कोरीयामा रहेका नेपालीलार्इ नआत्तिन आग्रह

सिउल, चैत्र २३ । उत्तर कोरिया र दक्षिण कोरियाको सम्भावित युद्धप्रति गम्भीर हुँदै दक्षिण कोरियाको सिउलमा रहेको नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली समूदायलाई आत्तिनुपर्ने कुनै कारण नभएको जनाएको छ । दैनिकजसो नेपाली समुदायले सम्भावित युद्धप्रति चिन्ता प्रकट गर्दै दूतावास धाउन थालेपछि दूतावासले सूचना जारी गर्दै नआत्तिन आग्रह गरेको हो । 
नेपाली दूतावासले विभिन्न विश्वस्त स्रोतहरुबाट युद्ध नहुने संकेत पाएको भन्दै युद्धको स्थिति नरहेको जनाएको दावी गरेको हो । दूतावासले नेपाली समुदायलाई संयमित भई आफ्नो कार्यमा लाग्न आग्रहसमेत गरेको छ । 
केही स्थानीय समाचार माध्यमले उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्भाव्य युद्धका चेतावनीयुक्त भाषा सम्प्रेषण गर्न थालेपछि चिन्ताको विषय बन्दै गएको छ ।
दुवै कोरियाबीच चेतावनीयुक्त आरोप प्रत्यारोप चलिरहेकाले परिस्थितिको मूल्यांकन गरेर नेपाली समुदायलाई जानकारी दिइने पनि नेपाली दूतावासले जनाएको छ । 
दक्षिण कोरियाली नागरिकमा युद्धको कुनै भय वा त्राससमेत नदेखिएको र नागरिकहरुको दैनिकी सामान्य अवस्थामा चलिरहेको अवस्थालाई विचार गर्दै नेपाली दूतावासले नेपाली समुदायलाई त्रसित नहुनसमेत आग्रह गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment