धर्मनिरपेक्ष राष्ट्रपतिको हिन्दू परम्परामा हस्तक्षेप

सन्तोष मिश्र

भनिन्छ धर्मभिरुले ढुगाँलाई पनि देउता बनाएर पुज्दछ । तर कम्युनिष्ट शिक्षा र संसारमा हुर्किएको व्यक्ति र दलले देउतालाई पनि ढुगाँ बनाइदिन्छ । त्यही भएर होला गत असोज २४ गते नेपालको प्रधानमन्त्रीको पदमा आसिन नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्कसवादी लेनिनवादीका अध्यक्ष श्री खड्ग प्रसाद शर्मा ओलीले देशका सबै हिन्दु संस्कार र परम्परालाई खड्गझैं काट्दै लगेका छन् ।

ओली प्रधानमन्त्री भएको पर्सिपल्ट घटस्थापना थियो । घटस्थापना सबैले सामान्य रुपमा गरेपनि पृथ्वी नारायण शाहको पालादेखि गरिदैं आएको गोरखा दरवारबाट हनुमान ढोका फूलपाति भित्र्याउने परम्परालाई लत्याईयो । भन्ने बेलामा नाकाबन्दी र ईन्धन अभावलाई बहाना बनाईयो । नेता र मन्त्रीहरुका लागि महँगो मूल्यमा पनि ईन्धन दिने सरकार महान चाड दशैंको फूलपाति गोरखाबाट हनुमान ढोका ल्याउन ईन्धन दिन सक्दैन ? यसलाई के भन्ने ? सरकारको धर्मप्रतिको उदासिनता ?

विगतमा कोही पनि नेता वा व्यक्ति प्रधानमन्त्री वा राष्ट्राध्यक्ष बन्दा मन्दिर गएर दर्शन गर्ने परम्परा थियो । तर कट्टर कम्युनिष्टका रुपमा परिचित ओली प्रधानमन्त्री बनेपछि न कमरेड विद्या देवी भण्डारीनै राष्ट्रपतिमा निर्वाचित भएपछि कुनै सार्वजनिक मन्दिर वा आराध्य देव पशुपतिनाथमा गएर न दर्शन नै गरे । यति भइसक्दा पनि ठीकै थियो तर एक्कासी राष्ट्रपति विद्या देवी भण्डारीलाई विवाह पञ्चमीमा जनकपुरको जानकी दर्शन गर्न किन मन लाग्यो ?

न राष्ट्रपतिलाई त्यहाँ निमन्त्रण गरिएको थियो । न विवाह पञ्चमीमा राष्ट्रपति जानै पर्ने वाध्यता थियो । तर नेकपा एमालेको कठपुतली भएर राष्ट्रपति जनकपुर गईन् । विगत चार महिनादेखि मधेश आन्दोलनरत छ । यस्तो कठीन र युद्धभूमी बनेको मधेशका समस्या केलाउन, आन्दोलनमा प्रहरीद्वारा मारिएकाको परिवारलाई सान्तवना दिन र त्यहाँका जनतालाई राज्यको अनुभूति दिन न मन्त्री, प्रधानमन्त्री न राष्ट्रपति नै गएका थिए । तर अचानक बलेको आगोमा घीउ थप्न वा घाउमा नुन दल्न जस्तो जान आवश्यक थिएन ।

केपी ओली संविधानमा मधेश वा तराई शब्द लेख्न नचाहने, मधेशीलाई बिहारी वा भारतीय देख्ने अनि तिनै मधेशीको भूमिमा यस्तो संकटको समयमा राष्ट्रपतिको भ्रमण उचित थियो ? विगतमा राजा जांदा तिनै धार्मिक स्थलहरुमा राजालाई विष्णुको अवतार मानेर कत्रो मान सम्मान र जयजयकार गरिन्थ्यो ? बहालबाला राजा मात्र होइन पूर्व राजाको उपमा पाएर साधारण नागरिकको हैसियतमा आइसकेका ज्ञानेन्द्र विक्रम शाहको सवारी हुँदा पनि त्यहाँका जनताले बहालबाला राष्ट्रप्रमुखलाई झैं स्वागत गरी फूलमाला वर्षाएर जय-जयकार गर्न तछाड मछाड गर्थे  तर राष्ट्रपति जांदा ढुगाँ, मुढा प्रदर्शन गर्नु का साथै मन्दिरको पवित्र भूमि युद्ध भूमिमा परिणत भयो । जनता के चाहन्छन् राज्य वा सरकार यसतिर ध्यान दिदैंन मात्र आफ्नो इच्छाको कुरा जनतामाथि लाद्न चाहन्छ । जसरी संविधान एकतर्फि रुपमा लादियो अहिले सरकार एकपक्षीय भएर आफ्ना काम कारवाही जनतामाथि लाद्दै छ ।

जनकपुरको जानकी मन्दिरभित्र नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लैजानु, सेनाले बुट लगाएर मन्दिरको गर्भ गृहभिध प्रवेश गर्नु के यो हिन्दु परम्पराभित्र उचित र शोभनीय छ ? काठमाण्डौंको कुनै मन्दिर भित्र राष्ट्रपति वा प्रधानमन्त्री नबोलाइकनै यसरी जान सक्छन् ? अनि सेना जुत्ता लगाएर र  प्रहरीको कुकुरलाई भित्र पस्न दिईन्छ ? यदि राजधानीका कुनै मन्दिरमा यस्तो गर्न दिइंदैन भने तराई वा मधेशमा त्यस्तो अपाच्य र अशोभनीय कार्य गर्ने अधिकार कसले दियो ?

पञ्जाबको स्वर्ण मन्दिरभित्र आतकँवादीहरुले हतियार लुकाएको आशँकामा भारतकी तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले सेनाद्वारा सर्च गराउन लगाईन् । जसलाई अपरेशन ब्लू स्टार नाम दिइएको थियो । आफ्नो पवित्र धार्मिक स्थल भित्र सेना प्रवेश गराइएकोमा सिख समुदायले उग्र विरोध गरेको थियो । जसको परिणाम स्वरुप ईस्वी सन १९८४ मा ईन्दिरा गान्धीको सोही कारणले हत्या गरियो । हरेक धर्म र समुदायको आआफ्नो धार्मिक आस्था र मान्यता हुने गर्दछ । त्यसप्रति आस्था नराखे पनि विरोध वा अपाच्य कार्य गर्न पाइँदैन । के काठमाण्डौंका नेवार जातिको कुनै पर्व वा जात्रामा नेपाल प्रहरी र सेनाले हस्तक्षेप गरेर जुता लगाएर जान वा कुकुर लैजान सक्छ ? अनि किन त राष्ट्रपतिको सुरक्षाको नाममा यस्तो जनविरोधी/धर्मविरोधी कार्य गरियो ? देश र जनता भन्दा ठूलो राष्ट्रपति वा सेना हुन्छ ? के कम्युनिष्टको सरकार बन्यो वा राष्ट्रपति पनि साम्यवादीविचार धाराकी भईन् भन्दैमा धर्मप्रति अनादर वा जथाभावि गर्न पाइन्छ ?

जब देशमा हिन्दु धर्म थियो, देश धर्म निरपेक्ष भइसकेको थिएन । त्योबेला हिन्दु धर्म प्रति कत्रो सम्मान थियो ?  राजा, रानी कुनै धार्मिक समारोहमा जांदा जनताले नागरिक अभिनन्दन गर्थे । भगवानझैं मान्थे । तर आज राष्ट्रपतिलाई देशको नागरिक मान्न पनि चाहँदैनन जनता । किनकि राजा वा राजपरिवारले जहिले पनि हिन्दु धर्मको सम्मान र संरक्षण गरे । कसैको धार्मिक भावनामा राजा वा राज परिवारले ठेस पुर्याएनन् त्यसैले उनीहरु पूजनीय बने ।

गत वर्ष गढी माईमा वलि प्रथाको विरोध गरियो । त्यहाँ पोहोर वलि दिने पशुहरुको संख्यामा ह्वात्त कमी आयो । विभिन्न एनजिओ र आईएनजिओहरुले बिश्वकै सबै भन्दा बढी पशु वलि चढने गढी माईको मेलामा रोक लगाउन डलरको चलखेल नभएको हैन । राज्य र नीति नियम बनाउने निकाय मौन र निष्क्रिय हुंदा विभिन्न समुदायका धार्मिक आस्थामा खलल पुगेको छ । कहिले सम्म अरुको इशारामा आफ्नो देशको धर्म, संस्कार र परम्परालाई लत्याउने र विभिन्न जातजातिलाई आहत बनाउने ? के सरकारले यसतर्फ ध्यान दिन’ पर्दैन र ?

फोटो श्रोतः राष्ट्र प्रति घोर गैर जिम्मेबार राष्ट्रपति...!

SHARE THIS

Author:

Facebook Comment