संविधानसभा बैठक दुई मिनेटमै सकियो

काठमाडौं, माघ २२ – नेताहरुले एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता जनाएका छन् । तर संविधान बनाउने ठाउँ संविधानसभाको बैठक भने विजनेश अर्थात काम नै नपाएर औपचारिकतामा सीमित भैरहेको छ ।
तेस्रो पटक बुधबार बसेको संविधानसभा बैठक दुई मिनेटमै सकियो । यसअघि दोस्रो वैठक पनि कार्यव्यवस्था परामर्श समितिको जानकारी गराएर दुई मिनेटमै सकिएको थियो । पहिलो दिनको वैठक चाहिँ १० मिनेटसम्म बसेको थियो ।
बुधबार ११ बजे बैठक बोलाइएको थियो । ११ बजेर ६ मिनेटमा घण्टी लाग्यो । त्यसपछि राष्ट्रियगान बज्यो । झण्डै ४५ सेकेण्ड राष्ट्रिय गान बजेर सकिएपछि उभिएकाहरु बसे । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले माननीय सभासदहरु भन्दै बैठक आरम्भ भएको घोषणा गर्नुभयो ।
उहाँले दुई ठाउँबाट विजयी संविधानसभा सदस्यमध्ये कांग्रेस सभापति सुशील कोइरालाले चितवन ४, शेरबहादुर देउवाले कैलाली ६, एमाले उपाध्क्ष बामदेव गौतमले बर्दिया
१ र वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं २ छाडेको संविधानसभालाई जानकारी गराउनुभयो । अर्को बैठक २९ गते बस्नेछ भन्ने बित्तिकै बैठक सकियो ।
मुश्किलले दुई मिनेट बैठक बस्दा संविधानसभाको हलमा धेरै कुर्सी खाली नै थिए । वैठकस्थलमा रहेका हाम्रा सहकर्मी बोमलाल गिरीका अनुसार वैठक सकिएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, राप्रपा नेपालका कमल थापा, कांग्रेसका उदयशमशेर राणालगायतका धेरै सभासद हतारहतार भित्र पस्दै थिए ।
तर उनीहरुले बैठकमा भाग लिन पाएनन् । वैठकमा एकछिन बसेकाहरुले पनि खासै काम पाएनन् । दिउँसो १ बजे संसद बैठकमा पनि भाग लिनुपर्ने भएकाले कोही चौरमै घाम तापेर बसिरहेका छन् । कति चाहिँ घडी हेर्दै फेरि आउने गरी बाहिरिएका छन् ।श्रोत उज्यालो

SHARE THIS

Author:

Facebook Comment