रौतहट,१६ चैतः यूवती अपहरणमा संलग्न रहेको आरोप लगाइएका प्रहरी जवान पर्सा उदयपुरघुर्मीका झबुलाल प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले निलम्बन गरेको छ ।
राजपुर तुलसी गाविस ९ मलहिनिया गोठ टोल निवासी १८ वर्षिया एक यूवतीको अपहरणको प्रयास गरेको भन्दै गाउँलेले आरोप लगाएपछि प्रहरी कार्यालयले उनलाई निलम्बन गरेर कारवाही प्रकृया अघि बढाएको हो ।
बिहीबार दिउँसो गौरबाट राजपुर पुगेका प्रहरी जवान यादवले ना १२ प ८४९८ मोटरसाइकलमा ती यूवतीलाई लिएर जाँदै गर्दा गाउँलेले यादवको मोटरसाइकल खोसेर जलाउनुका साथै लखेट्दै उनलाई निर्घात कुटपिट समेत गर्दै प्रहरी कार्यालयको जिम्मा लगाएका थिए । अपहरणको आरोप लगाउँदै यादवविरुद्ध कारवाहीको दबाब दिएपछि प्रहरी उपरिक्षक गोविन्दराम परियारले निलम्बन गरेका हुन् ।
प्रहरी जवान यादवले आफूले ती यूवतीलाई २० दिन अघि सदरमुकाम गौरमा चिनेको र बिहीबार सँगै मोटरसाइकलमा घुमफिरपछि घर पु¥याउन लैजाँदा एक्कासी आफूमाथि अपहरणको आरोप लगाउँदै आक्रमण गरिएको बताएका छन् ।