विश्वासको पुनर्वहाली अभियान: वर्तमानको आवश्यकता

– स्वयम्भुनाथ कार्की
कारण जेसुकै होस, भूल जोसूकैको होस, वर्तमानको यो महाविपत्तिमा हरेकको मनमा विश्वासको खडेरी परेको छ । ज्यान धनको ठूलो क्षति भएको यो अवस्थामा जब विश्वास पनि धरमरमाउन थाल्दछ तव समाज विखण्डन तर्फ लाग्ने मात्र हैन मानवता पनि हार्दै जान्छ । कसैको नियत माथि शंका गरिएको हैन न यो त्यसो गर्ने वेला नै हो, तैपनि महाभूकम्प पछिका समाजका विभिन्न अंगका व्यक्तिहरुको कामबाट विश्वासमा पहिरो जाने नै काम ज्यादा भएको छ । यसमा निश्चय नै नियतको दोष छैन बरु अज्ञानता, अयोग्यता अनि परिणाम विचार नगरी तुरन्त वाहीवाही लिनखोज्ने प्रवृतिको दोष ज्यादा छ । कुन समयमा कसरी सकृय हुनु पर्ने हो भन्ने सोच बिना सामान्य अवस्थामा गरिएको जस्तो निर्णय गर्दा निश्चय नै विगतमा “हतारमा काम गरेर फुर्सदमा पछुताउने” अनुभवले निर्देशित गरेको हुनु पर्दछ ।

यो अवस्था अन्य वेलाको जस्तो राजनैतिक आरोह अवरोहको थिएन । त्रस्त मनस्थिति कस्तो थियो भन्ने कुरालाई दर्शाउन करिव महिना दिन हुनलाग्दा पनि आफ्नै घरमा पस्न पनि डराई रहेका जनमानस छन् । कसैले घर आफु सुरक्षित हुन बनाउने गर्दछ, त्यहि घर सुरक्षाको निमित्त खतरा देख्नपर्ने अवस्थामा भएको मनस्थितिले निश्चय पनि कसैलाई “हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने” छुट दिंदैन । आँधी, हुरी जस्ता प्राकृतिक कुरा मात्र होइन कुनै किसिमको आक्रमण आदिबाट आफुलाई सुरक्षित गर्ने घरलाई नै खतरा देखेर भाग्नुपर्ने अवस्थामा मान्छे मानसिकरुपमा धेरथोर ढुँगे यूगमा फर्किसकेको हुन्छ । त्यस युगमा मान्छे मान्छे विचको द्वन्द्वको कारण आधुनिक युगको जस्तो वाद वा सिद्धान्त हुँदैन थियो, त्यसैले साझा विपत्तिसंग एकजुट भएर लड्ने गरिन्थो । विपत्तिको प्रत्यक्ष प्रभावमा परेकाहरुको मनमा यहि आशा वा भरोशा हुने गर्दछ कि यो विपत्तिबाट सबैले आफ्नो अहं छोडेर मद्दत गर्नेछन् । जब अहंको जुधाईले विपत्तिसंगको सामनामा हेलचक्र्याई गरेको अनुभूति हुन्छ अनि विश्वासमा ठेस लाग्दछ ।

नब्बे सालको महाभूकम्प पछिका यी तिरासी बर्षमा प्रकृतिको महाविनाश लिलाको कोपभाजन हुने नेपाल एकमात्र मुलुक होइन । यस बीचमा संसारका विभिन्न मुलुकहरुले प्रकृतिको ताण्डब भोगिसकेका छन्, कहिं कहिं त वर्तमानमा नेपालले भोग्नु परेको भन्दा कयौ गुणा प्रलयकारी पनि भोगेका छन् । भोगाई र त्यस पछिका काम कारवाहीमा पनि अनेकौ किसिमको विविधता देखिएको छ । तर सबैमा एक समानता भने पाईन्छ, जसले जनजन बीच, निकाय सरकार बीच विश्वास कायम राख्न सक्यो त्यो केहि बर्ष मै विपत्तिको मुख चिड्याउदै प्रगति तर्फ लम्केको छ । अनि जसले विश्वास कायम राख्न सकेन र समाजका अगुवाहरु बीच अहंको लडाई प्रमुख बन्यो त्यो दशकौंसम्म पनि पीडित नै छ । अझ कसैको त अस्तित्व नै समाप्त भएको पनि छ ।

नेपाली सुरक्षा निकायसंग विपत्तिसंग लडेको अनुभव छ । संसारका विभिन्न विपत्तिग्रस्त मुलुकमा काम गरेर आफ्नो योग्यता सावित पनि गरि सकेको छ । यो महाभुकम्पमा पनि उसले आफ्नो योग्यता क्षमताले भ्याएसम्म काम गरेकै छ । तैपनि जनताको मनमा टुटेको विश्वास पुनर्वहाली गर्न उसलाई हम्मे हम्मे परेको छ । कमजोरी ती निकायहरुमा छैन, ती निकायहरु भनेको सरकारका औजारहरु हुना, हातहरु हुन अनि हतियार हुन् । विपत्तिको तुरन्त पछि काम गर्ने जो स्थायी प्रकृया हुन्छ त्यो प्रकृया अनुसार सर्बोत्कृष्ट काम पनि गरेकै हो । जुनवेला उद्धारलाई प्राथकिता दिनु पर्ने थियो त्यो वेला उसंग भएको साधनश्रोतको अधिकतम उपयोग गरेर काम गर्‍यो । उद्धार पछिको राहत, पुनस्र्थापन र पुर्ननिर्माणको काम समन्वयमा गरिनु पर्ने हो । मुलुक बाहिर काम गर्दा उसले संयुक्तराष्ट्र संघको समन्वयमा काम गरेको थियो अहिले समन्वयकारी निकायको अनुपस्थिति देखा परेको छ ।

समन्वयकारी भूमिकामा हुनुपर्ने सरकारले पक्कै काम गर्दै होला, समन्वय गरेर परिणाम आउने काम पनि गर्दै होला । तर सरकारले काम गरेको छ भन्ने विश्वास जनमानसमा नहुनु पनि त अयोग्यता कै परिचायक हो । वर्तमान समयमा उपलव्ध सबैजसो  संचार माध्यममा फलाना नेताले यसो गरे, फलानाले उसो गरे वा फलाना संस्था, फलाना व्यक्तिहरुले यसो उसो गरे भनेर समाचारहरु आई रहेका छन् । विना कुनै योजना जसले जे मनलाग्यो त्यहि गरेर गरेको मद्दत के साँच्चै मद्दत हुन्छ र ? यो उद्धार र प्राणरक्षाको वेलामा अत्यन्त प्रभावकारी काम हुन्छ । त्यसवेला उद्धार वा प्राणरक्षाको निमित्त योजना कुर्न खर्च गरेको हरेक निमेषले हानी बढाई रहेको हुन्छ । तर पुनर्निमाण नहुन्जेल पुर्नस्थापन गरिने कुरा र वासस्थान एक महिनाको निमित्त हैन । ओतलाग्ने ठाँउ मात्र भएर पुग्दैन, त्यहाँ ओतलागेर पुर्ननिर्माणमा उनिहरु लाग्नु पर्ने हुन्छ । यस्तोमा मेला वा हटियालाग्ने स्थानको छाप्रो जस्तो बनाएर घर बनाई दियौ भनेर गरिने प्रचारले विश्वास निर्माण गर्न हैन थप टुटाउन मद्दत गर्दछ ।  त्यसैले विश्वासको पुनर्वहाली अभियान वर्तमानको आवश्यकता हो ।

आरोप प्रत्यारोप, कुर्सी पद, अनि अआफ्नो डम्फु बजाउने काम छोडेर अहिलेका आहतलाई राहतको निमित्त हात फैलाएर बसेका भिखारी जस्तो व्ययहार नगरेर उनीहरुलाई शारीरिक मानसिक रुपले विपत्तिको सामना गर्न सक्ने बनाउन आवश्यक छ । विपत्तिमा गरिएको सहायता कुनै भिख हैन, कुनै दयामाया पनि हैन । यो त मानविय कर्तव्य हो, अझ भन्नु पर्दा भविष्यको निमित्त गरिएको आफ्नो बिमा हो । अज्ञात भविष्यमा विपत्ति जसलाई पनि पर्न सक्छ, विपत्तिमा एक अर्काको सहायता गर्नु कर्तव्य ठानिएमा समाजले आफुलाई सुरक्षित अनुभव गर्दछ । मान्छेले आफ्नो यहि चरित्रको कारणले संसारका समस्त अन्य जीव भन्दा उच्च स्थान बनाएको छ । मुलुकको यो विपत्तिको आफ्ना मतभेदहरु भुलेर सामना गर्ने र यसबेला पनि आफ्ना मतभेद र स्वाथ्र्य प्रधान मानेर काम गर्ने, विपत्तिको फाइदा लिनेहरुलाई बहिष्कार गरेर बलियो समाज बनाउने तर्फको कामले विश्वास पुनर्स्थापना हुन्छ ।

विराटनगर-१
प्रकाशित मिति:२०७२ जेठ ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment