राष्ट्रपतिबाट १९ दलको बैठक आब्हान-म्याद नथप्न शितल निवासमाथि चर्को दबाब



काठमाडौं/राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिको सरकार गठनका लागि नवौं पटक दिनु भएको पांच दिनको समयसीमा हिजो सकिएपछि अब के गर्ने भन्ने बारेमा राष्ट्रपतिको कार्यालय अन्योलमा परेको छ । अब के गर्ने भन्ने बारेमा छलफल गर्न राष्ट्रपति कार्यालयले आज १९ दलका शीर्ष नेताहरुको बैठक बोलाएको छ ।
 बैठकमा संविधानको धारा ३८(१) बमोजिम सहमतिको सरकार गठनका लागि दिईएको समयसीमाले काम नगरेकाले अब अर्को विकल्पमा जानुपर्ने र त्यो विकल्प के हुने भन्ने बारेमा छलफल हुने बताईएको छ ।
सहमतिका लागि दिईएको समयसीमा दलहरुले छलफलै नगरी गुजारेपछि दशौ पटक म्याद दिने कि अरु नै विकल्पमा जाने भन्ने बारेमा राष्ट्रपति कार्यालयले कुनै सोच बनाउन सकेको छैन ।
 उता, सत्ताधारी दलहरुले भने अब म्याद थप्नुको औचित्य नरहेको भन्दै यही सरकारलाई बैधानिकता दिन राष्ट्रपतिलाई दबाब दिएका छन् । हिजो बसेको एकीकृत माओवादी र मधेशी मोर्चाको बैठकले अब म्याद थप्न नहुने भन्दै राष्ट्रपतिलाई दबाब दिने निर्णय गरेको थियो । सत्ताधारी गठबन्धनले आज आफु निकटका २१ दलको बैठक गरेर राष्ट्रपतिलाई थप दबाब दिने भएको छ ।


SHARE THIS

Author:

Facebook Comment