जुत्ता फेर्नु भन्दा खुट्टा काट्न तयार स्वाभिमानी राष्ट्रवादीहरू

– प्रशान्त महासागर

म त अब इण्डिया मात्र छिर्न पाए पनि नेपाल फर्केर आउँदिन । युरोपमा अरु खेलाडी बनी छिर्दाको कुरा त अर्कै भो, घुम्न जाँदा लुकेर बस्दाको कुरा त बेग्लै भो । नेपालभित्र स्वाभीमानी हुनु एक अभिश्राप हो भन्ने पुष्टि हाम्रा अग्रज नेता भनाउँदाहरुले गरेका छन् । आतंक छैन अरुको देशको अनुपातमा नेपालमा भन्छन् तर कहाँ कुन कुरामा कुन आवश्यकतामा आज आतंक छैन ? शान्त छ अरुको देशमा भन्दा नेपालमा शान्ति छ भन्छ भने त्यो शान्ति शायद बालुवाटारमा होला या शितल निवासमा होला त्यो बेग्लै कुरा भो । तर आम नेपालीहरुको मनमा त्यो शान्तिको परेवाले गुड बनाउन नसक्ने नै भई सक्यो चाहे अब यहाँ बुद्ध नै किन नजन्मियोस् उसले पनि शायदै त्यो शान्तिको बुटि छर्कन सम्भव होला भन्ने कामना मात्र गरौं । र नेपालमा यस्ता यस्ता प्राणीहरु छन् जस्ले मनुष्यको छाला ओढेका छन जस्को कारण स्वयम् भगवान हुँ भनी जन्मिने चाहे त्यो जुनै शास्त्रको होस त्यसलाई सहजै पछार्न पछि पर्दैनन् । जस्तो सुकै मै हुँ भन्नेले पनि सहजै हतियार बुझाउनु पर्ने दाउपेज सिकेका नेपाली नेता भनाउँदाहरु छन जस्ले आम नेपालीहरुलाई दास बनाएका छन तर बुझ्ने सचेतना समेतलाई पूर्णरुपले बन्द गरिदिएका छन । एक अर्थ अघोषित नाकाबन्दी जस्मा कोही नेपालीहरु केही सद्बुद्धिले काम गर्ने छैनन् सिवाय सहनु अनि सहेर मानव हुँ भनी गर्व गर्नु बाहेक अरु कुनै विकल्प नै शेष राखेका छैनन् ।

हुन त गरीब र त्यसको निवारणको लागि कुन सिद्धान्तसँग आफ्नो धारणा र मुद्दा विषय छैन होला तैपनि को गरीबले धनीको सास अहिलेसम्म इतिहासमा फेरेका छन त ? सबैले गरीबकै कुरालाई आफ्नो संघर्षको मुद्दा बनाउने अनि त्यही गरीबलाई, त्यही दलितलाई, त्यही उत्पीडितलाई नमारेको कहीं कतै कुनै इतिहासमा कुनै सिद्धान्तको आन्दोलन शायदै होला जुन नेपालमा त प्रचलन नै भएको छ । नयाँ नेपालको खोजीमा धेरै पुराना नेपालीहरु लावारिस मृत्यु मरि सकेका छन जसको लेखाजोखा शायदै राष्ट्रसँग होला । यस्तो परिस्थितिहरु पूरै जरा देखि सम्झि जिउँनु पर्दा इतिहासका जति पनि व्याख्याहरु छन विश्लेषणहरु छन् सबै कुनै कपोकल्पित कथा झै लाग्छ । नेपालीहरु वीर थिए भन्ने कुरा पनि कुनै कथाको पात्रहरु वीर थिए भने जत्तिकै हो भन्ने मैले के आम नेपालीहरुले महशुस गरिसकेका छन् । न कसैले कालापानीको लडे न त कसैले टिस्टाको निम्ति नै ज्यानको आहुति दिए यदि दिएकै भए खैं त आज नेपालको नक्सामा ती भागहरु जहाँ नेपालीहरुको रगत टप्केका थिए । नेपालीहरुले त त्यहाँ आफुलाई पिचास तुल्याउन शायद मरेका होलान् या भनौ घमण्ड देखाउन अरुको भूमिमा मर्न गएका । यदि यो कुरालाई इतिहासले अर्कै भन्छ भने आज नेपाल दु:खी राष्ट्र र अरुको हेपाहमा मरि मरि बाँच्नु पर्ने थिएनन् । आज हामीहरुले अरुको जुत्ता लगाउँदिन भनेर आफ्ने खुट्टा काटि बाँचिरहेका छौं यो सरासर मूर्खता हो र त्यही मूर्खतालाई स्वाभीमानी भन्ने लेपबाट लेपिएर बाँची रहेका छौं जहाँ सबै अभाव नै अभाव मात्र पलाएका छन् । जता हेर्‍यो त्यतै त्यसको वीउ पलाएका छन् मानौं दशैंमा सबैले जमरा राखे जत्तिकै तर पाहुना कोही पनि कसैको घरमा छिरेनन् । सबैले मानवतालाई त्यागेको सरह नै सबै निरिह बनेका छन् । आफैंभित्र लाचार मानौं आफ्नै बलिको निम्ति तत्पर भए सरि हुँदा नि नेपाली स्वाभीमानी छन् भनेर राज्यले राज गर्ने मन्त्र फुक्दा नि खुशी साथ खाना नै नखाईकन राज्यको काजमा जुटेका छौं । तर प्रश्न उठाई कसैले विद्रोह गर्दैनन् किन ?  कि मलाई नेपाली नहुनु नै भनेको हो भने म त्यो सगरमाथाको आशमा बस्दिन जसको पानी पिउनलाई समेत काम लाग्दैन भने अरु त पग्लि व्यवस्थित भई नेपाल र नेपालीहरुको काम लाग्ला भनी मैले सोच्न छोडे । त्यसैले म पून: भन्दैछु कि यदि म इण्डिया मात्र छिर्न पाए पनि कहिल्यै नेपाल आउँदिन र अरुले जस्तै इण्डियामा गएर म नेपाली हो भन्नलाई नेपालको झण्डा बोक्दिन किनभने यहाँ राष्ट्रिय झण्डा फेर्ने राजनीति पनि गर्ने गरेको बेला बखत मैले जस्तै सबैले पनि सुनेकै होला । भन्ने बेला मात्र यो देश सतीले श्रापित देश भनेर तर होईन यहाँ त मौकामा चौका हान्नेले मोजमस्ति गर्ने भ्रष्ट नेता भनाउँदाहरुको देश हो । यहाँ कोही आम नेपालीको पनि आवश्यकता छैन । जसोतसो जे नभए पनि अरुको भरमा चलेकै देश हो । त्यसैले कसैलाई यो देश सम्बन्धि कुनै दु:ख छैन । सबै स्वाङ् गर्ने मात्र हुन । मैले मेरो देश नेपाल भनेर जति नै फुर्ति गरेपनि आखिरमा त्यो गर्व गर्ने मैले लिएरका र पाएका पञ्चतत्व बाहेक अरु केही छैन जुन सबैको देशमा छन् नै । न यहाँ अहम् मरेको छ न त धर्म नै बाँचेको छ ता कि धर्म निरुपेक्ष राष्ट्र भन्नलाई । सबैले सबै कुरामा स्वार्थ नै खाजेका छन । त्यसैले यहाँ अबका दिन देखि बुद्ध पनि जन्मिदैन भने शिव पनि आफ्नो नीलकण्ठको डाहाबाट बच्न नेपालको गोसाई कुण्ड प्रयोग गर्नेछैन ।

त्यस्तै भृकुटी, अरनिको, सीता, व्यास ऋषिहरु आदी जस्ताले जन्म लिने छैनन् किनभने हामीले नै सगरमाथाको उचाईलाई घटाउने तथा गाथा महिमालाई अपमान गर्ने गरेका हौं साथै सहनशक्तिलाई अरुले आफुहरुमाथि कु–राज्य गराउने चलाउने गरेका हौं । मानौं खाडल खनी हामी आम नेपालीहरुले नै नेपालको अस्तित्वलाई पुरि दिएका हौं जुन पाप बनी उम्रिएका छन हाल त्यही कटाई गरि खानमा तल्लिन छौं । त्यसैले खुट्टा होईन जुत्ता काटौं भनी अघि बडौं साथै सरकारलाई, असन्तोष पक्षलाई यदि नमिल्ने नै हो भने या नेपालीहरुलाई दुबै पक्षले त्यसरी नै ज्यादतिको राजनीति गरिरहने नै हो भने अबका दिन देखि सबैलाई नेपालबाट धपाउने राजनीति हामी पनि गरौं । होईन सबैले मौन रुवाईका साथ बसाई सरी रहने नै हो भने नेपाल रहँला तर नेपालीहरु रहने छैनन् । यो रोगको रोकथाम हामी नेपाली भएर हामीले नै गर्नुपर्छ । सधैं अरु खेताला लगाउँदै आफ्नो बारी सपार्ने हो भने मोहीको दस्तुर त तिर्नै पर्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले समय छ सचेत होऔं । र नेपालीहरु वीर छन भनेर फैलाउने भ्रम तिर कदापि नकुद्नु होला किनभने खानेकुरा सबै विदेशीकै हो भने स्वाभीमानी इतिहासमा होला तर वर्तमानमा हुनै सक्दैनन् भने झन भविष्यको कुरा गर्ने हो भने यस्तै र त्यस्तै शासकहरु मात्र रहिरह्यो भने म त नेपाली भएरै मरुला तर मेरा सन्ततीहरुको जिम्मा चाहिं लिन सक्दिन नेपाली भएर बाँच्न पनि, मर्ने भनेको त बाँच्न पुगि सकेपछिको पदक हो....... ।

प्रकाशन मितिः२०७२ पुस १६ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment