स्वयम्भुनाथ कार्की |
कामदार कोषमा श्रम मन्त्रालयको रजाई भएको समाचार हालै छरपष्ट भयो । कुरो त्यसमा मात्र सिमित भएन, सभासदहरुको विदेश भ्रमण अनि दुतावासको खर्चको निमित्त पनि त्यसको उपयोग गरिने गरेको कुरो बाहिर आयो । सभासदहरु त्यो कोषको रकमबाट विदेश भ्रमण गर्न नजाने भन्ने समाचार अहिलेसम्मको यो ‘लखनौ लुट’को हिस्सेदार भए पनि अब उप्रान्त हिस्सेदार नहुने कुरासम्म गरिएको हो । तर यो ‘कात्रो खोस्ने’ सरहको निच काम बन्द गरिनु पर्छ भन्ने कुराको चेत मुलुकको भावी संविधान बनाउने ठेक्का लिएर बसेकामा पनि नपलाउनु भने त्यो संविधानले कतिसम्मको अनैतिकतालाई मलजल गर्ने रहेछ त्यसको छनक हो । यति निम्नस्तरको भाषा प्रयोग गरेर आलेखको स्तर समेत खसाल्ने काम किन गरियो भन्ने कुरा बुझ्न आखिर यो कामदार कोष के हो र यो कसरी बनेको छ त्यसबारेमा जानकारी हुन आवश्यक छ ।
मुलक ‘रेमिट्यान्स’ले धानेको छ भनेर वर्तमानमा सबै अर्थशास्त्रीहरुले भन्ने गरेकै कुरो हो । यो ‘रेमिट्यान्स’ ग्रिन कार्ड वा पीआर धारकहरुबाट आउने गर्दैन । उनिहरुबाट त बरु नेपालको पैसा थप बाहिर जाने गर्दछ । यो निवृत्तिभरण, नेपालमा भएको आफ्नो घरजग्गाको कमाई वा विक्रीको रुपमा जाने गरेको रकम त्यस्ता मुलुकमा भएका नेपालीहरुले पठाउने गरेको पैसा भन्दा धेरै नै हुने गर्दछ । त्यस्ता मुलुकमा भएका आफुलाई गैर आवाशिय नेपाली भन्नेहरु संगठन नै खोलेर त्यसको बैठक गर्न पनि नेपाल सरकारबाट पैसा माग्ने गर्दछन, लगानी गर्छौ तर यो यो कुरा गर भनेर सरकारको गर्धन समात्ने गर्दछन । सबै त्यस्ता नहोलान तर संगठनको नेतृत्वमा रहेका मध्ये धेरैका यस्ता धुर्की दिने गर्दछन , केहि सामान्य काम गरे भने पनि तिनको स्तुति गायन गर्नै पर्ने विवशता नेपाल मै बस्ने नेपालीले भोगेकै कुरा हो ।
यो रेमिट्यान्स भन्ने कुरो आउने गर्दछ आफ्नो सिरिखुरी जाकटी राखेर ‘दिनको ४ घन्टा र महिनाको ४ दिनको अनिवार्य ओभरटाईमको सुविधा’ले पशु सरह खट्न बाध्य भएका वैदेशिक रोजगारीमा गएका मजदुरबाट । मुलुक धान्ने यस्ता व्यक्तिहरुले विदेशमा अनेकौ कष्ट भोग्नु पर्छ । विमारी हुँदा उपचार नपाउने , रोजगार बदल्दा अवैध कामदार हुने , कामको क्रममा अंगभंग हुने अनि कहिले काँही बाकसमा फर्कनु पर्ने जस्तो कुराले पिरोलिएका उनिहरुको त्यो पिडामा मल्हम लगाउन सरकारसंग बजेट छैन भनिन्छ । त्यसो त उनीहरुले आफु बिच नै चन्दा उठाएर यस्तो परिस्थितिमा केहि काम गर्दै पनि आएका छन । आफ्नो मुलुकको सरकारबाट यो काम होस भन्ने सोचले सरकारलाई बोझ नपार्न आफु विदेशिने बेलैमा पैसा जम्मा गरेर कोष स्थापना गरे । यो कोष आफुलाई उद्धार गर्न र मृत्यु भएमा कात्रो (बाकस र बाकस ल्याउने) खर्चको रुपमा प्रयोग गर्न सरकारको जिम्मा लगाईयो । यसै कोषको नाम हो कामदार कोष ।
पैसा देख्ने वित्तिकै फोहरबाट भए पनि दाँतले टिप्ने बनी परेकाहरुको बाहुल्यता भएको नेपालका निकायहरुको नेत्र कोषको रकम देख्ने वित्तिकै धपक्क बलेको भान पर्दछ । श्रम मन्त्रालयमा मन्त्रीको कोठा सजाउनु पर्यो , नयाँ सुविधायुक्त गाडी चाहियो , यस्तै अनेको आवश्यकता जन्मे । मानौ त्यो आवश्यकता पराई मुलुका अलपत्र परेका वा मृत्यु बरण गरेकाको उद्धार गर्ने काम भन्दा ज्यादा महत्वको हो । कुनै प्रमुख भनिएको दलको असरदार सदस्य हुने वित्तिकै उसले रुघाखोकीको उपचारको निमित्त विदेश उपलब्ध छँदैछ । एक हप्तामा खाजा खर्च मात्रै पनि लाखौ गर्न पाइएकै छ । जनता निचोरेर जम्मा गरेको राजश्व त यस कामको निमित्त चाहिन्छ भने विदेशमा श्रम गर्नेहरुलाई हेर्ने जिम्मेवारी लिएको मन्त्रालय, दुतावासहरुले आफ्नो निमित्त खर्च गर्ने नै यहि कोष त हो । के भयो र अपुग भएछ भने बरु प्रति व्यक्ति उठाउने गरेको रकम दुई गुणा गरे भएकै छ ।
यो सर्वसाधारण नेपालीले यी राजनैतिक दलहरुको यत्रो ऋण कुन जन्ममा लिएको रहेछ ? मुलुकमा काम गर्ने वातावरण यिनैले गर्दा चौपट भएको छ , अर्थतन्त्र ओरालो लागेको छ । तै पनि यस्ता दलहरुको बैठकहरुको खर्च पनि त्यहि सर्बसाधारणले चन्दाको रुपमा चुकाउनै परेको छ । आपसी झगडा गरेर गरिएको आन्दोलनमा दैनिक काम गुमाउनु परेको छ, तर त्यो काम गुमाउने गतिविधिको निमित्त पनि चन्दा चुकाउनै परेको छ । वैदेशिक रोजगारीमा जाँदा यस्तैहरुलाई पोस्नै पर्ने विवशता भएको म्यानपावर कम्पनी पनि पाल्नै परेको छ । विदेशमा आफ्नो मद्दत पुगोस भनेर राखिएको कामदार कोषबाट सुविधा उपलब्ध गराई दिनै परेको छ । यतिले मात्र नपुगेर आफु काम गर्ने स्थानमा खुलेका यस्ता दलहरुका भातृसंगठनहरु मार्फत आर्थिक सहायता पनि गर्नै परेको छ । धन्न सहनशिलताको यो परकाष्टा तै पनि तिनीहरु कै भजन गाउन मुख पनि थाकेको छैन । भोली यो आफ्नो कात्रोको लुटेरा आफ्नो कार्यरत मुलुकमा आउदा फुलमाला समेत तम्तैयार हुने सहनशिलता ‘रेमिट्यान्स’ले मुलुक धान्ने यीनै सर्वसाधारणमा छ, एनआरएनको बैठक खर्च पनि यीनैको कमाईले चल्छ । यो मुलुक हाँक्नेहरुको असंवेदनशिलताको परकाष्टा हो , नेपालीले कहिलेसम्म सहने हो त्यो त भगवानलाई पनि थाहा छैन होल ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७१।१२।१
(जनआवाज)
विराटनगर १
२०७१।१२।१
(जनआवाज)