(स्वयम्भुनाथ कार्की)दूईहजार सोह्र सत्र सालदेखी दूईहजार चौबीस सालसम्म कवि भूपी शेरचनले लेखेका कविताहरुको संग्रह घुम्ने
मेच माथिको अन्धो मान्छेमा केहि कविताका हरपहरु आज पनि उत्तिकै सान्दर्भिक छन । उनका यी कविताहरुले बदलिएको नेपालको नाराको खोक्रोपन उदाङ्ग पार्दछन ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाई दिनु पर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिँडाउनु पर्ने
हामी कविताका उपरोक्त हरपहरु आजै लेखिएका जस्तै , आजैको परिस्थितिसंग ठ्याम्मै मिल्ने खालका छन । पहिले बरु आफूले आफ्नै बलमा केहि गर्न नसकेको कुरा लाजमर्दो हुन्थ्यो । यस कुरालाई भरसक लुकाउने प्रयत्न गरिन्थ्यो तर अहिले भने यस कुरालाई गर्वको साथ भनिन्छ । हाम्रा नेताहरु आफू विदेशीको निर्देशनमा चलेको कुरा प्रचार गर्न गर्व गर्दछन् । विदेशी शक्ति केन्द्रले गरेको काम आफ्नो स्वार्थ
अनुकुल भएमा सहयोग र प्रतिकुल भएमा देशको स्वतन्त्रता, आत्मसम्मानमा चोट भनेर डंका पिटेको कुरा आज जग जाहेर भईसकेको छ ।
विदेशी आड, भरोसा, साधन तथा श्रोतबाट संचालित संघसंस्था बर्खे च्याउसरी पलाउदै छन । उनिहरुले गर्ने बिभिन्न गोष्टि तथा सेमिनारको बाढी लागेको छ । नेपाली जनताले आफूले आफ्नो संविधान लेख्ने भनेकोमा विदेशीहरुको अर्ति र उपदेशको ओईरो लाग्ने क्रम जारी छ । यस्ता अर्ति तथा उपदेशहरु सल्लाहत्मक नभएर आदेशात्मक हुन्छन भन्ने कुरा सर्वसाधारणले मात्र होईन बरु अझ सबलरुपले यस्ता सल्लाहसुभाव प्राप्त गर्ने अगुवा, नेताहरुले नै भन्ने गरेका छन ।
हाम्रा नेता, बुद्धिजीवि तथा नागरिक अगुवाहरुलाई विदेशी शक्तिकेन्द्रले मिलाई दिनु पर्छ, गठबन्धन ठिक नलागेमा फेरी उनिहरुले नै छुट्टयाई दिनु पर्छ । जुवामा नारीएको गोरुहरुलाई जोते झै उनिहरुले नै पछाडिबाट कोर्रा लगाएर अगाडि बढाउनु पर्दछ ।
पछिल्ला पचास वाउन्न बर्षमा नेपाल नयाँ नेपाल बन्ने क्रममा आफ्ना अक्षमता लुकाउने र त्यसलाई मेटने प्रयत्न गर्नुको साटो अझ परनिर्भरता तथा परमुखापेक्षि नेतृत्वको विकास गर्न सकृय भयो । हाम्रा नेता तथा बुद्धिजीविहरु नेपालमा दक्षिण छिमेकीको आर्शिवाद र सद्भावना वेगर सरकार चल्न सक्दैन भनेर छाती ठोकेर भन्छन ।
आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यबस्थालाई अनाबश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किल्कीले लाग्ने अबस्थामा मुलुकलाई पुर्याए पछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउछिन ? अष्ट्रेलियाको भेडा गोठालो , अमेरिकाको पेट्रोलपम्पको मजदूर , भारतका महानगरका दरवानहरु वा खाडी मुलुकका तातो मरुभूमिमा रगत पसिना चुहाउने दासहरु आज नेपाली आमाबाट पैदा हुने सन्तान हुन । आफ्नो आत्मगौरव तथा आत्मसम्मान सहित दशनंग्री खियाएर आफ्नो तथा देशको उन्नति तथा प्रगति गर्ने सपुत अब नेपाली आमाले कमै जन्माउने गर्दछिन । देश भित्रै बसे पनि हमेशा विदेशीको चाकरी गर्न लालयित हुने र सो मौका नपाउदा आफूलाई दुर्भाग्यशाली ठान्नेको जमातबाट नेपालको स्वतन्त्रताको रक्षा होला त ?
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
फुरुक्क पार्न हामीलाई सर्वशक्तिमान भनिन्छ । सवै काम हाम्रा नाममा गरिन्छ । हाम्रो मर्जि होईन केवल नाम चाहिएको छ हाम्रा नेताहरुलाई , उनिहरु मुखले मान दिएर कामले मानमर्दन गर्दछन । हामीले अस्विकार गरेका व्यक्तिहरु हाम्रो नाममा लेखिने संविधान निर्माण गर्न नभई हुँदैन । अझ हामीबाट अस्विकृतहरु नै हामी माथि राज गर्दछन । त्यसैले होला भुपी शेरचन म शिर्षक कवितामा जनतालाई परिभाषित गर्दछन ।
वस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ
सवै अन्याय जनताले चुपचाप सहनु परेको छ , किनभने नेपालीमा एउटा उक्ति छ , राजा देख्दैनन्, देउता बोल्दैनन् । राजा त नेता तथा बुद्धिजीविहरुले हटाई सके देउतालाई पनि समय अनुसार चल्न उर्दि जारी गरिसके तसर्थ नेपालले लोकतन्त्र वा प्रजातन्त्रको नयाँ परिभाषा विश्वलाई दिदैछ । टाठाबाठाले टाठाबाठाको निमित्त जनताको नाममा जनता माथि शासन गर्ने पद्धतिको नाम हो नयाँ नेपालको लोकतान्त्रिक संघिय गणतन्त्र । हिम्मत भए यसलाई चुनौति दिंदा हुन्छ नत्र भने गुलामी नयाँ नेपालका नेपालीको भाग्य हो ।
प्रकाशित मितिः २०७० मंसिर १३ गते बिहीबार
Nepalese Rupee Exchange Rate