वीरगन्ज, असोज÷चाडबाड नजिकिदै गर्दा सम्भावित उपभोक्ता हितविपरीतका कार्यलाई मध्यनजर गरी वीरगन्जमा बजार अनुगमन तीव्र पारिएको छ ।
संयुक्त बजार अनुगमन समिति पर्साले चाडबाडमा बढी माग हुने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका उत्पादक तथा बिक्रीस्थलहरुको अनुगमनमा कडाई गरेको हो । एकसाता यता वीरगन्ज र आसपासका क्षेत्रमा दैनिकजसो बजार अनुगमन भइरहेको वाणिज्य कार्यालय वीरगन्जले जनाएको छ ।
गत साउनयता वीरगन्जका ७५ स्थानमा संयुक्त बजार अनुगमन गरिएको वणिज्य कार्यालय वीरगन्जमा प्रमुख श्रीधर केसीले जानकारी दिए । चाडबाडलाई ध्यानमा राखेर यतिबेला खासगरी दैनिक उपभोग्य बस्तु र खाद्यान्नको अनुगमनलाई तीव्रता दिएका छौं ।’, प्रमुख केसीले बताए । चामल, दाल, तेललगायतका
उत्पादक तथा दैनिक उपभोग्य बस्तु बिक्रेता, माछामासु बिक्रीस्थल र होटल रेष्टुराहरुमा अनुगमन गरिएको अनुगमन समितिले जनाएको छ ।
समितिमा स्थानीय प्रहरी, प्रशासन, वाणिज्य कार्यालय, वीरगन्ज उपमहानगरपालिका, उपभोक्तावादी संघ÷संस्थालगायतको प्रतिनिधित्व रहेको छ । अनुगमनको समन्वयको जिम्मा वाणिज्य कार्यालयलाई दिइएको छ । चाडवाडका बेला व्यावसायीहरुले उपभोक्ता हितप्रतिकुलका कार्यलाई तीव्र पार्ने गरेको पाइएको ती निकायहरुले जनाएका छन् ।
अनुगमनका क्रममा कतिपयले उत्पादन र उपभोग्य मिति तथा मूल्य उल्लेख नगरेको, उपयुक्त प्योकजिङ नगरेको, गुणस्तर र सरसफाईमा लापरवाही गरेको, बिक्रीस्थलमा मूल्यसूची नराखेको, मापदण्डविपरीतका ढक र तराजुको प्रयोगलगायतका उपभोक्ता हितविपरीतका कार्य गरेको पाइएको वाणिज्य कार्यालयले जनाएको छ । तीमध्ये अधिकांशलाई सचेत गराएर छाडिएको र केहीको समान जफत गरी नष्टसमेत गरिएको छ । बिहीबार वीरगन्जको नगवा र भन्सार एरियामा ठूलो परिमाणमा म्याद नाघेको र अखाद्य बस्तु नष्ट गरिएको वाणिज्य कार्यालय प्रमुख केसीले बताए । किराना स्टोर र होटलहरुबाट जफत गरिएको सेवई, बिस्कुट र चाउचाउ नष्ट गरिएको जानकारी उनले दिए । विभिन्न किराना स्टोरहरुबाट प्रतिबन्धित ६ कुने ढकसमेत जफत गरिएको जनाइएको छ ।