फेसबुकका कारण बाउआमालाई जेल

पेरिस-आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय बेहोर्नुपर्ने फ्रान्सेली अधिकारीले जनाएका छन् । फ्रान्समा गोपनीयतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ । जसअनुसार अभिभावकले आफ्ना सन्तानको नग्न नस्बिर हाल्न नमिल्ने र हालेका खण्डमा कडा जरिवाना तिर्नुपर्नेछ।
अधिकांश अभिभावकले आफ्ना सन्तानको तस्बिर हाल्दा तिनीहरूसँग स्वीकृति नलिइने हुनाले ती पोस्टले सन्तानलाई तनाब झेल्नुपर्ने हुन सक्ने र सो तनाब रोक्न सरकारले यस्तो नीति ल्याएको बताइएको छ । कानुनअनुसार यदि बाल्यकालमा राखिएका तस्बिर पछि सन्तान वयस्क (१८ वर्ष पूरा) भएपछि मुद्दा हाले अभिभावकमाथि प्रशासनले कारबाही गर्नेछ । फेसबुक लगायत साामजिक सञ्जालमा बिनाअनुमति राखिने सामग्रीलाई गोप्यता भंग गरिएको मान्दै ३५ हजार युरोभन्दा बढी जरिवानासमेत तिर्नुपर्ने हुन सक्छ । कुरा अझै गम्भीर भए जेल सजायसमेत हुन सक्ने स्थानीय अधिकारी बताउँछन् ।

प्रायः अभिभावकहरूले आफ्ना सन्तान नुहाइरहेको, खाँदा फोहोर मुख पारेको तस्बिर फेसबुकलगायतका सामाजिक सञ्जालमा राख्ने गर्छन् । यस्ता तस्बिर किशोरावास्था पुग्दा आफ्ना साथीका अगाडि लज्जाको विषय बन्न सक्छन् । बेलायतको मेनचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीकी प्राध्यापक निकोला विटन फ्रान्सको कडाइलाई सही निर्णय मान्छिन् । बेलायती अखबार गार्डियनसँग कुराकानी गर्दै उनले भनेकी छन्, 'सोसल मिडियाका गतिविधि पछि ठूलो विवादको विषय बन्ने देख्छु । बालबालिका जन्मिएदेखि नै आफ्नो उपस्थिति सामाजिक सञ्जालमा रहेको चाल पाएपछि उनीहरूमध्ये कतिपयले यसलाई पचाउन नसक्लान् र अभिभावकसँग झगडाको मुद्दा पनि बन्न सक्ला ।'

त्यसैले विटनको सल्लाह छ, 'बाउआमाले आफ्ना सन्तानको भविष्यलाई ख्याल राख्दै उनीहरूका लागि के असल हुन्छ भन्ने पहिल्यैदेखि सोच्नु आवश्यक छ । तपाईंले आफ्नो सन्तानलाई एउटा अलग्गै व्यक्तिका रुपमा व्यवहार गर्नु आवश्यक छ । हुनसक्छ, यो व्यक्ति १५ वर्षपछि तपाईंले फेसबुकमा राखेका कुराबाट खुसी नहोला र तपाईंसँग झगडा गर्न तम्सेला !'

'त्यसैले आफ्नो बारेमा के सही र के गलत भन्ने नबुझ्ने होउञ्जेलसम्म आफ्नै केटाकेटीका तस्बिर पनि नराखेकै बेस,' उनले भनिन् । २०१५ मा भएको एउटा अनुसन्धानअनुसार बेलायतमा बाबुआमाले पाँच वर्षभन्दा मुनिका सन्तानका वर्षमा दुई सयभन्दा बढी तस्बिर हाल्ने गर्छन् । ऊ पाँच वर्षको पुगुञ्जेल इन्टरनेटमा उसका हजार तस्बिर पुगिसकेका हुन्छन् ।
-nagariknews

SHARE THIS

Author:

Facebook Comment