नालापानीको चालवाजी लगातार छ सावधान

विशाल अंग्रेज फौजको नेतृत्वमा पश्चिम नेपाल हान्न आएको जिलेस्पीलाई आफ्नो विजयको सम्पुर्ण भरोसा थियो । आखिर यो भरोसा हावाको भरको त थिएन, उसंग नेपाली संग भएको हतियार भन्दा कयौ गुणा धेरै र शक्तिशाली हतियार थिए । नेपाली सेना भन्दा आठ दोव्वर जती तालिम प्राप्त सैनिक थिए । सबै तर्फ घेराबन्दी गरेर नेपालीलाई नालापनी किल्लामा सिमित गरेको थियो । तै पनि विजयको कुनै लक्षण देखा परेको थिएन । किल्ला भित्रबाट घुयेत्रोको प्रहार भै रहेको थियो, ढुँगा मुडा तिर भालाको प्रहारले आफ्नो शक्ति क्षिण हुदै गएको र आफ्नो प्रहारले किल्लामा कुनै असर नभएको अबस्था थियो । यस्तोमा उसको कुटिल बुद्धिले किल्ला भित्र पानी जाने कुलो नै बन्द गर्ने उपाय निकाल्यो । नभन्दै यो उपायले काम गर्‍यो । केही दिनमै भित्रबाट सैनिकको साथै एक हुल आईमाई
केटाकेटीको जत्था हातमा खुकुरी, खुँडा जस्ता हतियार लिएर उसको फौजको बिचबाट बाटो बनाउदै किल्ला छोडेर हिड्यो । 
जिलेस्पीले नेपाली हराउन प्रयोग गरेको यो उपाय अहिले पनि नेपाल माथी अपनाइदै छ । आफ्नै सरकार, नेपाली पत्रकार, बुद्धिजीविहरु नेपालीको आर्थिक मेरुदण्ड भाँच्ने यो काममा सकृय भएर लागेका छन । कुरो बुझेर यसो गरे भनेर मान्न सकिन्न त्यसैले उनीहरु यो काम अनजान मै गर्दैछन भनेर मान्नु पर्ने हुन्छ । कसैको यो गुरु योजनामा नेपालको उत्पादन तहसनहस गरेर नेपालीलाई आफ्नो सामुन्ने झुकाउने छ । त्यसैले नेपालीको स्वावलम्वन माथी लगातारको आक्रमण भई रहेको छ । यो कुरा सहजरुपमा मान्न कठिन छ । त्यसैले निरन्तर थाहा नपाउनेरुपमा गरिएका यस्ता कामहरु तथा त्यसले परेको तथा भविष्यमा पर्न सक्ने असर उदाहरणको रुपमा सामुन्ने आउन आवश्यक छ । कसैलाई आक्षेप गर्ने मनसाय होईन तर आफ्नो उत्पादन तथा आर्थिक क्षेत्रमा नकारात्मक असर गर्ने यस्ता केही प्रतिनिधि कामहरु यसमा समेटने प्रयत्न हुने छ ।

कामदारको भलोको निमित्त भनेर हप्ताको एक दिन बजार बन्द गर्नमा जोड दिईयो । झलक्क हेर्दा यो काम सकारत्मक नै लाग्छ । मान्छे मेसिन हैन लगातार सदासर्वदा काम मात्र गर्नु पर्ने अबस्थाबाट हप्तामा एक दिन मुक्त हुनु स्वागत योग्य नै हो । विषेशत सिमा क्षेत्रमा यसको असर भने राष्ट्रिय अर्थतन्त्रको ढाड भाच्ने किसिमको परेको छ । विराटनगरमा मंगलवारको दिन बन्द हुने गर्दथ्यो , नेपाल बैक लिमिटडको एक शाखा विराटनगर बजार संगै मंगलवारको दिन बन्द हुने गर्दथ्यो । तर आजकल विराटनगर बजार शनिवारको दिन बन्द हुन्छ । यो राष्ट्रिय छुट्टिको दिन हो , त्यसैले प्राय सबैको किनमेलको दिन शनिवार नै हुन्छ । शनिवार साप्ताहिक बन्द भएकाले किनमेलको निमित्त सिमावर्ती बजार जोगवनीमा खुट्टा राख्ने ठाँउ पनि हुदैन । यसरी स्वदेशको बजारमा हुने ठुलो कारोवार शनिवारको बन्दले भारतलाई सुम्पिन बाध्य पारिनुले के अर्थतन्त्रमा नकारात्मक असर गर्दैन त ?
नेपालको उत्पादनमा कृषि उपजको महत्वपूर्ण स्थान छ भन्ने कुरा निर्विवाद छ । आजकलको कृषिकर्ममा डिजेलको महत्वपूर्ण स्थान छ । कृषिकार्यको निमित्त सहि समयमा काम गर्नु पर्ने हुन्छ , जति ढिलो हुँदै जान्छ त्यति उव्जनी घट्दै जान्छ । तर विगतका केही बर्षदेखि जुनवेला कृषिकर्मको निमित्त डिजेल चाहिने हो त्यो वेला डिजेल आपुर्ति अवरोध भएको हुन्छ । बहाना फरक फरक हुन्छ , कहिले आयल निगमले आयात गर्न पैसा नपुगेको रडाको झिक्छ, कहिले डिलरलाई कमिसन नपुगेको निहु हुन्छ भने कहिले ढुवानी कर्ताको असन्तुष्टि वा पप्पमा काम गर्ने कामदारको कुनै माग । त्यसले पनि नपुगेमा त विभिन्न बहानामा हुने चक्काजाम त अचुक अस्त्र छदैछ । सारांश किसानले आवश्यकताको वेला डिजल नपाउनु नै हुन्छ ।
बेलामा रसायनिक मल आपुर्ति नगर्ने त नेपाल सरकारको विषेशता नै हो , यस्तो वेलामा किसानले कसै गरेर भारतका निकटवर्ती वजारबाट जेनतेन मल उपलब्ध गर्दछ । यस्तो हुने वित्तिकै पत्रकारहरुको रडाको शुरु हुन्छ अवैध मलको छ्यापछ्याप्ती , नागरिकलाई सुरक्षा दिने जिम्मेजारी भएका सुरक्षा निकायको सम्पूण शक्ति यस्तो मल रोक्न तिर लाग्छ । खेतवारीमा छर्दाछर्दै गरेको मल विभिन्न राजनैतिक दलका यूवाह खोस्न पुग्छन र आफुले ठुलो देश सेवा गरेको दम्भ गर्दछन । तर उनिहरुको यो कामले उव्जनी घटाउने काम गरिरहेको हुन्छ भन्ने हेक्का नभएको हो वा कुनै प्रभुलाई खुसी पार्न खोजेको हो त्यो भने अज्ञात नै छ ।
हालै विराटनगरमा अख्तियारका प्रमुख आयुक्त र स्थानिय पत्रकार बिच वाकयुद्ध चल्यो । यो वाकयुद्धको कारण सुपारीको तस्करी थियो । सुपारीको तस्करी वा निकाशी जे भए पनि दुवै पक्षलाई यो अति महत्वको विषय लाग्यो , मानौ सुपारीको यो व्यापार हतियारको व्यापार भन्दा खतरनाक कुरा हो । तर यसभित्रको रहस्य भने वेग्लै छ । जतिखेर सम्पूर्ण सुपारी विदेशवाट आयात भएर भारत निर्यात हुन्थ्यो त्यसवेला यो तस्करी थिएन केवल आयात निर्यात व्यापार थियो । यो व्यापारले शौकको रुपमा लगाइएका नेपाली किसानको सुपारी पनि बिक्न थाल्यो र किसानले उत्साहित भएर सुपारी रोप्न थाले । ती बोटहरुले उत्पादन गर्न थाले पछि सुपारी व्यापारलाई तस्करीको नाम दिईन थाल्यो । यसै विवादमा सुपारी बिक्न छोडेपछि हाल किसानहरु आफ्ना सुपारीका बोट काट्न थालेका छन । हजारौ वोट काटिईसकेका छन हजारौ काटिने क्रममा छन । यो विवादले नेपालमा देखिदै गरेको सुपारीको उत्पादन सम्भाव्यतालाई समाप्त पार्दै छ । आफ्नो उत्पादनको एक संभाव्यतालाई शैशवमै घाँटी निमोठन सफल भएकोमा आफ्नो पिठ्यूमा आफै धाप मार्ने नेपाली नै छन ।भर्खर बर्डफ्लुको नाममा नेपाल सरकारले नयाँ नियम ल्याएको छ । सफा सुग्घर हुनु पर्ने , स्वास्थकर हुनु पर्ने सावधानी अपनाउनु पर्ने जस्ता सकारात्म कुराको विचमा कुखुरा फार्मको विचको दुरी सामेल गरेर करिव करिव आत्मनिर्भर भएको कुखुरा आपुर्तिलाई केही महिना भित्रै आयातमूलक बनाउने योजना ल्याएको छ । हचुवाको तालमा गरिने यस्ता निर्णयहरु लिन कुनै न कुनै विदेशी परामर्शदाताको योगदान पक्कै होला । विशेषज्ञका नाममा आएर नेपालको उत्पादनमा प्रतिकुल असर पार्ने यस्ता प्रयासहरु निरन्तर हुने नै छन । भविष्यमा खेती जोत्ने देखि हरेक बालमा पनि यस्तै नियम लाग्यो भने आश्चर्य नगर्दा हुन्छ । किनभने यी काम नेपाली स्वभाविक बुद्धिले भएका हैनन् । जिलेस्पीको नालापानीको चालवाजीको निरंतरता हो त्यसैले सावधान ।,
(नेपाल स्वाभिमान काठमाडौ)

SHARE THIS

Author:

Facebook Comment