काठमाडौ/ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेले सुनिलले दलहरुवीच सहमति हुने भए पार्टीको महाधिवेशन पछि सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले पार्टी र गठबन्धन भित्र प्रचण्डको नामको विषयमा चर्चा भएर नै प्रधानमन्त्रीले गोरखामा आयोजित कार्यक्रममा त्यस्तो प्रस्ताव गरेको स्पष्ट पार्दै अहिलेको सरकारको विकल्प गठबन्धन भित्रबाटै खोज्ने निर्णय यसअघि नै भईसकेकोले गठबन्धनको नेता
प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने दावी गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा पौडेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा सबै दल आएर सहमति गरे अहिले पनि जेठ अन्तिम सम्ममा निर्वाचन हुने झिनो आशा बाँकी रहेको दावी गर्दै त्यसो हुन नसके निर्वाचन हुन नसक्ने संकेत गरे ।
उनले सबै दलहरु अहिलेको सरकारमा आएर निर्वाचनको सुनिश्चितता गरे त्यसपछि दोस्रो चरणमा नेपाली काग्रेसलाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पार्दै अन्यथा सहमति नभई कुनै पनि हालतमा प्रधानमन्त्रीले राजिनामा नदिने बताए ।
संविधानसभाबाट निर्वाचित प्रधानमन्त्री बैद्यानिकताको श्रृंखला भएको भन्दै अहिलेको सरकारलाई निर्वाचन पछि आउने नयाँ सरकार वा राजनीतिक सहमतिले मात्रै विस्थापित गर्न सक्ने समते ठोकुवा गरे ।
सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बाबुराम भट्टराईको विकल्पमा गठबन्धनबाटै दिने निर्णय यसअघि नै भईसकेकोले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा आफूहरुको समर्थन रहेको स्पष्ट पारे ।
राजनीतिका सहमतिबाट संविधान संसोधन गर्नु बैद्यानिक नहुने दावी गर्दै उनले निर्वाचनको लागि २४ घण्टाको लागि भए पनि संविधानसभा पुनःस्थापना गर्नुको विकल्प नरहेको बताए । उनले भने(अहिले नयाँ सरकार बनाउने भए पनि निर्वाचन गर्ने भए पनि संविधानसभा पुनःस्थापना गर्नै पर्छ । यसको विकल्प छैन ।
सिहले निर्वाचनको सुनिश्चितता गर्ने गरी प्याकेजमै सहमति गरे नेपाली काग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा चुनावी सरकार गठन गर्न आफूहरु तयाररहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।
नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले माओवादीले अहिलेसम्म सत्ता नछाड्ने योजनाका साथ विकल्पको भारी ल्याएको भन्दै पछिल्लो समयमा प्रचण्डको नामको प्रस्ताव पनि सत्ताको आयू लम्ब्याउने रणनीति अनुरुप नै आएको ठोकुवा गरे ।
उनले भने(सहमतिको कुरा गरिरहने, सहमतिको नजिक पुगेपछि नयाँ विकल्प ल्याई हाल्ने यो सत्ता लम्ब्याउने चाल हो । यसमा काग्रेस फस्दैन ।
बडुले अरुलाई नेतृत्व नदिने माओवादीको योजना अनुरुप नै प्रचण्डको नाम आएको भन्दै यस्तै छलकपटले आफूहरुलाई आन्दोलनमा जान बाध्य पारेको दावीगरे ।
उनले भने(भईसकेको सहमति कार्यान्वयन गरौ । विकल्पमाथि विकल्प थोपरेर निकास निस्कदैन । यस्तै गरे मुलुक ज्यादै कमजोर भईसक्यो हामि सबै डुब्छौ ।
निर्वाचनको सुनिश्चितताको लागि आन्दोलन भएको भन्दै विपक्षीका विरुद्ध सत्तापक्ष सडकमा जानु लोकतन्त्रको मजाक भएको भनि उनले टिप्पणी गरे । बडुले भने(विपक्षीका विरुद्ध सत्तारुढ दल सडकमा जानु जगहसाउने बाहेक केही होईन ।
उनले माओवादीकै आग्रहमा पार्टीले सुशिल कोइरालाको नाम अघि सारेको भन्दै अहिलेनै कोइरालाको विकल्प खोज्न नसकिने स्पष्ट पारे ।
नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले प्रचण्डको प्रधानमन्त्री बन्ने प्रस्ताव फेरि पनि निर्वाचन गर्ने चालबाजी भएको भन्दै त्यस्तो भ्रममा आफूहरु नपर्ने बताए ।
उनले अहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष कुनै पनि हालतमा प्रधानमन्त्री हुनै नसक्ने ठोकुवा गर्दै प्रचण्डकै आग्रहमा उमेवारी घोषणा गरेका सुशिल कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बने मात्रै मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे ।
मुलुकलाई रिक्तता र संकटमा पुर्याएर सत्ताकब्जा गरी क्रान्ति पुरा गर्ने कुत्सित मनसायका साथ माओवादी अघि बढीरहेको आरोप लगाउँदै ज्ञावलीले १० वर्षे जनयूद्धबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले अहिले पनि सत्ता कब्जागर्न नसक्ने ठोकुवा गरे ।
उनले भने–माओवादी जति संकट त्यती फाईदा हुने विश्लेषणमा छ यो माक्र्सबादी चिन्तन होईन । यो दृष्टिकोणले प्रतिक्रान्ति हुन्छ मुलुक टुक्रिन्छ ।
सहमतिको बाधक प्रधानमन्त्री नै भएको भन्दै उनले सहमतिमा मुलुकलाई निकास नदिए मुलुकको अवस्था दलहरुको नियन्त्रण बाहिर जाने चेतावनी दिए ।
साक्षात्कारमा उनले आन्दोलनबाटै अहिलेको सरकारको विस्थापन र नयाँ सहमतिको सरकारको स्थापना हुने ठोकुवा समेत गरे ।
अहिलेको सम्पूर्ण क्रियाकलाप घुमाई फिराई निर्वाचन गर्ने र आफ्ने अनुकुल समय बनाउने प्रतिक्षामा माओवाी भएको भन्दै आफूहरु वार्ताबाट सहमति निस्कन नसकेपछि आन्दोलनमा जान बाध्य भएको बताए ।