कानुन पालना गराउन प्रहरीले कडाई गर्ने

क्राइमचेक प्रतिनिधि/
रौतहट/ शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले गर्दैै आएको क्रियाकलाप सम्बन्धी विषयमा रौतहटको गौरमा नागरिक प्रहरी अन्तरकृया कर्यक्रमको आयोजना गरिइएको छ ।

गौर–८ स्थित नगरपालिका कार्यालयको सभाहलमा मंगलवार आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा प्रहरीको कार्य, शान्ति सुरक्षा तथा अपराध रोकथाम सम्बन्धि बिषय वस्तुहरुमा उपस्थित दल तथा संघ संस्थाका पदाधिकारी एंव सहभागी सर्वसाधारणहरुले आ–आफना जिज्ञासा राय सुझाव व्यक्त गरेका थिए ।

नागरिकस्तरबाट आएका प्रश्न र जिज्ञासाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक, गौर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत र  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डा.गणेश रेग्मी र रौतहटका प्रमुख जिल्ला अधिकारीबाट जिज्ञासाहरुको प्रतिउत्तर एवं छलफल भएका बिषयहरुमा शान्त, सुरक्षित र सभ्य तथा समुन्नत समाजको लागि कानुनले निर्दिष्ट गरे बमोजिम नागरीक समेतसँग समुचित समन्वय र सहकार्य गरी कडाई पूर्वक कानुनको पालना समेत गर्ने गराउने, जनचेतना अभिवृद्धि गरीने र यस्ता अन्तरकृया कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने भन्ने समेत जानकारी गराउनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक सेवा समिति गौरको संयुक्त आयोजनामा सामुदायिक प्रहरी सेवा समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्ष्यता र प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा. श्री गणेश रेग्मीको प्रमुख आथित्यतामा जिल्लाका सबै राजनितिक दलहरु: नेपाली काँग्रेस, ने.क.पा. ए.मा.ले, ए.ने.क.पा.माओवादी, मधेशवादी दलहरु त.म.लो.पा. सदभावना, संघीय समाजवादी फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका जिल्ला महिला संजाल, नागरीक समाज, बार एसोसिएसन, पत्रकार महासंघ, जेष्ठ नागरीक समाज, यातायात व्यवसायी, उद्योग बाणिज्य संघका पदाधिकारी तथा प्रतिनिधि र बुद्धिजिवि, भद्रभलादमी तथा स्थानिय नागरीक लगायतको करिब दुई सय ५० जनाको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनु भयो ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार उक्त कार्यक्रममा विभिन्न समसामयिक विषयमा प्रहरी र जनता अन्तरकृया हुनुको साथै मुलत: मादक पदार्थ नियन्त्रण अभियान अन्तरगत रौतहट जिल्लामा रहेका सम्पूर्ण रक्सि भट्टी नियन्त्रण गर्ने, भट्टी संचालकलाई कारवाही कारवाही गर्ने, खुल्ला मादक पदार्थ ओसार पसार र बिक्री वितरणमा नियन्त्रण गर्ने, सबारी चालकको मा.प.से. चेक जांच गर्ने, मा.प.से. सेवनकर्ता सर्व साधारण ब्यक्तिहरुलाई नियन्त्रण र कारवाही गर्ने, जुवा तास नियन्त्रण गर्न निबास, होटल लगायत जुनसुकै स्थानमा जुवा खेल्ने र खेलाउनेलाई पक्राउ र कारवाही गर्ने, विभिन्न मेलाहरुमा कौडा, कार्ड, लंगुर वुर्जा, तीन गोटी खेल्ने खेलाउन पक्राउ गरी नियन्त्रणमा लिने, यस्ता जुवा खेलाउने कार्यमा संलग्न ब्यक्ति र यस्ता मेला संचालक समेतलाई पक्राउ गरी कारवाही गर्ने, ट्राफिक व्ययवस्थापनतर्फ भारतीय टेम्पो नियन्त्रण गर्ने, सडक पार्किङलाई ब्यवस्थित गर्ने, नयाँ वस पार्कको प्रयोग गर्ने, मोटर साइकल चालकले अनिवार्यरुपमा हेल्मेटको प्रयोग गर्ने, विना लाइसेन्स सवारी चलाउने र बालकले मोटर साइकल चलाउने कार्यलाई पुर्णत: रोक लगाउने, मोटर साइकलमा ३/४ जना समेत बस्ने, बसको छतमा यात्रा गर्ने र ओभरलोड, सडक अतिक्रमण, सवारी चेकिङ र तिब्र गति नियन्त्रण गर्ने र माटो वालुवा गिटी ओसार पसार गर्दा त्यस्ता पदार्थलाई त्रिपालले ढाक्नुपर्ने जस्ता कुराहरु कडाइका साथ लागु गर्ने, अत्याधिक ध्वनी प्रदुषण अन्तर्गत डिजे बाजा पूर्णत: नियन्त्रण, विभिन्न समारोह स्थलहरुमा बजाइने लाउड स्पिकरलाई यथासम्भब न्यून आवाजमा वजाउन लगाउने, अर्केष्ट्रा नाचको पूर्ण बन्देज, विवाह, समारोह, पुजा, उत्सबमा यथासम्भव न्युन आवाज बजाउन लगाउने, रातको साढे १० वजे पछि मन्दिर मस्जिद र धार्मिक पर्व वाहेक चर्काे आवाज वन्द गर्ने, आगलागी नियन्त्रण अन्तरगत विहान ०८:०० वजे पूर्व आगोको सबै काम सक्ने, आगोको काम सकेपछि आगो पूर्णरुपमा निभाउने, यथासम्भव सांझ ०७:०० बजे पछि मात्र आगोको काम गर्ने, आगो नजिक बच्चाहरुलाई नलैजाने, जान नदिने, सलाई लाइटर जस्ता सामान बाल–वालिकाको पहुंचबाट टाढा राख्ने, पेट्रोल, डिजेट जस्ता प्रज्वलनशिल पदार्थहरु सुरक्षित स्थानमा राख्ने, चुरोट र विडीका ठुटाहरुको जथाभावी नफाल्ने, हाबा हुरीको अबस्थामा आगोको प्रयोग नगर्ने जस्ता विषयमा प्रहरीले अनुगमन गर्ने गरी प्रहरीलाई थप सकृय वनाउने सम्बन्धमा सबै सरोकारवालाहरुबीच सहमती भै सोही कुरा निर्णय समेत भएको थियो ।

अन्तरकृयाबाट प्राप्त जनताको म्यान्डेट अनुसार अब रौतहट प्रहरीले विशेष सकृयताका यस्ता कुराहरुको कडाइका साथ पालना गर्ने गर्न लगाउने ब्यवस्था मिलाइएको कुरा जिल्ला प्रहरी कार्यालयले सम्बन्धित सबैमा जानकारी गराएको छ ।

प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment