्था माथिको कालो बादल हट्दै गयो विभिन्न नामको संगठन बनाएर फोटो टाँसेको फारम संकलन गर्दै हिड्ने छद्म राजसंस्थावादीहरु अहिले राजसंस्थामा आफ्नो सर्वाधिकार भएको दावी ठोक्दैछन । अरु कसैले राजसंस्थाको कुरा गरेमा कारवाहीको धम्की दिदैछन । यो धम्की नै उनिहरुको चरित्र हो । पञ्चायतको वेलामा आफ्नो चाकरी गर्न नमान्ने कयौ आस्थावानहरुलाई अतको आरोप लगाई दिने धम्कि दिने गर्दथिए र कयौलाई आरोप लगाए पनि । त्यसै गरेर माओवादीको विद्रोहकालमा पनि आस्थावानलाई माओवादीको आरोप लगाएर विरोधी हुन वाध्य बनाएका घट्ना छ्यापछ्यप्ती छन ।
राजा सबैका साझा हुन् भन्ने भनाईलाई ठाडै अस्विकार गर्दै राजामाथि आफ्नो मात्र अधिकार छ भनेर कुर्लनु र धमिराले काठ वरिपरि माटो उठाएर अरुको पहुँच भन्दा टाढा लैजानु एकै कुरा हुन् । राजाले सबैका साझा हुन नखोजेर चाटुकारका मात्र पेवा हुन पक्कै खोजेका होईनन् । यदि यो असंभव कुरा साँचो भयो भने त्यो आस्थावानहरुको दुभाग्य नै हुने छ । वेलैमा आफु चाटुकारहरुको घेराको अधिनमा नभएको सावित नगर्ने हो भने राजा प्रति आस्था हँुदाहुँदै चाटुकारहरुको राप र तापले सर्वसाधारण तटस्थ बस्न विवश हुनु पर्ने अबस्था नआओस भन्ने तर्फ ध्यान पुर्‍याउन आवश्यक भएको छ । के नेपालका राजसंस्था प्रतिका आस्थावानहरुको प्रारव्धमा राजाका चाटुकारहरुको राप र ताप नै लेखेको छ त ?
राजाको नाममा यस्तो उड्ण्डता मच्चाउनेहरुसंग आफ्नो सम्बन्ध नभएको कुराको प्रकट भएको अबस्थामा यस्ताहरुलाई राजसंस्थाका आस्थावान सर्वसाधारणले तह लगाउने छन । धमिराले काठको भलो कहिल्यै गर्दैन, चाटुकारले स्वामीको कहिल्यै भलो गर्दैन यो कुरा सत्य हो । आजका मितिमा नेपालमा कुनै न कुनै किसिमको राजतन्त्रको आवश्यकता देख्ने, राजसंस्था चाहानेहरुको पहिलो र बलियो अबरोध भनेको न कुनै विदेशी शक्ति हो, न गणतन्त्रवादी समुह नै । जनताका आस्थाको भेलले जुनसुकै वेलामा पनि यस्ता अवरोधहरु सिन्का सरह बगाउने छ । राजभक्तका भेषमा आफु भित्रै रहेका यी चाटुकारहरु नेपालमा राजसंस्था पुर्नस्थापनाका सबैभन्दा बलिया अबरोधकहरु हुन । जबसम्म यी अवरोधहरु पन्छिदैनन् मुलुक हाँस्न सक्दैन । राजसंस्था सबै नेपालीको साझा सम्पत्ती हो यसलाई आफ्नो एकाधिकार दावी गर्नेहरु मुलुकका धमिरा हुन । हुन सक्छ यो आलेख वापत यी धमिराहरुको हातबाट सजाय भोग्न परोस तर यो सजाय मुलुकले मागेको बलिदान हुनेछ ।
(प्रकाशित मिति २०७० कार्तिक १४ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment