आज बिश्व नारी दिवस । सय वर्ष भन्दा पनि महिला र पुुरुष बीच असमान ज्याला दरको विरोधमा रोजा लक्समवर्गले अमेरिकाको न्यूयोर्कको सडकमा गरेको विद्रोहको दिन । तर के एक सय वर्षपछि पनि महिललाहरुको अवस्थामा तात्विक भिन्नता आएको छ ? आरक्षण र तेंतिस प्रतिशतको कोटाका कारणले महिलाले जति मौका पाए पनि त्यो वैशाखीको सहारामा उभिएको अपाङ्गको शक्ति जस्तै हो ।
महिलामाथि हुने मानसिक र सामाजिक उत्पिडनमा कुनै कमी आएको छैन । यसको स्वरुपमा परिवर्तन भने अवश्य भएको छ । जसको शक्ति उसैको भक्ति गरिने हाम्रो जस्तो दोयम चरित्र भएको समाजमा एउटै खाले अपराध पनि दल र व्यक्ति अनुसार फरक फरक आँखाले हेरिन्छ । हाम्रो देशमा पहिलो पल्ट राष्ट्रपति र सभामुख दुबैमा महिला नै निर्वाचित भएका छन् । तर आफ्नो योग्यताले हैन पार्टीको भर्याङ्ग चढेर । महिला राष्ट्रपति भएकै देशमा उनकै अगाडि जारी गरिएको संविधानमा महिलालाई दोस्रो दर्जाको नागरिक बनाइएको छ । तर पनि उनी आफ्नो पद र कुर्सीलाई मुसार्दै मक्ख छिन् ।
राष्ट्रपति भएको केही समयपछि विद्या भण्डारी जनकपुरको जानकी मन्दिरको दर्शन गर्न गईन् । तर एउटै कुनै व्यक्ति विशेषले उनलाई विधवा र अलच्छिन भनेको भरमा सोे को विरोध गर्दै राष्ट्रपतिको समर्थनमा सारा देश उद्धेलित भयो । राष्ट्रपति आफैले मौन समर्थन दिएर यो उत्तेजनालाई मलजल गरिन् । आफुलाई भगवान भन्दा पनि ठूलो ठानेर जानकी मन्दिरमा गरिएको रडाकोलाई नेकपा एमाले र यसका कार्यकर्ताहरुलाई मधेशीलाई दोषी देखाउन घटनाको सदुपयोग आफ्नो पक्षमा गरे । मधेशीलाई नकारात्मक देखाउन यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन पनि थियो ।
नेकपा एमालेको सरकार, राष्ट्रपति र प्रधानमन्त्री दुबै एउटै र उही पार्टीका भएपछि राष्ट्रपतिले आफुलाई सुरक्षित र सर्व शक्तिमान ठान्नु कुनै अचम्मको कुरा हैन । त्यही नेकपा एमालेका नेता तथा बुद्धिजिवी कहलिएका सारा पुराण र साहित्यका ज्ञाता मोदनाथ प्रश्रितले एउटी नावालक किशोरीलाई कोठामा थुनेर सात महिनासम्म बलात्कार गरेका रहेछन् । हालै भ्रष्टाचारको विरुद्धमा आफ्नो आवाज बुलन्द पारेकी शारदा भुषाल झाको आत्मकथाको किताब “धरातल” मा मोदनाथ प्रश्रितको नाम नै किटेर लेखिएको छ । मानव सभ्यतामा सबैभन्दा ठूलो कलंकको रुपमा रहेको बलात्कारको अपराधमा भुषालले प्रश्रितलाई अपराधीको कठघरामा खडा गरेकी छन् ।
हुन त नेकपा एमाले र प्रधानमन्त्री केपी ओली आफैं अपराधी हुन् । जसले देशमा कालोबजारीलाई मौलाउन र संरक्षण दिनमा प्रमुख भूमिका खेलेका छन् । उनकै पार्टीका एक वयोवृद्ध नेताले एउटी किशोरीलाई सात महिनासम्म गरेको रेपको ढाकछोप गर्ने नै छन् । अहिले नेकपा एमालेबाट सरकारमा सामेल भएकी प्रश्रितकी बहिनी तथा मन्त्री शान्ता मानवी विगतमा भएको बलात्कारको यो क्रुर घटनाको ढाकछोप गरिरहेकी छिन् । आफ्नै पार्टीबाट राष्ट्रपति निर्वाचित भएकी विद्या भण्डारीलाई एकजना सर्व साधारणले विधवा र अलच्छिनी भन्दा पूरा देशलाई त्यसमा विरुद्धमा ओराल्ने एमालेले आफ्रनै पाटीका एक वरिष्ठ नेता तथा बौद्धिक व्यक्तिलाई सजाय दिन्छ कि दिदैंनन् ?
मानव महाकाव्यका लेखक वास्तविक जीवनमा दानव पो रहेछन् । २०२४ सालमा “मानव” महाकाव्यका लागि मदन पुरस्कार पाइसकेका प्रश्रितको यो पुरस्कार नै खोसिनु पर्दछ । र उनलाई अदालतमा हैन कि जनताको माझ सार्वजनिक ठाउँमा जनताद्धारा नै एउटा निकृष्ट अपराध गरेकोमा सार्वजनिक बेइज्जती गरिनु पर्दछ । यदि प्रश्रितलाई प्रहरी र अदालतको जिम्मा लगाइयो भने उनी पैसा र शक्तिको बलमा बाईज्जत वरी हुनेछन् । किनकि उनलाई उनको पार्टी र सरकारले बचाउनमा कुनै कसर छोड्ने छैन ।
यदि यस्तो भयो भने राष्ट्रपति र सभामुखको पदमा महिला आसिन हुनुको अपमान हुनेछ । देशको सर्वोच्च पदमा महिला आसिन भएर पनि एउटी महिलाले आफुमाथि विगतमा भएको बलात्कारको अपराधमा सजाय पाउंदिनन् भने ती पदमा महिलालाई बस्ने कुनै अधिकार छैन । आज अन्तराष्ट्रिय नारी दिवस पनि हो । एउटी नारीको जीवनलाई कलँकित पार्ने पुरुषलाई समाजमा ठाडो शीरपारेर हिंड्न दिने हो भने राष्ट्रपति र सभामुखलाई धिक्कार छ । अनि किन मनाउनु नारी दिवस र गर्नु नारी स्वतन्त्रताको कुरा । न्याय गर्न नसक्ने महिला राष्ट्रपति र सभामुखलाई नै कठघरामा उभ्याइनु पर्दछ ।