काठमाडौं/नेकपा–माओवादीको जारी महाधिवेशनमा रामबहादुर थापा बादललाई अध्यक्षमा प्रस्ताव गरिएपछि महासचिव चयनमा तीब्र विवाद भएको छ । पुस २५ गतेदेखि राजधानीमा शुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन बैद्यले महासचिव रामबहादुर थापा बादलको नाम अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो । उहाँले आफू पार्टीको संरक्षकको रुपमा रहने वताएपछि सचिव देव गुरुङ्ग र नेत्रविक्रम चन्दले महासचिवमा दाबेदारी प्रस्तुत
गरेका छन् । अध्यक्ष बैद्यले चन्दको नाम प्रस्ताव गर्नुभए पनि केही सहभागीहरुले गुरुङ्गले सो पद पाउनुपर्ने माग गरेका बुझिएको छ । यस्तै पार्टीले लिने कार्यदिशामा स्पष्टरुपमा दीर्घकालीन जनयुद्ध नै उल्लेख गर्नुपर्ने माग पनि महाधिवेशनमा उठेको छ । महाधिवेशनबाट स्पष्ट रुपमा जनयुद्धको कार्यदिशा तय गरेर अघि बढेमात्रै पार्टीले लक्ष्य पुरा गर्नसक्ने सहभागीहरुको भनाई छ । नेतृत्व चयनको विषयमा विवाद बढेपछि माओवादीको महाधिवेशन आजसम्म लम्बिएको छ ।